सामूहिक श्रममा जुटे महिला

feature copyचितवन । ‘एकता नै बल हो’ भन्ने उक्तिलाई चितवनको पश्चिम क्षेत्र मंगलपुरका महिलाले चरितार्थ गरेका छन् । घन्टे कामकै कारण समूहबाट सहकारी बन्दा उनीहरू दंग छन् । गाउँमा घन्टे काम गरेर उनीहरूले पहिले समूहको आम्दानी बढाउने र त्यसपछि सहकारीलाई बलियो बनाउने उदाहरणीय काम गरेका छन् । उनीहरू घन्टे कामका लागि सामूहिक श्रम गर्छन् । आएको आम्दानी समूहकै हुने र त्यो रकमलाई सहकारीमा जम्मा गरेर आम्दानी बढाउने ध्याउन्नामा उनीहरूले लागेका छन् ।

‘गाउँका सबै महिला एकजुट भएर घन्टे काममा लाग्छौँ,’ स्थानीय हरियाली महिला समूहकी अध्यक्ष सावित्री गुरुङले भने, ‘सामूहिक श्रमबाट आएको आम्दानी सहकारीमा जम्मा गरेर बचत बढाउँछौँ ।’ उनका अनुसार प्रतिघन्टा १० रुपैयाँ लिएर सुरु भएको घन्टे काम अहिले ५० रुपैयाँ पुगेको छ । उनीहरू आम्दानी बढाउने श्रम मात्रै गर्दैनन् । गाउँमा भएका शुभकार्यमा गएर गीत, संगीत तथा नाचगान गर्ने र सहकारीको आम्दानी बढाउने काम पनि गर्छन् । गुरुङले भनिन्, ‘कसैले ३÷४ सय दिन्छन् । कसैले १ हजारसम्म दिन्छन् । सबै पैसा समूहकै हो र सहकारीमा जम्मा गर्ने गरिएको छ ।’

उनीहरूले गाउँमा ०६० सालदेखि समूह बनाएर वचत थालेका थिए । सुरुमा २० रुपैयाँ वचत गरेर साढे २ लाख रुपैयाँको लगानीबाट सुरु भएको समूह ०६६ सालमा सहकारीमा रूपान्तरण हुनुअघिसम्म बढेर १६ पुग्यो र त्यसमा कुल २ सय २५ जना महिला आबद्ध रहे । अहिले एउटा हरियाली समूहको मात्रै डेढ लाख रुपैयाँभन्दा बढी सामूहिक श्रमबाट आम्दानी हुने गर्छ । उनीहरूले त्यो समयमा १३ लाख रुपैयाँभन्दा बढी आम्दानी यही घन्टे कामम सामूहिक श्रम गरेर जोगाएको स्थानीयवासी सावित्री देवकोटा बताउँछिन् । पछि ०६६ सालमा उपहार सामाजिक उद्यमी महिला सहकारी नै स्थापना भयो । यसमा अहिले ५० समूहमा ९ सय ३० जना सेयर सदस्य भइसकेका छन् ।

अर्का महिला सीता खड्का भन्छिन्, ‘सुरुमा ऋण पाउन गर्न गाह्रो थियो । कसैले पत्याउँदैनथे । घरमा पुरुषले समेत महिला किन अघि सरेको भन्दै हप्काउँथे । अहिले त हामीलाई ऋण खोज्न समस्या नहुने मात्रै होइन व्यावसायिक खेती गरेर आयआर्जनमा समेत वृद्धि हुन थालेको छ ।’ सुरुदेखि गर्दैआएको घन्टे काम अहिले पनि उनीहरूले छाडेका छैनन् । आम्दानी बढाउने मुख्य स्रोत नै उनीहरूको सामूहिक श्रम हो । गाउँका हरेकका घरमा धान काट्ने, खन्ने, रोप्नेदेखिका सबै काम गर्न महिला बिहानैदेखि जुट्छन् । अन्यले लिने ज्यालाभन्दा केही कम उनीहरू लिन्छन् । त्यसैले गाउँले पनि महिलालाई काम दिन पाउँदा खुसी हुने स्थानीयवासी पवन बास्तोला बताउँछन् ।

उक्त सहकारीको सेयर पुँजी २७ लाख रुपैयाँ पुगेको छ । वार्षिक २ करोडको कारोबार गर्न सफल उपहार सहकारीको यो वर्ष १ करोड १० लाख रुपैयाँ वचत भएको छ । कर्जा लगानी नै १ करोड ५७ लाख रुपैयाँ पुगेको छ । ‘सहकारी बनेपछि महँगो ब्याजदरमा ऋण लिनु परेन’, व्यवस्थापक रमा अधिकारीले भनिन्, ‘अहिले समूहमा काम गर्दा रमाइलो लाग्छ । आम्दानी बढ्दा अझै खुसी लाग्छ ।’

महिलाको प्रयासमा र घन्टे काम गरेर जम्मा गरेको पैसाले स्थापना भएको उक्त सहकारी अहिले किसानको सहयोगी बन्दै आएको छ ।

मलबीउदेखि घाँसखेती, माछा, च्याउ र पशुपालन तथा कृषिमा सहकारीले सहुलियत दरमा किसानलाई सहयोग गर्दै आएको व्यवस्थापक रमा अधिकारी बताउँछिन् ।

२० हजारभन्दा माथि जसको वचत छ उसलाई विनाधितो १ लाख रुपैयाँ ऋण दिने गरिएको छ । सोही कार्यक्रमअन्तर्गत आफूले १ लाख रुपैयाँ ऋण लिएर गाई र बाख्रापालन गरेको स्थानीयवासी सावित्री देवकोटा बताउँछिन् । घाँसमा आधारित पशुपालन मात्रै फस्टाउने भएकाले अहिले किसानलाई व्यावसायिक घाँसखेतीमा प्रोत्साहन गर्न सहकारीले बीउ खरिद गरेर बिक्रीसमेत सुरु गरेको छ । घाँसको बीउमा बजार समस्या नहोस् भनेर सहकारीले यस्तो अभियान चलाएको हो ।

चितवन मंगलपुरको उपहार सहकारीले यस्तो नमुना काम गरेको हो । सहकारीकै व्यवस्थापक अधिकारीले किसानले जति थोरै घाँसको बिउ ल्याए पनि खरिदबिक्रीमा मध्यस्थकर्ता बनेर सहकारी अघि बढेको बताइन् । यसो गर्दा गएको १ वर्षमा मात्रै सहकारीले साढे २ लाखभन्दा बढीको घाँसको बिउ बेचेको उनको  भनाइ छ ।

काफल, जुनेल, सिओथ्री, भटमासे, इन्दु, सिमल चिनी, मेन्दोला, इपिल, नेपिएरलगायतका घाँसको बीउ र बिरुवा खरिदबिक्रीमा सहकारी लागेको छ । ‘गाउँलेले १ पाउ बिउ ल्याए पनि हामी किन्छौँ,’ उनले भनिन्, ‘यसले गर्दा गाउँमा व्यावसायिक घाँसखेती सुरु भएको छ ।’ सहकारीले बिउमा प्रतिकेजी ५० रुपैयाँ र बिरुवामा बढीमा ५० पैसासम्म आम्दानी राख्छ । भटमासको ५ सय रुपैयाँ प्रतिकिलो बिउ छ ।

यस्तै, मेन्दोला घाँसको बिउ प्रतिकिलो ३ सय र इन्दुको ७ सय रुपैयाँ पर्छ । चितवनलगायत बाहिरी जिल्लामा समेत सहकारीले बिउ बेच्ने गरेको सदस्य सावित्री देवकोटाले बताउँछिन् । यो वर्ष सहकारीले मलाटोबाट ८२ हजार, सिओथ्रीबाट ८८ हजार, किम्बूबाट ३२ हजार र नेपिएरबाट ३६ हजार रुपैयाँ आम्दानी गरेको छ । उत्पादन लागत घटाउन र पशुको स्वास्थ्यमा सुधारसँगै दूध उत्पादन पनि राम्रो हुने भएकाले व्यावसायिक रूपमा घाँस पालन थालेको भरतपुर–१९ का किसान दुर्गादत्त गौतमले बताए ।

उनले अहिले आफ्नै १० कट्ठामा र भाडाको १५ कट्ठा गरी २५ कट्ठा जमिनमा घाँस पालन गरेका छन् । घाँसखेतीमा सुरुमा हेफरको सहयोग रहे पनि अहिले किसान आपैmँ व्यावसायिक भएका छन् । साझेदारी संस्था कृषि तथा वातावरण संरक्षण समितिमार्फत आवश्यक प्राविधिक र घाँसको बिउमा सहयोग मिलिरहेको किसानले बताएका छन् । यहाँका २ सय किसानले घाँसखेती सुरु गरेकामा अहिले ५० जति त व्यावसायिक नै बनेका छन् । यहाँका किसानले अहिले काफल, जुनेल, सिओथ्री, भटमासे, इन्दु, सिमल चिनी, मेन्दोलालगायत घाँसको व्यावसायिक खेती गरिरहेका छन् । आफूले उत्पादन गरेको घाँसको बिउ उपहार सहकारीले खरिद गर्ने हुँदा समस्या नभएको किसानहरू बताउँछन् । हरियाली महिला समूहकी अध्यक्ष गुरुङ आफूले गएको वर्ष ४० हजारको घाँसबीउ बेचेको बताउँछन् ।

प्रतिक्रिया