आस्थाको कुरा गर्नु बेकार छ

Mohan Prasad Sapkotaन शेरबहादुर देउवाले सांसद किनबेच गर्दा मनले स्वीकार्न सकेँ न त गगन थापाले गुन्डाको वकालत गर्दा । अधिकांश समय अर्थमन्त्री हुने रामशरणले साना सवारी साधन र भन्सार बढाएर देश विकास गर्न खोजेको मात्र होइन भएका उद्योग धमाधम बेचेर सकेकोमा पनि चित्त कुँडिएकै हो । कांग्रेस, एमालेदेखि माओवादीसम्मले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा मतदान केन्द्र कब्जा गर्दा मन रोएकै हो ।

 

कांग्रेस, मेरो बाध्यात्मक समर्थन हो । देश विकास गर्न नसकेकोमा, नेताहरू भारत आदि देशको एजेन्ट बनेकोमा, देशलाई शान्त बनाउन नसकेकोमा, प्रजातान्त्रिक समाजवादलाई त्यागेर पुँजीवादको अन्ध प्रयोग गर्दै गएकोमा र दलको साख गिराउँदै लगेकोमा मन चसक्क हुन्छ । म न कुनै नेताको अन्धसमर्थक हुँ न चम्चे । म प्रजातन्त्रको पक्षपाती हुँ । कसैलाई वाध्य पारेर करले, बलले, छलले समर्थन गर्न लगाउनै पर्दछ भन्ने मान्यता विद्यार्थी कालबाटै मैले तिलाञ्जली दिएको हुँ ।

मैले गिरिजा बाबुले संसद् विघटन गर्दा पनि समर्थन गर्न सकिनँ, कृष्णप्रसाद भट्टराईलाई हराउँदा पनि । न शेरबहादुर देउवाले सांसद किनबेच गर्दा मनले स्वीकार्न सकेँ न त गगन थापाले गुन्डाको वकालत गर्दा । अधिकांश समय अर्थमन्त्री हुने रामशरणले साना सवारी साधन र भन्सार बढाएर देश विकास गर्न खोजेको मात्र होइन भएका उद्योग धमाधम बेचेर सकेकोमा पनि चित्त कुँडिएकै हो । कांग्रेस, एमालेदेखि माओवादीसम्मले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा मतदान केन्द्र कब्जा गर्दा मन रोएकै हो ।

म यसरी मेरा नेताको कर्तूत यसकारण लेख्छु कि म प्रजातन्त्रप्रति विश्वास गर्छु । मलाई कसैको कानुन मिचाईलाई आँखा चिम्लेर ढाकछोप लगाउनु छैन । म भूकम्पमा खान नपाएर कसैले राहतका जस्ता र त्रिपाल खाएको पनि विरोध गर्दछु । चामल कुहाएर सडाउनेहरूको पनि । निश्चय नै भूकम्पताका भएका अनियमिततामा अनेकौँ धाँधली भएका छन् । स्थानीय तहदेखि माथिल्लो तहका नेतासम्म सक्नेले भूकम्पका नाममा आएका सहयोग र साधन घिचेका छन् । फरक यत्ति छ कांग्रेसीहरू खाएपछि भट्टी छिर्थे तर अन्य दल खाएर विपक्षीको जासुसी गर्दथे । नाकाबन्दीमा पनि खाँटी भनेर डामिएका हरेक दलका कार्यकर्ताले पाएसम्म कालोबजारी गरेका थिए । कुनै दिन साँच्चिकै तटस्थ, एउटै बाउले जन्माएको कुनै राजनेता जन्मिएछ र छानबिन गरेछ भने दूधको दूध पानीको पानी छुट्टिनेछ । ठूलो स्वर गरेर हामी कसैले आफूले समर्थन गरेको राजनीतिकोे कुकृत्य जोगाउन जरुरी छैन ।

भूकम्प प्रकृतिको थप्पड थियो राजनीतिको वशको कुरो थिएन, नाकाबन्दी नेपाली राजनीतिले भारतसँग लगाएको गोप्य मित साइनोको नतिजा थियो । म पूर्ण सहमत छु । तर, हे दूषित अन्धभक्त हो ! मलाई यो भन देशभित्र जे छ त्यसको व्यवस्थापन गर्न रोकेको कसले ? अरुण तेस्रो बनाउन विरोध गर्ने शैलजा र माधव नेपाल यिनै थिए कि अरू नै हुन् ? बिप्पा सम्झौता गर्नेहरूको अहिले पुनर्जन्म भएको हो र ? नाकाबन्दीपछि आजका दिनसम्म पनि तस्करीकै सामान उपभोग गर्न वाध्य पारेको कसले ? कांग्रेसले एक्लाएक्लै खान्छ अन्य दल सामूहिकरूपमा खान्छन् । यो कुरा घाम जत्तिकै छर्लंग छ । तर हामी यो तथ्य पचाउन सक्दैनौँ ।

कुन दलमा छैनन् पुँजीपति ? कुन दलमा छैनन् जमिनदार ? कुन दलमा छैनन् रातारात करोडपति बनेकाहरू ? कुन दलले हुलेन डाँकालाई र ज्यानमारालाई ? कुन दलले संसद् बन्न पैसा खाएन, लिएन ?

भारतीयहरूको नेपालप्रतिको नीति हेपाहा थियो र छ । हामीमा यसैगरी अन्धवाद मौलाउने हो भने भविष्यमा पनि उसको प्रवृत्ति यही हुनेछ । इतिहासले कोल्टा फे¥यो, भारतले सीमानामा तार बारै लगायो । पूरै हामी चीनतर्फ गयौँ कुनै दिन भने, भारतले जे–जे आजका दिनसम्म गर्दै आयो भोलि चीनले गर्नेछ । भारतीय विस्तारवादको चपेटाले उकुसमुकुस भइरहेका हामी चिनीयाँ आर्थिक साम्राज्यवादको चपेटामा पिल्सन वाध्य हुनेछौँ ।

देशको स्वार्थका लागि देशलाई एक गराउन सक्दैन यहाँको राजनीति भने ऊ कुन मुखले भारतीय स्वार्थको विरोध गर्दछ ? हरेक देशले आ–आफ्ना स्वार्थ हेर्दछन् । पशुपतिमा गएर वृद्धवृद्धालाई खिर खुवाउने हुन् वा बाटामा भेटिएका माग्नेलाई १ रुपियाँ खसाल्ने नै किन नहुन् सबै स्वार्थी नै हुन्छन् । कसैलाई धर्मको, कसैलाई समाजसेवाको, कसैलाई आत्मसन्तुष्टिको र कसैलाई प्रचारप्रसारको लोभ हुन्छ । निःस्वार्थ हुनेहरू जंगलमा कुटी बनाएर बस्छन् समाजमा हुँदैनन् । यो देशमा जसले जहिले जे नाउँमा सहयोग दिए पनि त्यसमा दिनेको स्वार्थ हुन्छ, हुन्छ, हुन्छ । हाम्रो देशको स्वार्थ कुनै विदेशीले जोगाउँदैन । कुवाको भ्यागुतो उफ्रिए जसरी संसार नै यही कुवा हो भन्ठानेर कराएर अहिलेको कुनै पनि समस्या समाधान हुँदैन । विदेशीहरू कहिले धर्म, कहिले जात, कहिले भूगोल त अहिले विदेशी भूगोलको निउँमा हामीलाई फुटाई रहेछन् । चेतनाशून्य नै भएर होला हरेक देशले हामीलाई किनिरहेको ।

मधेस भन्न सिकायो कसले ? संघीयता भन्न सिकायो कसले ? धर्म, जातसम्बन्धी विवाद लेरायो कसले ? के यी मुद्दाको किनारा लगाउन सक्ने हैसियतको परिपक्व नेता र राजनीति हामीसँग छ ? कम्युनिस्ट सोच्छन् कांग्रेस सबै मरे मात्र देश विकास हुन्छ । कांग्रेसी सोच्छन् कम्युनिस्टको नामोनिशान मेटाउनु पर्दछ । ४६ सालदेखिकै राजनीति त्यही होइन ? किन केही भएन ? एमाले र कांग्रेस त थिए त । देश विकासका नारा लगाउन थिएनन् र ? बीचमा माओवादी किन जन्मियो ? कांग्रेस, एमाले र माओवादीले देशभक्ति, विकास र राष्ट्रवादको नारा लगाउन नपुगेरै हो त मधेसवादी दलको जन्म भएको ?

दाजु कांग्रेस छ र उसँग पारिवारिक सम्बन्ध राम्रो छैन भने भाइ खुंखार कम्युनिस्ट भएर प्रतिशोध लिइरहेको हुन्छ । मन नपर्ने छिमेकी एमाले रहेछ भने आफू खुंखार माओवादी भएर निस्कन्छ । आफूलाई काम फत्ते गर्नु छ भने सबैखाले उग्रता लगेर वेदीमा चढाउँछ र अर्कोको आस्था जे भए पनि नाता लगाउँदै लगौंटी र पेटिकोट धुन पुग्छ । थुक्क राजनीति, अझ हामी शरम पनि नमानी आस्थाका कुरा गर्दछौँ ।

हाम्रो जस्तो सानो देशमा देशभक्त राजनीति हुँदो हो त थप दल जन्मिदैनथे, भएका दलसमेत गाँभिदै जान्थे । तर, यहाँ थपिँदो छ । किन ? हाम्रो अन्ध समर्थनले । खराबलाई खराब र सहीलाई सही नभन्ने गुलामी मानसिकताले । राजनीति नै कमाउने पेसा हुनाले ।

राजतन्त्र हुँदाका तस्करहरू बहुदल आएपछि कि कांग्रेसमा छिरे कि एमालेमा । सिन्दुर लाएर स्वागत गरियो । माओवादी जनयुद्धको अन्तिम अन्तिमतिर यी तस्करहरू माओवादीमा छिरे । के यो यथार्थ होइन ? निर्मल मनका कार्यकर्ता हरेक दलले पन्छाउँदै लग्यो । के यो यथार्थ होइन ?

प्रतिक्रिया