वास्तविकता चाँडो बाहिर ल्याऊ

हिमाल खबर पत्रिकाका वरिष्ठ पत्रकार एवं मानवअधिकारकर्मी कनकमणि दीक्षितलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा हिरासतमा लिएपछि अख्तियारको उक्त कदमको चौतर्फी विरोध भएको छ । साझा यातायातका अध्यक्षसमेत रहेका उनलाई साझा यातायातमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । तर, उनको विगतदेखिको छवीका कारण नेपाली समाज उनीमाथि लगाइएको भ्रष्टाचारको आरोपप्रति विश्वास गर्न तयार छैन । स्वास्थ्य अवस्था कमजोर रहेका दी क्षितको वीर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मानवअधिकारका लागि लामो समयदेखि सक्रिय रहँदै आएका पत्रकार दीक्षितले भ्रष्टाचार गरेको भन्ने आरोपमा मात्रै हो या यसमा सत्यता छ यो त भविष्यमा पुष्टि हुने नै छ । तैपनि, अहिले उनीप्रति सहानुभूति राख्नेको जमात बढ्दै गएको देखिएको छ ।

उनको गिरफ्तारीप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले शीघ्र रिहाइको माग गरेका छन् । हतारमा चर्चामा आउन अख्तियार प्रमुखले दीक्षितलाई पक्राउ गरेको हुनसक्ने अनुमान धेरैले गरेका छन् । यो घटनालाई व्यक्तिगत रिसइबीले पनि प्रमुख भूमिका खेलेको हुनसक्ने आशंका देशका बुद्धिजीवीहरूले गरेका छन् । पत्रकार दीक्षितलाई आज (सोमबार) ११ बजेभित्र सर्वोच्च अदालत लगी हाजिर गराउन सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश दिएपछि उनले न्याय पाउने आशा गरिएको छ । दीक्षितकी धर्मपत्नी शान्ता दीक्षितले सर्वोच्चमा गतशुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दिएपछि सर्वोच्चले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतबाट अब पत्रकार दीक्षितले न्याय पाउने आशा सबैले गरेका छन् । सय जना दोषी छुटे पनि एक जना निर्दोष व्यक्तिले सजाय पाउनुहुन्न भन्ने कानुनी मान्यता र अवधारणाअनुरूप पनि सर्वोच्च अदालतबाट पत्रकार दीक्षितले न्याय पाउने आशा सर्वत्र व्यक्त भइरहेका छन् । आज (सोमबार) सर्वोच्चले यससम्बन्धमा गर्ने आदेश सबैका लागि प्रतीक्षाको विषय बनेको छ ।

अख्तियारले भ्रष्टाचारको छानबिन र अनुसन्धानका क्रममा धेरै राम्रो काम गरेको भएता पनि दीक्षित प्रकरणमा उसले आफ्नो प्रतिष्ठा गुमाएको अनुभव गरिएको छ । हिमाल खबर पत्रिकामार्फत सरकारी संयन्त्रहरूमा व्याप्त भ्रष्टाचारको जालोलाई केस्राकेस्रा केलाएर जनतासमक्ष सुसूचित गर्दै आएका पुराना पत्रकार दीक्षितले साझा यातायातजस्तो रुग्ण संस्थामा भ्रष्टाचार गरे भन्ने आरोपमा खासै दम देखिँदैन । त्यसमाथि बिरामी अवस्थामा रहेका पत्रकार दीक्षितलाई यसरी अमानवीय ढंगबाट हिरासतमा राख्ने काम अख्तियारले गरेर आप्mनै साख र बर्चस्व घटाएको अनुमान बुद्धिजीवी र मानवअधिकारकर्मीहरूले गरिरहेका छन् । यति हुँदाहुँदै पनि उनले भ्रष्टाचार गरेका छन् भने कुनै पनि ‘पोर्टफोलियो’को आडमा उनले उन्मुक्ति पाउनु हुँदैन र भ्रष्टाचार गरेका छैनन् भने अख्तियार वा कुनै पनि निकायले उनको व्यक्तिगत जीवनमा गम्भीर असर पर्नेगरी यस्ता कार्य गरिनु हुन्न । यस प्रकरणमा अख्तियारले जे ग¥यो, त्यो गल्ती हो वा सही हो यसको निक्र्यौल चाँडो हुनुपर्छ ।

प्रतिक्रिया