कांग्रेसले अपरहण गरेको जहाज विपी संग्रहालयमा राखिने

planeनेपालगञ्ज, ६ जेठ । एकदलीय पञ्चायती शासनविरुद्धको कांग्रेसले गरेको क्रान्तिका समयमा अपहरण गरिएको दुर्घटनाग्रस्त हवाइजहाज अब विपी संग्रहालयमा राखिने भएको छ । क्रान्तिका समयमा ०३० साल ३० जेठमा विराटनगरदेखि काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबिबीको ट्वीनअटर जहाज क्रान्तिका ३ योद्धा वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेलले कांग्रेसको निर्देशनमा अपहरण गरेका थिए ।

विराटनगरबाट राष्ट्र बैंकको भारु ३० लाख लिएर १४ यात्रीसहित काठमाडौंका लागि उडेको सो जहाजमा सवार ती ३ क्रान्तिकारीले कोसी नदीको माथि जहाज पुगेपछि अपहरण गरी भारतको फारविसगन्जस्थित ब्रिटिस सरकारले दोस्रो विश्वयुद्धका लागि आपतकालीन रूपमा प्रयोग गर्दै आएको घाँसे मैदानमा अवतरण गराएका थिए ।

जहाज अवतरणका लागि सोही स्थानमा रहेका कांग्रेसका तत्कालीन कार्यकर्ता सुशील कोइराला, विनोद अर्याल र मनोहरि बरालले सघाएका थिए । जहाज अवतरणपछि भारु रकम लिएर यात्रुसहित जहाजलाई तत्काल छाडिएको अपहरणमा संलग्न वसन्त भट्टराईले बताए ।

अपहरणमा परेको सो जहाज त्यसपछि ४० वर्ष निरन्तर नेपाली आकाशमा उडेर ०७० साल ४ फागुनमा अर्घाखाँचीको मसिने लेकमा दुर्घटनामा परेको थियो । दुर्घटनापश्चात जहाजको भग्नावशेष ट्रकमा राखेर नेपालगन्ज राझास्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्र परिसरमा रहेको गोदाममा राखिएको छ ।

टुक्राटुक्रा अवस्थामा रहेको जहाजको भग्नावशेषलाई जोडेर सग्लो बनाई विपी संग्रहालयमा राख्ने सम्पूर्ण तयारी पूरा भइसकेको संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले बताए । जहाज लिन संग्रहालय समितिका अध्यक्ष पोखरेलको नेतृत्वमा यहाँ आइपुगेको १७ जनाको टोलीले आज बिहान जहाजको स्थान र जहाजको भग्नावशेषको अवलोकनसमेत गरेको छ ।

जहाज हस्तान्तरणपछि शुक्रबार नेपालगञ्जस्थित कांग्रेस पार्टी कार्यालयमा समारोहको आयोजना गरी त्यहीँबाट ट्रकका लोड गरिएको जहाज काठमाडौं लगिने जनाइएको छ । समितिका अध्यक्ष पोखरेलका अनुसार भग्नावशेषका रूपमा रहेको जहाजलाई सग्लो बनाउन करिब ६० लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक बजेट आँकलन गरिएको छ ।

‘जनतालाई सर्वोपरी मानेर कांग्रेसले थालेको क्रान्तिका समयमा आपूmलगायतका साथीबाट गरिएको जहाज अपहरण क्रान्तिको माग थियो, यो एकदलीय निरंकुश पञ्चायत व्यवस्थालाई कमजोर र क्रान्तिकारी बलियो भएको रणनीतिक योजना थियो’, ६२ वर्ष पूरा गरेका जहाज अपहरणकर्ता भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया