पुनर्लेखनमा प्रतिबद्धता जनाए मात्र वार्ता : यादव

Upendra-yadavकाठमाडौं, ९ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुनर्लेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म वार्ता हुनै नसक्ने स्पष्ट पारेका छन् ।

आइबार आयोजित साक्षात्कारमा उनले भने, ‘वार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनुपर्छ । संविधानको पुनर्लेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार वार्तामा आउनुपर्छ । नभए वार्ता सम्भव छैन ।’

यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक वार्ता भंग गरेको आरोप लगाउँदै भने, ‘पुनर्लेखनसहितका विषयहरू गर्न सकिँदैन भनेपछि केको लागि वार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन वार्ता गर्न खोजिरहेको छ ।’

उनले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रवाधानहरूलाई हटाएर अरू शब्द राख्ने विषय नै पुनर्लेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकोले यसमा राजनीति निर्णय गर्न सकेमात्रै समस्याको समाधान हुन सक्ने दाबी गरे । उनले भने, ‘संविधान संशोधन पनि पुर्नलेखन नै हो । संविधानमा रहेका विभेदकारी धारा हटाएर अर्कै लेख्ने काम हो । अघिल्लो संशोधनले जनताको माग सम्बोधन गरेन ।’

यादवले वार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै वार्तामा आफूले विषय टुंग्याउन नसक्ने शीर्ष तहमै वार्ता गर्नुपर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरि उनलाई नै अघि सार्नु सरकारको वार्ता नगर्ने नियत भएको आरोप लगाए ।

गणतन्त्रलगायत मामिलामा थापाको विचार नै गलत भएकोले उनीसँगको वार्ताबाट कहिल्यै पनि निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे । उनले सरकारले वार्ताको लागि आह्वान गरे पनि अहिलेसम्म संघीय गठबन्धनलाई वार्ताको लागि कुनै पत्र नआएको स्पष्ट पारे । उनले वर्तमान संविधान जारी गर्ने तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान अपुरो छ भनिसकेको, संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान पूर्ण नभएको, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले हतार गरेर हामीले भूल ग¥यौँ भन्नु र एमाओवादी अध्यक्ष दाहालले अहिले पो मैले यो संविधानमा त्रुटी नै त्रुटी छ भनेर थाहाँ पाएको भनी अभिव्यक्ति दिनु त्यसैगरी विदेशी विद्धानहरूले पनि संविधान गलत रूपमा लेखिएको, विभेदकारी रहेको, एकल जातीय अहंकारलाई मुर्तरूप दिने भएकोले नश्लवादी र असमावेशी भनेर भनिसकेपछि यसले सबै समूदाय र क्षेत्रको भावनालाई संवोधन गर्न नसक्ने स्पष्ट भइसकेको दाबी गरे ।

कसैलाई प्रधानमन्त्री, राष्ट्रपति र कसैलाई सरकारमा जान भएको हतारमा गलत तरिकाले संविधान लेखिएकोले यसको पुनर्लेखनको विकल्प नभएको दाबी गरे । यादवले अहिले पनि सरकारले आन्दोलनलाई दवाएर जाने सोचे र उखान तुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रूपमा जाने चेतावनी दिँदै भने, ‘नश्लवादी चिन्तनले जर्मनलाई दुईवटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एन्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ ।’

उनले जनताले नै संविधान नस्वीकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दाबी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्ररूप लिँदै जनआन्दोलनमार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी दिए । उनले भने, ‘यो कुरा सोच्ने कि नसोच्ने बल सरकारकै कोर्टमा छ ।’

यादवले विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खन्डित गर्ने, साम्प्रदायिकता, जातीय, क्षेत्रीय लगायतका आरोप लगाउने गरिए पनि अहिले हिमाल, पहाड र मधेस मिलेर आन्दोलन गर्दा त्यो भ्रम चिरिएको दाबी गर्दै आफूहरूको आन्दोलन धार्मिक, सांस्कृतिक, जातीय सम्बन्ध मजबुद बताउने र भावनात्मक रूपमा राष्ट्रको एकता गर्न भएको बताए ।

उनले भने, ‘मधेसको सवाल अब मधेसको मात्रै होइन राष्ट्रिय सवाल हो । निश्चित समूहको सवाल मात्रै भन्ने हो भने त्यो समाधान हुँदैन, यो आन्दोलनले राष्ट्रिय सवाल हो भन्ने भावना विकसित गरेको छ । यादवले आफूहरूको आन्दोलन राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउने, देश भक्तिपूर्ण र देशलाई बचाउने आन्दोलन भएको दाबी गर्दै सरकार भ्रष्टाचारीहरूको अखडा बनेकोले यस्तो सरकारले देश बचाउन नसक्ने ठोकुवा गरे । उनले भने, ‘त्यसैले यो आन्दोलन कालाबजारी, तस्करबाट मुलुकलाई बचाउने, असन्तुलित विदेश नीतिबाट मुलुकलाई पर्ने दिर्घकालीन असरबाट बचाउने मुलुक बचाऊ आन्दोलन हो । कम्युनिस्टहरूले महेन्द्रवादी सोच बोलेका छन् । यसले नेपाललाई दिर्घकालमा हित गर्दैन ।’

यादवले कम्युनिस्टहरूको सरकार माफियातन्त्रलाई बढाउन लागेको अवस्थामा प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उपयुक्त विकल्प दिन नसकेको आरोप लगाए । कांग्रेससँग राष्ट्रिय हितको विषयमा आफूहरू छलफल गर्न तयार रहे पनि प्रधानमन्त्रीले भने विश्वास गुमाइसकेको दाबी गरे ।

प्रतिक्रिया