यो सरकार धेरै दिन टिक्न दिन्नौँ : देउवा

Sher Bd Deubaकाठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई धेरै समय टिक्न नदिने चेतावनी दिएका छन् । सरकारले कांग्रेसलाई उपेक्षा गरेर काम गरिरहेको देउवाको आरोप छ । प्रजातान्त्रिक विचार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले सहमति, सहकार्य र लोकतान्त्रिक मूल्यमान्यतालाई लत्याएर अघि बढेकाले त्यसको प्रतिकार गर्ने बताए ।

‘यो सरकारले विपक्षी दल सबभन्दा ठूलो पार्टीलाई बेवास्ता गरेर अघि बढिरहेको छ । लोकतान्त्रिक मूल्य मान्यता, सहमति र सहकार्यका साथ साथै वार्तालाई लत्याएको छ,’ देउवाले भने, ‘यस्ता रवैया सैह्य हुनेछैन । हामी त्यसको प्रतिकार गरेर अघि बढ्छौँ ।’ एकलौटी ढंगले काम गर्ने प्रधानमन्त्री ओलीको शैली सहेर नबस्ने उनले चेतावनी दिए । प्रजातन्त्रमा सरकारले विपक्षी दललाई साथै लिएर अगाडि बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीले प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत आफूहरूलाई बेवास्ता गरेको देउवाको गुनासो थियो ।

कांग्रेस सभापति देउवाले सरकारले १ सय वर्षमा पनि हुन नसकेको काम १० वर्षमा गर्छु भनेर जनतालाई झुठो आश्वासन बाँडेको आरोपसमेत लगाए । २ वर्षमा लोडसेडिङ अन्त्य गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने भनेर सरकारले जनतलाई ढाँटिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा देउवाले कांग्रेसका पूर्वसभापति एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा निकालिएको पुस्तक लोकार्पणसमेत गरेका थिए ।

प्रतिक्रिया