रेखाले भूकम्पपीडितका लागि १ लाख दिइन्

rekhaकाठमाडौं । नेपालका सुपरस्टार कलाकारको सूचीमा रहेकी नायिका तथा अभिनेत्री रेखा थापाले भूकम्पपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेकी छन् । गत सातामा मात्र भारतीय कलाकारलाई उच्च सम्मानका साथ कार्यक्रममा प्रस्तुत गरेर बचेको पैसा भूकम्पपीडितलाई प्रदान गर्ने भनेको सैनिक श्रीमती संघले भने हालसम्म पीडितका लागि सहयोग गर्ने छाँट देखाएका छैनन् ।

बलिउडबाट २ अभिनेत्री भित्र्याएर राजधानीमा सम्पन्न कन्सर्ट ‘अमरपंक्षी’ आयोजक सैनिक श्रीमती संघले भूकम्पपीडितलाई सहयोग गर्ने प्रचार गरेको थियो । तर, कन्सर्ट सकिएपछि संघले सार्वजनिक गरेको विज्ञप्तीमा भूकम्पपीडितलाई सहयोग गर्ने कुरा कतै उल्लेख नगर्दा पीडितहरू भने छक्क परेका छन् । संघको यस्तो विज्ञप्तीपछि कन्सर्टमा प्रस्तुति दिएका नेपाली अभिनेत्रीहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।

संघले झुक्याए पनि कन्सर्टमा प्रस्तुति दिएका मध्येकी एक अभिनेत्री रेखा थापाले भने भूकम्पपीडितको सहयोगका लागि हात बढाएकी हुन । धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा बनाइरहेको नमुना एकीकृत बस्तीका लागि उनले १ लाख सहयोग गरेकी हुन् । शुक्रबार धुर्मुससुन्तलीको कार्यालयमै पुगेर रेखाले चेक हस्तान्तरण गरिन् । आफ्ना फ्यानहरूले धुर्मुससुन्तलीलाई सहयोग गर्न बारम्बार झक्झक्याइरहेको उनले बताइन् ।

प्रतिक्रिया