वाग्मतीमा ढल मिसियो

काठमाडौं, २ जेठ । गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकबाट अर्घौतेश्वर हुँदै बौद्ध धर्मावलम्बीको समाधिस्थल जम्बोडाँडा जाने सडकमा ढल फुटेर सडकमा निस्कँदा आवतजावतमा समस्या भएको छ ।

फुटेको ढल बगेर वाग्मतीमै आउँदा सफा बनिसकेको गुह्येश्वरीमाथिको नदीमा प्रदूषण फैलिने चिन्ता बढेको छ । शनिबारबाट फुटेको ढलले टोल बस्तीमै बस्न नसक्ने गरी प्रदूषणको दुर्गन्ध फैलिएको स्थानीय मोहन गौतमले गुनासो गरे ।

‘मलमूत्र मिसिएको ढल वाग्मतीमा मिसिने क्रमलाई रोक्न नसक्ने हो भने प्रत्येक हप्ता प्लास्टिक टिपेर मात्र नदी सफा हुन सक्दैन, मलमूत्र मिसिएर पानीमै हुने प्रदूषणलाई रोक्न सम्बन्धित निकाय लाग्नुप¥यो’ उनले भने ।

अर्घौतेश्वर–जम्बोडाँडा–वाग्मती टोल सुधार समितिका सचिव तेजप्रसाद ढकाल अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले माथि २८ इन्च र तल २० इन्चको ढल बिच्छ्याएकाले ढल जाम भएर फुटेको बताए । ढल फुट्नाले जम्बोडाँडामा समाधिका लागि जाने बौद्ध धर्मावलम्बीलाई आवतजावतमा समस्या भएको छ ।

समितिका आयोजना प्रमुख राजेश सिंह स्थानीयवासीले पहिलेको खहरे खोलालाई ढलमा सीमित बनाई प्लास्टिकलगायत ठोस वस्तु मिसाउँदा जाम हुने गरेको बताउछन् । ‘हामी पैसा उठाउँदैनौँ, सरकारी स्रोतबाट आएको बजेटले कता काम गर्ने समस्या भएको छ, यसको सदुपयोगमा स्थानीयवासीको पनि सहयोग चाहिएको छ’ उनले भने ।

प्रतिक्रिया