बाँदरमुढे घटनाबारे आआफ्नै तर्क

badarbudheकोमाठाडौं, ७ जेष्ठ । सत्य निरूपण तथा मेलमिलाप आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य श्रीकृष्ण सुवेदीले देश बाहिर र भित्र बाँदरमुढेको खेती बढी भएको बताए । दलका प्रतिनिधि, पीडितहरू र मानवअधिकारकर्मीहरू सहभागी कार्यक्रममा उनले भने, ‘यो घटना बढी अतिरञ्जित भएको छ । काठमाडौं र बाहिर पनि यो घटनाको खेती धेरै गरियो । यो खेती बन्द हुनुपर्छ ।’

यात्रु बसलाई लक्षित गरेर माओवादीले थापेको विद्युतीय धराप विष्फोट हुँदा माडी बाँदरमुढेमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । ०६२ सालको २३ जेठमा सो घटना भएको थियो । सर्वसाधरणको ज्यानै जाने गरेर भएको सो घटनामा संलग्नको पहिचान गरेर कारवाही हुनुपर्ने अडान पीडितहरूको रहँदै आएको छ ।

आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा माडी बाँदरमुढे घटनाका विषयमा बढी चर्चा भएको थियो । आयोगमा दिइने उजुरीको प्रक्रिया र अफ्ठ्याराहरूका सम्बन्धमा छलफल गर्न कार्यक्रम राखिएको थियो । तर, बाँदरमुढे घटनासँग जोडिएका विभिन्न विषयमा आरोप–प्रत्यारोप नै चल्यो ।

सो घटनाको विषयमा आयोगले पनि गम्भीर चासो राखेको तर कुनै पक्षलाई उचाल्ने र कुनैलाई अन्याय गर्ने काम नगर्ने सदस्य सुवेदीले बताए । उजुरी लिनुभन्दा पहिले नै माडी नै पुगेर बाँदरमुढेका पीडितहरूलाई आयोगका सबै पदाधिकारीहरूले भेटेर अन्तत्र्रिmया गरेको उनले बताए । तर, भेट्ने शैली गलत भएको भनेर कार्यक्रममा चर्चा भयो ।

‘हो त्यो बेला हामी पीडितहरूलाई मात्रै भेट्ने भनेर गएका थियौँ तर कहाँबाट कसरी हो प्रहरी पनि टन्नै गए छन् माओवादी पनि आएछन् । यो हाम्रो जानकारीमा थिएन’, सुवेदीले भने । आयोगका सुवेदी सदस्यले यसो भन्नासाथ चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आयोगका अध्यक्ष सूर्यककरण गुरुङको पिएले फोन गरेर मागेकै कारण आफूले प्रहरी पठाएको जवाफ दिए ।

‘बाँदरमुढे घटनाका सम्बन्धमा सिडिओले आफूखुसी गरेको छ । बढी चासो दिएर सक्रिय हुने गरेको छ भन्ने कुरा पनि उठ्ने गरेको छ । सिडिओले आफूखुसी केही गरेको छैन । यो घटनाका पक्ष–विपक्ष कसैप्रति हाम्रो आग्रह पूर्वाग्रह केही छैन’, प्रमुख जिल्ला अधिकारी सिंहले भने । बाँदरमुढे घटनाका पीडित ५७ जनाले चितवनको शान्ति समितिमा नभएर काठमाडौं पुगेर उजुरी दिएका छन् ।

‘यो घटना हुँदा माओवादीबाट त्यस क्षेत्रको जिम्मेवारी पाएका अनक मगर अहिले चितवनको स्थानीय शान्ति समितिको सदस्य छन् । अनि उनै सदस्य रहेको समितिमा आएर हामीले उजुरी कसरी दिने’, कार्यक्रममा सहभागी बाँदरमुढे घटनापीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भने ।

बाँदरमुढेमा आफूहरूलाई अनाहकमा पासोमा पारिएका कारण न्याय पाउनुपर्छ भनेर आवाज उठाउँदा आफूहरूलाई यी कसैका खेताला हुन् भनेर होच्याउने गरेको अधिकारीले बताए । ‘यिनीहरूले आफ्नो नभएर अरूको बोली बोलेका हुन् भनिन्छ । उजुरी त दिइयो न्याय पाइएला वा नपाइएला तर ज्यान असुरक्षित छ । आयोगको यसमा पनि चासो जानुपर्छ’, अधिकारीले भने ।

बाँदरमुढे घटनाका विषयमा विस्तृत अध्ययन हुने आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आश्वासन दिए । ‘सबै घटनामा छानबिन हुँदैन । विश्वमा कहीँ पनि त्यस्तो भएको छैन । तर, बाँदरमुढे घटनाको हामी छानबिन गर्छौं । यसमा पनि छानबिन गरिएन भने आयोगले अरू के काम गर्ने’, सदस्य सुवेदीले भने ।

उनले पीडित र पीडक सबैको पहिचान गरेर गम्भीर प्रकृतिको मानवीय अपराध गर्नेलाई कारबाही गर्नेसम्मको वचन दिए । ‘बाँदरमुढे घटनाका पीडितहरूको पनि आआफ्नै धारणहरू छन्, कोही भरणपोषण भए हुन्छ भन्नु हुन्छ । कोही सरकारले जे गर्ने हो गरोस् भन्नुहुन्छ । कोही पीडकलाई कारबाही नभई हुन्न भन्नुहुन्छ । हामी सबैका कुरा सुन्छौँ’, सुवेदीले भने ।

आयोगले ३ वैशाखदेखि उजुरी लिन सुरु गरेको हो । कारबाहीको माग राखेर आएका उजुरीमा आयोग आफैँले छानबिन सुरु गर्ने सदस्य सुवेदीले बताए । आयोगले ३ असारसम्म उजुरी लिनेछ । हालसम्म ८ हजार ३ सय ५५ उजुरी परेको र १५ हजार फर्म वितरण भएको उनले जानकारी दिए । २५ देखि ३० हजारसम्म उजुरी पर्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया