एमाले नेतृको कृषि मोह

tulasi thapaचिटिक्क परेर समाज परिवर्तनको कुरा गर्दै हिँड्ने महिला टाउकोमा गम्छा बाँधेर खेती पनि गर्छिन्भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, ललितपुरको खोकना दोबाटोमा एमाले नेतृ तुलसी थापालाई एउटा सामान्य किसानको रूपमा काम गरिरहेको सजिलै देख्न पाइन्छ । पञ्चायती कालमा भूमिगत राजनीति गरेर आएकी थापा श्रम गरेर खानुलाई सामान्यरूपमा लिन्छिन् । खोकनादेखि चुच्चेपाटीसम्म उनी आपैmँ तरकारी बेच्न पुग्छिन् । यसमा उनलाई संकोचभन्दा काम गरेर खाएकोमा आनन्दको अनुभूति हुन्छ । १ वर्षअगाडि २२ रोपनी जमिन भाडामा लिई आफ्नै नन्द माया केसीसँग मिलेर उनले अर्गानिक तरकारी खेती सुरु गरेकी थिइन् । तरकारी खेतीबारे उनकै बारी खोकनामा गरिएको थापासँगको संवाद :

‘म किसानकी छोरी । किसानकै माझमा राजनीति गरेँ । त्यसैले मलाई नौलो काम गरेँ भन्ने लागेको छैन । पढेलेखेको मान्छेले खेती गर्नु हुँदैन भन्ने गलत धारणा छ । यदि, किसानले उत्पादन न गर्ने हो भने खाने के ? उनले अँगालेको पेसाप्रति गरिएको प्रश्नमा उनले उल्टै प्रश्न गरिन् । पार्टी, अनेमसंघ र महिलाअधिकार तथा विकास केन्द्र नामक संस्थाको अध्यक्षको जिम्मेवारीसँगै उनले २२ रोपनी बारीमा लगाएको तरकारीको जिम्मेवारी पनि पूरा गरिरहेकी छन् । पार्टीको काम मिलाएर उनी तरकारीबारीमा पुग्छिन् । समयलाई समन्वय गर्न जान्नेले धेरै काम गर्नसक्ने उनको ठम्याइँ छ । काममा रुची हुने हो भने आर्थिक पक्षलाई पनि व्यवस्थित गर्न सकिने काम धेरै छन् तुलसी भन्छिन् ।

राजनीतिलाई पेसा ठानेर श्रम गरी खानुलाई हिनताबोध ठान्नेहरूका लागि तुलसी थापा र उनकी नन्द माया केसी उदाहरण हुन् । गृहमन्त्री पत्नीको रूपमा सुविधासम्पन्न मन्त्रीनिवास पुल्चोकमा बस्दा पनि उनको भान्सामा आपैmँले फलाएको तरकारी पाक्ने गथ्र्यो । निवासको सानो खाली जमिनमा पनि केही न केही उब्जाएर खान्थिन् उनी । आज व्यावसायिक रूपमा खेती गर्दै छिन् । तुलसीको दृष्टिकोणमा राजनीति केवल समाजसेवा हो पेसा होइन । उनी थप्छिन्, पेसाले मान्छेको दैनिकीलाई व्यवस्थित बनाउँछ । त्यसका लागि केही न केही उत्पादनको काम गर्नुपर्छ । म त्यही उत्पादनको काममा लागेको छु । भूमिगत रहँदा पनि सम्भव भएको ठाउँमा केही न केही गर्थें । डेरामा बस्दा पनि गमलामा धनियाँ रोेपेर खाइयो । पछिल्लोसमय उनलाई चिनाएको मन्त्रीपत्नीको पगरीले पनि उनको काम धेरैलाई अनौठो लाग्छ ।

तुलसी थापालाइ देख्ने र बुभ्mनेहरूको टिप्पणी यस्तो हुने गर्छ– ‘पटकपटक गृहमन्त्री भएका वामदेव गौतमकी पत्नीलाई के नपुग्दो छ र तरकारी बारीमा जोतिनुपरेको होला !’ उनले तरकारी खेती गर्छिन्भन्दा नपत्याउनेहरूको संख्या पनि कम छैन । तर, उनलाई कसले के भन्छ भन्नेमा प्रवाह छैन । आफूले गरेको काममा हेला डाहा वा ईष्र्या जे गरे पनि उनलाई फरक पर्दैन । कामले मान्छे सानो वा ठूलो हुँदैन भन्ने ज्ञान उनलाई माक्र्सवादी सिद्धान्तले दशकौँ अगाडि दिएको छ । र, आज त्यही विचारको पालना गर्दैछिन उनी । उनको कृषि फार्म खोकना पुग्दा उनी साझेदार नन्दसँग मिलेर बोरामा तरकारी हाल्दै थिइन् । हतारमा भन्दै थिइन, ‘यो टमाटर, साग, फर्सी बेच्न लानु छ बौद्ध । उनीसँगै पछिलाग्दा थाहा भयो उनी साच्चै आपैmँ तरकारी बेच्न जाँदिरहिछन् भन्ने । बौद्धमा सञ्चालित अर्गानिक तरकारी पसलमा उनले आफ्ना उत्पादन सामान्य व्यापारीले भैmँ बिक्री गरिन् ।

बौद्धमा तरकारी बेच्न जाँदा उनको ठाँटबाट कृषक महिलाको जस्तो थिएन । एउटा घरानियाँ महिला जस्तै थियो, उनको भेषभूषा । तरकारी बुझाउँदै भनिन्, बहिनी आजलाइ यति छ भोलि केके ल्याइदिउँ ? अडर लिएर फर्किन् उनी । तुलसी थापाको यो कामले सिक्नुपर्ने धेरै कुरा छ । हरेक मान्छेले जानेको र सक्ने जुनसुकै काम गरे पनि हुन्छ । उनी भन्छिन्, ‘श्रम गर्न लाज मान्नु हँुदैन, आफ्नो कमाइ खाँदाको जस्तो आनन्द कहिँ कतैबाट पाइँदैन । समाजमा राजनीतिको नाममा गरी खानेहरूको संख्या घट्दै छ । त्यो गलत हो, हरेक मान्छेले पाखुरा चलाएर बाँच्ने हो भने समाजले उन्नति गर्नेछ ।’ उनी थप्छिन, ‘पछिल्लो समय राजनीतिको नाममा धेरै विकृति बढेको छ । यसले सिंगो राजनीतिलाई धमिल्याउने काम गर्छ । राजनीति समाजसेवा हो घर चलाउन र बाँच्न कुनै न कुनै पेसा गर्नुपर्छ । संगठन पार्टी र संस्थाप्रतिको मेरो जिम्मेवारी पूरा गरेर यो काम गरेकी हुँ ।

खोकनामा रहेको उक्त कृषि फार्ममा उनीहरूले १ करोड ८० लाखभन्दा बढी लगानी गरेका छन् । तरकारी खेतीमा यति ठूलो लगानी गरेको सुन्दा अनौठो लाग्न सक्छ । तर, उनीहरूले योजना पनि ठूलै बनाएका छन् । उनीहरूसँग वार्षिक १ करोड ३३ लाख आम्दानी गर्ने योजना छ । त्यही रफ्तारमा काम गरेका छन् । उनीहरूको व्यावसायिक फार्मका कारण वरपरका मान्छेले शुद्ध तरकारी खाना पाउनुका साथै रोजगारीसमेत पाएका छन् ।

तुलसी काम गरेर बाँच्नुपर्छ भन्नेहरू मध्येकी एक नारी पात्र हुन् । उनी भन्छिन्, ‘मलाई काम गर्न पाएकोमा गर्व छ । कुरा काट्नेहरू काटिरहून् उनीहरूको दिन त्यतिकै बित्छ । म श्रमगरेर २÷४ पैसा हात पार्छु । ठगेर, ढाँटेर वा धम्काएर खानु हँुदैन काम गरेर खानुपर्छ भन्ने शिक्षा सानोमा परिवारबाट पाएपछि राजनीतिबाट मैले जे बुभेmँ त्यहि गर्दैछु । फलानाकी पत्नी तरकारी बारीमा भनेर हाँस्नेहरू पनि छन् । पद, प्रतिष्ठा, जिम्मेवारी एउटा निश्चित समयको लागि हुन्छ । कुनै पनि पदले मान्छेको जिन्दगी चल्दैन जिन्दगी चलाउन अर्थ चाहिन्छ । त्यहि बुझाइले यो काममा हात हालेँ । कृषि मलाई सधैँ मन पर्ने पेसा पनि हो यसप्रति आस्था र सम्मान छ । सकुन्जेल यही पेसामा लाग्छु । अरूले पनि काम गरेर बाँचून भन्ने चाहन्छु । श्रममा हरेक मान्छेको आस्था र सम्मान हुनुपर्छ । अझ हामी त कृषिप्रधान देशका नागरिक कृषक हुँ भन्दा गर्व गर्नुपर्छ ।

पछिल्लोसमय राजनीतिको आडमा बाँच्नेहरूको संख्या बढ्दो छ । अझ राजनीति गर्नेहरूले अन्य व्यवसाय गर्नुलाई संकोचको रूपमा लिने गर्छन् । तर, तुलसी थापाको नन्द–भाउजु राजनीतिसँगै व्यवसायलाई व्यवस्थित बनाउँदै छन् । गएको असारबाट काम सुरु गरेका उनीहरूले धेरै तरकारी बजारमा पु¥याइसके । यतिबेला उनीहरूको बारीमा आलु, साग, गोलभेँडा, फर्सीलगायतको तरकारी छ । नयाँ तरीकाबाट व्यवस्थित रूपमा गरिएको उनीहरूको कृषि फार्मले वातावरणीय रूपमा सन्देश दिने कामसमेत गरेको छ । झुल्के घामदेखि साँझसम्म बारीको काममा समय बिताउने उनकी नन्द माया केसी भन्छिन्, ‘हाम्रो उत्पादन पूरै अर्गानिक छ । बजारमा पाइने विषादी हामी प्रयोग गर्दैनौँ । आपैmँले बनाएको जैविक विषादी प्रयोग गरेर तरकारी उतपादन गर्छौं । जसले मान्छेको स्वास्थ्यमा असर पार्दैन ।’ आपैmँले बनाएको जैविक विषादी देखाउँदै केसीले भनिन्, ‘क्यात्तुके र गाईको मूत्र (गहुँत) बाट यो विषादी बनाएका हौँ । यसले तरकारीमा लाग्ने किरा लठ्ठिँदै मर्छ जसले मान्छेको स्वास्थ्यलाई कुनै हानी पु¥याउँदैन । हिजोआज बजारमा जताततै विषादी प्रयोग भएको तरकारी पाइन्छ जसले मान्छेको स्वास्थ्यमा असर पुग्नुको साथै अनेकाँै रोग लाग्छ ।

हरेक कुराको सुक्ष्मरूपमा अध्ययन गरेर मात्र काममा हात हाल्ने केसी भन्छिन्, ‘हामीले चाहेको भए यही लगानीमा अरू धेरै काम गर्न सक्थ्यौँ । व्यवसाय गर्न तरकारी रोप्नैपर्छ भन्ने छैन । तर, हामीले यही पेसा अँगाल्याँै त्यसको पनि कारण छ । मान्छेले जे पेसा व्यवसाय गरेर पृथ्वीको जुन कुनामा बसे पनि नखाई बाँच्न सक्दैन । हरेक मान्छेले खाना र तरकारी नखाई हँुदैन । बाँच्नका लागि अनिवार्य चिज हो यो । त्यसैले यसमा हाम्रो आकषँण बढ्यो । यसैमा भविष्य देख्यौँ ।’

उनीहरूले बेर्ना उत्पादन गर्ने नर्सरीमा प्लास्टिकको सट्टा पातको सोली बनाएका छन् । जसले प्लास्टिक न्यूनीकरण गरी वातावरणमा असर नगर्ने उनीहरूको विचार छ । कृषि पेसाबारे केसीको अनुभव छ । मैले लामोसमय पोखरामा तरकारी खेती गरँे । त्यहाँ कमाएको पैसाले काठमाडौंमा जमिन किनँे । कृषिभन्दा उन्नत पेसा केही नभएको उनको दाबी छ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया