जीवनका लागि गाउँछिन् शीतल

shitalकाठमाडौं, १४ जेठ । ‘पाइन खबर, घरफर्की आउनु हो मेरो हजुर’ हरिदेवि कोइरालाको गीत गाउन भनेपछि हुरुक्क हुने शीतल पाण्डे । उनी बाल्यअवस्थादेखि नै गीत गाउनमा सौखिन थिइन, पेसाले कानुन व्यवसायी, रुचिमा गीतसंगीत । फरक व्यवसायबाट संगीतलाई जीवनको एक टुक्राको रूपमा लिएकी छन उनले ।

घरमा बुबाले राम्रो गीत गुनगुनाउने र उनको आमा नाच्न भनेपछि अब्बल मानिने शीतलको परिवार नै संगीतप्रतिको लहसिएको परिवार हो । बुबाको पेसा पनि कानुन व्यवसायी नै भएको बताउने उनी आपूmले भने विभिन्न विषयमा उच्चशिक्षा हासिल गरेकी छन् । गुल्मी जिल्लाको उपल्लो तम्घासमा जन्मेकी उनी गुल्मीकै विद्यालयमा पढिन् । विद्यालयमा पढ्दा हुने अतिरिक्त क्रियाकलापमा नाच्ने गाउने गरेर आफ्नो संगीतको यात्रामा पाइला बढाएकी उनले पछिल्लो समयमा आफ्नो सो एल्बम बजारमा ल्याएकी छन् ।

उनी गाउनमा पोख्त थिइन नै त्यसमध्ये पनि एसएलसी दिनासाथ पढ्दै र पढाउँदै गरेको अर्जुन इंग्लिस बोर्डिङ हाइस्कुलमा संगीतको निकै अभ्यास गर्ने अवसर पाएकी थिइन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप होस् या अन्य ठाउँहरूमा विद्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने क्रममा निकै नै हौसिएकी थिइन् शीतल । प्रायः लाइभ म्युजिकमा गीतहरू गाइरहनुपर्ने भएकाले पनी उनलाई संगीतमा हामफाल्नु नै पर्ला भन्ने लागेको थियो रे !

उनको तम्घास छाडेसँगै बुटवल बसाइँ पनि संगीतप्रति त्यतिकै प्रेरणादायी रहेको उनी सुनाउँछिन् । बुटवलको लुम्बिनी कलेजमा पढ्दा पनि उनले गीत गाउने अवसर कहिले छाडिनन् । त्यहीबेला उनले गाएकी आफ्नै शब्द र संकलनको गीत ‘तल रानीवन, के हुन्छ के हुन्छ लाग्छ रुन मन’ निकै राम्रो भाकामा रहेको थियो ।

अहिले प्रत्येक समय वकालत गर्दै आफ्नो जीवन चलाउँदै आएको बताउने उनले ०६८ सालमा पहिलो गीत रेकर्ड गरिन् । खासमा यो उनको रहर मात्र थियो । संगीतप्रतिको उत्कट चाहानाकै कारण उनले गीत रेकर्ड गराइन् । परिणाम त गीत राम्रो भयो ।

उनले गाएको गीत ‘ढुंगाको होइन तिमीलाई जीउँदा देउता मानेँ, विश्वासले आकाश चुम्यो सर्वश्व नै ठानेँ’ निकै राम्रो गीत रहेको छ । उनले गाउने गीतले उनलाई जीवनको अर्थ केलाउन मन लागेर आउने गरेको छ । उनले गीतको प्रसंगमासमेत अलिकति जीवनसँग जोडिएकै कुरा सुनाइन् अप्रत्यक्ष तरिकाले । पछिल्लो समयमा आफ्नो आत्मसन्तुष्टिसँगै संगीतको बजारमा आफूलाई म पनि छु है भन्ने बनाउन निकै मिहिनेत गर्दै आएको उनको गीत एल्बम बजारमा आइसकेको छ ।

डा. कृष्णहरी बरालको शब्दमा आफ्नो स्वरको लहरीलाई तिखारेर ल्याएकी शीतल कानुन व्यवसायको क्षेत्रमासमेत उत्तिकै सक्रिय रहेकी युवा कानुन व्यवसायीभन्दा फरक पर्दैन । उनी अदालतमा मुद्दाका पक्षमा कानुनका व्यवस्था र प्रमाणको संयोजन मिलाउँदै वहस मात्र गर्ने होइन सञ्चारमाध्यम, मोबाइल, र विभिन्न गीत संगीत घन्काउने माध्यममा पनि सुरीला भाकामार्फत मनोरञ्जन प्रदान गरिरहेकी हुन्छिन् ।

सुरिलो स्वरकी धनी कानुन व्यवसायी शीतलको आधुनिक गीति एल्बम ‘शीतल’मार्फत स्रोताहरूको मन जित्न सफल भएकी छन् । उनको एल्बममा जम्मा ६ ओटा गीत रहेका छन् । सांगीतिक क्षेत्रमा उदाएकी गायिका शीतलले संगीतकार सशस्त्र प्रहरी बलका डिएसपी गैरे सुरेश र शब्द रचना डाक्टर कृष्णहरि बरालको शब्दमा रहेको अर्को गीत ‘नहुने पो हो की यो सपना पूरा’ मा उनले आफूलाई निकै स्थापित गायिकाभन्दा पनि कम देखाएकी छैनन् ।

शीतलको यो सांगीतिक यात्रा सुखमय रहेको छ । उनी भन्छिन्, ‘खानका लागि वकालत गर्छु, बाँच्नका लागि गीतसंगीतको सिर्जना गर्छु ।’ मेरो कर्मक्षेत्र यता तिरै जानेछ भन्दै उनले हाल तीज गीतको तयारीमा रहेको खुलाएकी छन् ।

प्रतिक्रिया