द्रूतमार्ग नेपालीले बनाउनै सक्दैनन् : निधी

काठमाडौं, ३१ वैशाख । कांग्रेस नेता बिमलेन्द्र निधिले काठमाडौं–निजगढ द्रूतमार्ग भारतीय कम्पनीलाई नदिएर एमाले नेतृत्वको सरकारले इमोसनल खेल खेलेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा अन्तिम वक्ताको रूपमा बोल्दै निधिले आफू भौतिक योजनामन्त्री हुँदा ग्लोबल टेन्डर गरेर भारतीय कम्पनीलाई निर्माण जिम्मा दिइएको द्रूतमार्ग नेपालले बनाउन नसक्ने पनि ठोकुवा गरे ।

‘म मन्त्री थिएँ, राष्ट्रिय गौरवको योजना भएकाले दुईपटक ग्लोबल टेन्डर गरेर न्यूनतम ट्रफी ग्यारेन्टी गरेर भारतीय लगानीकर्ता खोजेर निर्माण जिम्मा दिइएको थियो,’ निधीले प्रश्न गरे, ‘त्यसबेला किन कोही नेपाली आएन म बनाउँछु भनेर ? के मैले नेपालीको घरमा लगेर फास्ट ट्रयाक जिम्मा दिने हो ?’ उनले दुईपटक टेन्डर आह्वान गर्दा पनि कोही अग्रसर नभएपछि भारतीय कम्पनी खोजेर ट्रफी ग्यारेन्टी गरेर निर्माणको जिम्मा दिइएको बताए ।

निधिले मलेसियन र चाइनिज कम्पनीले द्रूतमार्ग बनाउने जिम्मा दिन मागेको बताउँदै तर आफूले उनीहरूलाई नदिएको बताए । ‘मलेसियन र चाइनिज आएका थिए हामी बनाउँछौँ भन्दै थिए’ निधिले भने, ‘तर मैले मानिनँ ।’

निधिले एमाले नेतृत्वको सरकारले द्रूतमार्ग बन्न नदिने खेल खेलेको र त्यसैका लागि चीनबाट रेल ल्याउने कुरा गरेको आरोप लगाए । ‘आज म यो सदनमा दर्ज गर्न चाहन्छु, एमाले नेतृत्वको सरकारले द्रूतमार्ग बन्न नदिने खेल खेलेको छ । कुन नेपालीले द्रूतमार्ग बनाउँछ ? कसैले भन्न सक्छ ?’ निधिको प्रश्न थियो, ‘एमाले नेताहरूको इमोसनल खेलले द्रूतमार्ग तुहाउने काम हुन लागेको छ ।’

उनले चीनबाट रेल ल्याउने सरकारको योजनाको पनि विरोध गरे । ‘यहाँ बिजुली छैन, कहाँबाट आउँछ रेल ?’ निधिको प्रश्न थियो, ‘रेलको कुरा पनि द्रूतमार्ग तुहाउनकै लागि आएको हो ।’ कांग्रेस नेता निधिले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोप पनि लगाए । आफ्नो सरकार हुँदा भारतले गरेको नाकाबन्दी वर्तमान सरकार आएपछि हटाउन सफल भए पनि निधिले नीति तथा कार्यक्रममा भारतको नाम उल्लेख नभएकोमा आपत्ती जनाए ।

‘नीति कार्यक्रममा एउटा छिमेकीको प्रशंसा गरिएको छ, अर्काे छिमेकीको चर्चासम्म गरिएको छैन’ निधीले भने, ‘छिमेकी देशको चर्चासम्म नगरी नीति तथा कार्यक्रम ल्याउने सरकार काम लाग्दैन ।’

प्रतिक्रिया