नेपालका लागि छुट्यो चिनियाँ रेल

chinese trainकाठमाडौं, ३० वैशाख । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन र उत्खनन् गर्न चिनियाँ टोलीले काम सुरु गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामग्री ढुवानी सुरु गरेको छ । पारवहन सम्झौतालाई मूर्त रूप दिन चीनले लान्झोउ बन्दरगाहदेखि हाललाई सिगात्छेसम्म नेपालका लागि मात्र सामान बोक्नेगरी रेल सेवा सुरु गरेको हो ।

काठमाडौंका लागि दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट बुधबार दिउँसो मालवाहक रेल छुटेको छ । रेलको अगाडि रातो बोर्डमा चीनियाँ भाषामा लान्झोउ–काठमाडौं रेल सेवा लेखिएको छ । रेलको अन्तिम गन्तव्य काठमाडौं भए पनि यो रेलले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आएर सामान खसाल्नेछ । त्यहाँबाट ट्रकले ५ सय ८४ किलोमिटरको दूरीमा केरुङसम्म सामान ओसार्नेछन् । त्यसपछि १ सय ६२ किलोमिटरको दूरीमा काठमाडौंसम्म अर्काे चरणको ढुवानी हुनेछ । काठमाडौं केरुङ नै यो चरणको सबैभन्दा अप्ठ्यारो बाटो हो । प्रधानमन्त्री ओलीले चीनसँग गरेको सम्झौता अनुरूप सन् २०१८ सम्ममा केरुङसम्म रेलमार्ग विस्तार गरी काठमाडौं हुँदै लुम्बिनी लैजाने योजना छ ।

हाललाई काठमाडौंका लागि सामान बोकेर आएको रेलले सिगात्सेमा सामान झारेपछि त्यहाँबाट सडकमार्ग हुँदै उपभोग्य तथा व्यापारिक सामान काठमाडौं आइपुग्नेछ । चीनको लान्झोउबाट छुटेको सामान ३ चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल २ हजार ४ सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ ।

चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरूपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने चिनियाँ राष्ट्रिय दैनिक पिपुल्स डेलीले जनाएको छ ।

चीनले यो सेवाको सुरुआत २ देशबीचको सहयोग आदानप्रदानलाई अझै मजबुत बनाउनका लागि गरेको जनाएको छ । उसले चीनका गान्सु प्रान्त, किंघाई प्रान्त, तिब्बतीयन स्वायत्त क्षेत्र र नेपालसहितका दक्षिण एसियाली क्षेत्रबीचको सम्बन्ध विस्तारका लागि यो सुरुआत गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया