किताब अभावको सर्वत्र गुनासो : तात्तिए प्रधानमन्त्री

KP_Oli copyकाठमाडौं, १० जेठ । शैक्षिक सत्र सुरु हुनुअघि सरकारी अधिकारीहरू भन्छन्, ‘यसपालि देशभरि समयमै पाठ्यपुस्तक उपलब्ध गराइनेछ ।’ यो हरेकवर्ष भनिने कुरा हो । र, योजस्तै शैक्षिक सत्र सुरु भएपछि हरेक वर्ष आउने खबर हो, देशभरि पाठ्यपुस्तकको अभाव । यसपालि पनि शैक्षिक सत्र सुरू भएको डेढ महिना पुग्न लाग्दा देशैभरि ६ र ७ कक्षाका अनिवार्य विषयका किताब हाहाकार छ । ९ र १० कक्षाका ऐच्छिक विषयका किताबको पनि अभाव छ । समयमा पाठ्यपुस्तक आइनपुग्दा पहिलो त्रैमासिक परीक्षाको कार्यतालिका प्रभावित हुन पुगेको विद्यालयहरूले जनाएका छन् ।

६ देखि १० कक्षासम्मका पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक अभावको गुनासो सम्बोधन गर्न सकेको छैन । पाठ्यपुस्तक अभावको गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कम्पनीका प्रबन्ध सञ्चालकलाई बोलाएर झपारेको श्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले सञ्चालक अनिलकुमार झालाई कार्यालयमै बोलाएर पाठ्यपुस्तकको गुनासोबारे सोधेका थिए । ‘के कारण पुस्तक पु¥याउन नसकेको हो ?’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ चाँडै समस्या समाधान होस् ।’

जवाफमा झाले १५ जेठसम्ममा गुनासो सम्बोधन गरिसक्ने बताएका थिए । कम्पनीको दाबीअनुसार ६ र ७ कक्षाको किताब मात्रै अभाव देखिएको हो । ‘कक्षा ६ को ६ लाख १३ हजार र ७ कक्षाको ५ लाख १७ हजार पुस्तक अभाव देखिएको छ,’ सञ्चालक झाले भने, ‘हामी ५–७ दिनभित्रै पुस्तक पु¥याउँछौ ।’ कम्पनीकै अधिकारीहरू भने पुस्तकको समस्या अझै धेरै रहेको बताउँछन् । एक अधिकारीका अनुसार ६, ७ का नियमित र ९, १० का ऐच्छिक किताब अझै धेरै छाप्न बाँकी छ । उनका अनुसार देशभरि १ करोड ७० लाख किताब माग हो तर अहिलेसम्म १ लाख २० हजार मात्र छापिएको छ ।

शिक्षा मन्त्रालयले यसपालि १–५ सम्मका पाठ्यपुस्तक निजी कम्पनीलाई छाप्न दिएको थियो । ती कक्षाका किताब त्यतिधेरै अभाव छैनन् । सत्यनारायण उच्च माध्यमिक विराटनगरका प्रधानाध्यापक धर्मानन्द खरेलका अनुसार ६ र ७ कक्षाका किताब पाइँदै पाइएका छैनन् । ‘प्राथमिक तहका पाठ्यपुस्तक सबै विद्यार्थीले पाएका छन्, बजारमा किताब अभाव नरहेकाले समस्या छैन,’ उनले भने, ‘६, ७ का नियमित विषयका किताब छैनन् । ८, ९ को ऐच्छिक विषयहरू पाइँदैनन् ।’

शिक्षा मन्त्रालयले ६ देखि १० कक्षासम्मका किताब केन्द्रलाई छाप्न दिएको थियो । केन्द्रले मागअनुसार अझै पनि किताब छाप्न सकेको छैन । तर, उसले देशको असहज परिस्थितिका कारण समयमा किताब पु¥याउन नसकेको दाबी गर्दै आएको छ । त्यसो त परिस्थिति सहज हुँदा पनि कम्पनीले पुस्तक अभावको समस्या बेलैमा सम्बोधन गर्न सकेको थिएन । बर्सेनि शैक्षिक वर्ष सुरू भएको २ महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्ने गरेका छन् ।

शिक्षा मन्त्रालयका अनुसार गतवर्ष १ देखि ८ सम्मका किताब निजी कम्पनीलाई छाप्न दिइएको थियो । यसपालि मन्त्री गिरिराजमणि पोखरेलले निजी कम्पनीलाई पुस्तक छाप्न नदिने अडान राखेका थिए । मन्त्रालयका एक अधिकारीका अनुसार गतवर्ष ९ र १० का किताब कम्पनीलाई छाप्न दिइएको थियो । उसले असार–साउन महिनासम्म पनि मागअनुसार किताब पु¥याउन सकेको थिएन । कम्पनीको छाप्ने क्षमता नै कम भएको अधिकारीहरू बताउँछन् । ‘हामीले निजीलाई भन्यौँ, मन्त्रीज्यूले मान्नुभएन,’ ती अधिकारीले भने, ‘यसपालि अभाव देखिनुको कारण यही हो ।’

तर, यसमा जिम्मेवार पक्ष भनेको मन्त्रालय नै हो । ‘समयमै योजना नबनाउने, कार्ययोजना नबनाउने, बजेट अभावको समस्या समाधान गर्न व्यवस्थापन पक्षले समयमा ध्यान नदिँदा पाठ्यपुस्तक अभावको समस्या जहिल्यै पनि उस्तै हुने गरेको छ,’ जनक शिक्षाका एक कर्मचारीले भने । उही खर्चमा निजी र कम्पनीले छाप्ने गुणस्तर पनि फरक छ । ती अधिकारीका अनुसार उस्तै खर्चमा निजीले छाप्ने किताबको गुणस्तर राम्रो देखिने गरेको छ । ‘जनक शिक्षाको मेसिनले मागअनुसार किताब छाप्न सक्दैन,’ ती अधिकारीले भने ।

जनक शिक्षाका ७ वटा वितरण केन्द्र छन् । विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भक्तपुर, नेपालगन्ज र धनगढीबाट किताब वितरण हुँदै आएको छ । केन्द्रका निर्देशक झा भने नाकाबन्दीका कारण समयमा पुस्तक छाप्न नपाएको बताउँछन् । ‘वैशाख महिनाभरि भर्ना अभियानै चल्छ, हामीले उपलब्ध गराइरहेकै छौँ,’ उनले भने, ‘पछिल्लो समय देशमा ७–८ महिना असहज परिस्थिति आइप¥यो, नाकाहरू असहज हुँदा कागज ल्याउन कठिन भयो, मसी आएन । त्यसकारण पनि ढिलो भएको हो ।’

प्रतिक्रिया