युवायुवतीको ‘कोरिया सपना’

भनिन्छ कुनै पनि मुलुक समृद्ध बनाउन युवाशक्ति अनिवार्य हुन्छ । हरेक देशले आफ्ना युवाशक्तिलाई मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गरेर उनीहरूको श्रमशक्तिलाई मुलुकको विकासमा उपयोग गर्न सक्नुपर्दछ । तर, नेपालमा त्यस्तो वातावरण पटक्कै छैन । त्यसैले त समृद्ध मुलुक दक्षिण कोरिया बेरोजगार नेपाली युवा युवतीका लागि आकर्षक गन्तव्य हो । कोरियाप्रति युवायुवतीको आकर्षण दिनदिनै बढ्दै गएको पाइएको छ । हालै इपिएस कोटा प्रणालीले ३१ सय सिटको लागि आह्वान् गरेकोमा ६१ हजारभन्दा बढी युवायुवतीले फाराम भरे । यसले नेपाली युवायुवतीमा ‘रंगीन कोरिया’को सपना कति रहेछ भन्ने तथ्य सार्वजनिक भएको छ । अहिले पनि दक्षिण कोरियामा हजारौँ युवायुवतीहरू प्रतिमहिना एक लाख रुपैयाँभन्दा बढी तलब पाउने जागिर खाइरहेका छन् । भाषा परीक्षा पास गरेर मात्र जान पाइने दक्षिण कोरिया जान आतुर बेरोजगार युवायुवतीको भीडले नेपालको गरिवी र बेरोजगारीको वास्तविक तस्बिर उजागर गर्दछ ।

नेपालमा रोजगारीको अवसर सीमित छ र यहाँ प्राविधिक, दक्ष जनशक्तिको चरम अभाव छ । जागिर पाए पनि तलबले आफू र आश्रित परिवार पाल्न नसक्ने भएपछि विकल्पको खोजी गर्ने क्रममा दक्षिण कोरियाप्रति नेपाली युवायुवतीको आकर्षण बढेको हो । आफ्नै देशमा रोजगारीको पर्याप्त अवसर पाएका भए अवश्य पनि उनीहरू परिवार छाडेर विदेशिने थिएनन् । नेपाल सरकारले आफ्नै देशभित्र पर्याप्त मात्रामा उद्योगधन्दा र कलकारखानाहरू खोलेर आफ्नै देशमा आकर्षक तलबसहितको रोजगारी सिर्जना गर्न नसक्दा परिणाम हो यो । अहिले कुनै पनि गाउँमा युवाहरू भेटिदैनन् । उनीहरू उज्ज्वल भविष्यको खोजी गर्दै दक्षिण कोरिया, जापान, अमेरिका, क्यानडा मात्र नभएर खाडी मुलुकहरूमा पसिना बगाइरहेका छन् । तीमध्ये सबैको सपना साकार भएको छैन ।

यसरी विदेशिएका युवाहरूमध्ये केहीको त्यहाँ सडक दुर्घटना, ह्दयघात र प्रतिकुल मौसमको कारण अकालमै ज्यान गइरहेका दुःखद समाचारहरू सुन्न पनि हामी बाध्य छौँ । नेपाल सरकारको औद्योगिकरणसम्बन्धी योजनाहरू कागजमै सीमित भएका छन् । मुलुकमा गणतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि बेरोजगारी अन्त्य गर्न सरकारले स्पष्ट नीति ल्याउन सकेको छैन । मुलुकलाई कृषिप्रधान भनिएता पनि विदेशबाट कृषि उत्पादन आयात गर्न हामी बाध्य छौँ । यस्तै जलस्रोतको क्षेत्रमा विश्वकै दोस्रो धनी मुलुक भएता पनि पर्याप्त मात्रामा जल विद्युत्को उत्पादन हुन सकेको छैन । फलस्वरुप दिनप्रतिदिन लोडसेडिङ भइरहेको छ । निकट भविष्यमै त यसको अन्त्य हुने कुनै सम्भावना देखिएको छैन । यस्तो निरीह अवस्थामा युवायुवतीले विदेशिनुबाहेक अरु कुनै विकल्प देखिरहेका छैनन् । अब समय धेरै ढिलो भइसकेको छ । नेपाली युवायुवतीलाई आफ्नै देशमा पर्याप्त मात्रामा रोजगारीको अवसर सिर्जना गर्न सकिएमा दक्षिण कोरियालगायत अन्य मुलुकहरूमा नेपालीहरू जानुपर्ने थिएन । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी देखिएको छ ।

प्रतिक्रिया