निर्माण समग्रीको अभावले काम प्रभावित

shamalan kendra photo bikasha copyबुटवल, वैशाख २३ । बुटवल–१२ रामनगर निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अहिले जारी छ । सम्मेलन केन्द्रको काम अहिले पहिलो चरणमा करिव २५ प्रतिशत काम भइरहेको निर्माण कम्पन्नीले जानकारी दिएको छ ।

३० महिनामा निर्माण पूरा गर्नुपर्ने सहमति अनुरूप ०७१ साल माघ १५ गते सम्झौता भएपछि पहिलो चरणको कार्य अहिले भइरहेको हो ।

०७४ साल १४ साउनमा निर्माण सम्पन्न गर्नेगरी अहिले काम जारी भएको भए पनि निर्धारित समयमा काम पूरा नहुने भएको छ । मण्डपमा रहेका रुखहरू काट्ने अनुमति ढिला पाएको तथा भूकम्प, नाकाबन्दी र निर्माण सामग्रीको अभावका कारण समयमा नै निर्माण सम्पन्न नहुने सहरी विकास तथा भवन निर्माण विभाग रुपन्देहीका इन्जिनियर धनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्माण स्थलमा रुख काट्ने काम सम्पन्न भइसकेको र अहिले चरणबद्ध रूपमा काम अगाडि बढिरहेको छ ।

पहिलो चरणअन्तर्गत सूर्य आकारमा ३ ब्लकहरू ए, बि र सि छुट्टाछुट्टै ब्लकहरूको काम भइरहेको उनले बताए । ‘अहिले बि ब्लग (रजिस्टेसन भाग) को काम भइरहेको छ, बि सँगै सि ब्लगमा पिल्न्ट बिमको काम सँगै भइरहेको छ’ इन्जिनियर श्रेष्ठले भने । उनले सि ब्लगकमा पिल्न्ट बिमको ढलानको काम जारी रहेको र त्यसमा कार्यालय, शौचालय हुने बताए । त्यस्तै ए मा मुख्य हल बन्नेछ ।

धेरै समय फाउन्डेसनका लागि समय खर्च हुने भएकाले पनि अहिले फाउन्डेसनकै काम पनि जारी रहेको उनले बताए । पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, त्यसैगरी ५०÷५० र १ सय १ सय अटाउने अन्य ४ वटा हल गरी जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभाग रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए । बुटवल मण्डपमा रहेको साढे १६ विघा जग्गा मध्ये १० विगा क्षेत्रफलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदै छ । बाँकी साढे ६ विघा जग्गा बुटवल मण्डपलाई छाडिएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पहिलो चरणको लागत मूल्य २७ करोड ३९ लाख रुपैयाँ रहेको इन्जिनियर श्रेष्ठले बताए । सम्मेलन केन्द्रलाई १ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण गुरुयोजना सम्पन्न गर्दा भने कुल १ अर्ब ८७ करोडको लागत स्टिमेट गरिएको बताइएको छ । यसमा बुटवल मण्डपसमेत समावेश
रहेको छ ।

पहिलो फेजअन्तर्गतको काम सम्पन्नपश्चात् दोस्रो चरणमा चन्द्रमा आकारको निर्माण सुरु हुनेछ । त्यसका लागि अहिले टेन्डर प्रक्रिया सुरु हुन लागेको बताइएको छ । सतहबाट हेर्दा ब्लक अनुसार फरकफरक भए पनि एउटा तहमा पुगेपछि ३ वटै ब्लकहरू एकआपसमा जोडेर नेपालको झन्डा आकारको बनाइने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

पहिलो र दोस्रो चरणको काम सम्पन्न भएपछि तेस्रो चरणमा बगैँचा, पार्किङलगायतका अरू कामहरू सुरु गरिने बताइएको छ । निर्माणको जिम्मा पाएको श्री रविना समानान्तर सूर्य चन्द्र कन्ट्रक्सन प्रालि जेभीका साइड इन्जिनियर रबिद्र गर्तौलाले अहिले काम जारिरहेको र निर्माण सामग्रीको अभावका कारण निर्माण कार्यमा अप्ठयारो परेको बताए ।

सम्मेलन केन्द्रको निर्माण सम्पन्नपछि बुटवलले कस्तो छलाङ मार्ला भन्ने अहिले चासोको विषय बनेको छ । भैरहवामा निर्माणधिन अवस्थामा रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल र सम्मेलन केन्द्रको निर्माण सम्पन्न करिवकरिव एक साथ हुने भएकाले पनि बुटवलमा यी योजना निर्माणपछि कस्तो प्रभाव पर्ने भन्नेमा सबैको चासो रहेको यहाँका उद्योगी व्यवसायीहरू बताउँछन् ।

त्यस सँगै मोतिपुरमा बन्न लागेको औद्योगिक क्षेत्र निर्माण सम्पन्न पछि बुटवलले आर्थिक दृष्ट्रिकोणबाट पनि ठुलै फड्को मार्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सैजुले बताए । व्यापारिक सहरको रूपमा विस्तार हुँदै गएको बुटवलमा यी २ ठूला योजना सफल भएपछि बुटवललाई आर्थिक हवको रूपमा थप विकास गर्न सकिने उनको भनाइ छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले सम्मेलन केन्द्र बने सँगै बुटवलको नाम अझ उचो हुने बताए । त्यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डेले सम्मेलन केन्द्रको निर्माण पछि काठमाडौं बाहिर बुटवलको महत्व अझै बढ्ने बताए । उनले अन्तर्राष्ट्रिय कार्यक्रमहरू बुटवलमा नै हुने भएकाले यहाँको होटल व्यवसाय तथा यस क्षेत्रको विकास तथा व्यापारमा वृद्धि हुने पनि बताए ।

निर्माण सुरु गर्नुपूर्व आएको विनाशकारी महाभूकम्प, त्यसपछि भारतले गरेको नाकाबन्दीका कारण समयमा नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य सम्पन्न नहुने देखिएको छ ।

भारतले लगाएको नाकाबन्दीपश्चात पनि विभिन्न समयमा भएको निर्माण सामग्रीको अभावका कारण सम्मेलन निर्माणको काम समयमा नै गर्न नसकिने इन्जिनियर घनश्याम श्रेष्ठले जानकारी दिए । बालुवा, गिटीका कारण निर्माणमा ढिलाई भए सँगै अहिले पुनः बजारमा छडको अभाव भएपछि निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेको इन्जिनियर श्रेष्ठ स्वीकार गर्छन । नाकाबन्दीपश्चात उपलब्ध सामग्रीको माग बढेसँगै कम्पनीले सामग्री सम्मेलन केन्द्रलाई पुराउन नसक्दा अहिले छडको अभाव भएको उनले बताए । निर्माणधीन सम्मेलन केन्द्रमा ३२, २८, २५, २०, १६, १२ र ८ एमएमका छडहरू प्रयोग भएकोमा अहिले त्यी छडहरू बजारमा अभाव भएका कारण निर्माणमा ढिलाई भएको हो । अम्बे स्टिल र लक्ष्मी स्टिलबाट सो छडहरू ल्याई निर्माण गरिँदै आइएको छ ।

प्रतिक्रिया