यमन शान्तिवार्ता सकारात्मक : दुवै पक्षले आधा बन्दी रिहा गर्ने

कुवेत, २९ वैशाख । यमन सरकारी अधिकारी र विद्रोहीबीचको शान्तिवार्ता सकारात्मक भएको समाचार छ । यी २ पक्षबीच मंगलबारको वार्ता सकारात्मक भएको बताइएको छ । प्रारम्भिक रूपमा उक्त वार्ताका क्रममा दुवै पक्षद्वारा बन्दी बनाइराखेका करिब ५० प्रतिशत बन्दीलाई आगामी २० दिनभित्र रिहा गर्ने सहमति भएको कुवेतबाट प्राप्त समाचारमा जनाइएको छ ।

यमनको सरकारी वार्ता टोली र विद्रोहीबीच लमो समयदेखि वार्ता हुन सकेको थिएन । वार्ताका लागि उनीहरू कुवेतमा रहेका भए पनि प्रत्यक्ष रूपमा वार्ताको टेबलमा बस्न सकेका थिएनन् । संयुक्त राष्ट्रसंघको पहलमा कुवेतमा बुधबार वार्ता भएको हो । उक्त वार्ताअन्तर्गत दुवै पक्षका प्रमुख बन्दीलाई रिहा गर्ने सहमति भएको राष्ट्रसंघीय विशेष दूतले जनाएका छन् । यो पहिलो सहमतिपछि यमनको राजनीतिक संकट अन्त्य गर्ने कुरामा थप आशा पलाएको समाचारमा जनाइएको छ ।

यमनी द्वन्द्वका कारण करिब ६ हजार ४ सय यमनी नागरिकको मृत्यु भएको छ भने झन्डै २८ लाख नागरिक विस्थापित भएका छन् । मंगलबार भएको सहमतिबमोजिम आगामी २० दिनभित्र दुवैपक्षबाट ५० प्रतिशत बन्दीलाई रिहा गरिनेछ । सरकार तथा विद्रोही समूह यसका लागि सहमत भएपछि बन्दीलाई प्रक्रिया पु¥याई क्रमशः छोडिनेछ ।

सरकार र विद्रोहीबीच संयुक्त राष्ट्रसंघका प्रतिनिधिको मध्यस्थतामा सोमबारदेखि प्रत्यक्ष वार्ता सुरु भएको थियो । २ दिन पहिले सुरु हुने भनिएको वार्ता प्राविधिक कारणबस सोमबारबाट मात्र सुरु भएको हो ।

यमनमा इरान पक्षधर हुथी विद्रोही र उनीहरूका पूर्वयमनी राष्ट्रपति अलि अब्दुल्लाह सालेह र अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त यमनी अवेद्रब्बो मन्सुर हादीको सरकारबीचको द्वन्द्वका कारण देशमा अस्थिरता छाएको छ । यमनको वर्तमान हादी सरकारलाई साउदी नेतृत्वको संयुक्त सैन्य गठबन्धनले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया