काठमाडौं, १५ वैशाख । भूकम्पले तहसनहस भएको संरचनालाई चित्रमा उतारेर प्रदर्शन गर्ने अभियानमा लागेका छन् ललितकला क्याम्पसका विद्यार्थी । ४ जनाको समूहमा रहेका विद्यार्थीले गोर्खाको बारपाक, काभ्रेपलान्चोक, काठमाडौ, ललितपुर र भक्तपुरको विभिन्न स्थानमा देखेका दर्दनाक दृश्यलाई चित्रमा जस्ताको तस्तै उतारेर राखेका छन् ।
भूकम्प गएको वर्षदिन पारेर १२ वैशाखमा उनीहरुले गोर्खाको बारपाकमा आफ्ना चित्र प्रदर्शन गरे । काठमाडौंदेखि बारपाकसम्म चित्र प्रदर्शन गर्न रोशन डंगोलको नेतृत्वमा ३ जना विद्यार्थी गएका थिए । बारपाकमा गरिएको प्रर्दशनबारे रोशन भन्छन्, ‘हामीले बारपाकमा बनाएका र अन्य स्थानमा बनाएका केही चित्र त्यहाँ प्रदर्शन ग¥यौं । हामीले सोचेजस्तो त्यहाँको कार्यक्रममा हामीलाई वास्ता गरिएन । प्रधानमन्त्री र राष्ट्रपतिले कुनै प्रतिक्रिया दिएनन् हाम्रा कलाप्रति । तर पनि हामीले राष्ट्रपतिलाई चित्र उपहार दियौं ।’
बारपाकमा उनीहरुको चित्र स्थानीय जनताले निकै रुचिपूर्वक हेरेको रोशनले बताए । ‘चित्र हेर्दाहेर्दै कतिले भन्थें, ऊ यो त फलानाको घर हो ! हाम्रै अगाडि बनाएका हुन पोहोर यिनीहरुले’ स्थानीयको भनाई उधृत गर्दै रोशनले भने ।
‘एक वर्षसम्म देशका विभिन्न स्थानमा गएर बनाएका चित्र प्रस्तुत गर्न व्यस्त प्रविण श्रेष्ठले पाटन दरबार स्क्वायर क्षेत्रमा भने ‘जुन स्थानले हाम्रो मन छोयो त्यसलाई त्यही बसेर चित्रमा उता¥यौं । काम सजिलो थिएन भूकम्पले जताततै जमिन हल्लाएको थियो कति बेला मरिन्छ थाहा थिएन, त्यस्तो बेला प्रभावित स्थानमा गएर चित्र बनाउँदा हामीले जोखिम मोलेकै हो ।’
उनीहरुले आफ्नो योजनाको नाम ‘नक्सा‘ राखेका छन् । नक्सा राख्नका कारण बिगुल यसरी बताउँछन्, ‘हामी गाउँ–गाउँ गएर चित्र कोर्न थाल्थ्यो, बुढा आमाबुबा छेउमा आएर सोध्थेँ ! बाबु के को नक्सा बनाएको ? उनीहरुको भनाइले हाम्रो मन छोयो र त्यसैबेला सोच्यौँ हाम्रो प्रोजेक्टको नाम नै ‘नक्सा’ राख्यौँ ।’ उनले आज यही नक्साको नामले आफूहरू विभिन्न ठाउँमा चित्र प्रदर्शन गरिरहेको बताए । हिजोको विपदको चित्र बनायौँ । आज निर्माणका चित्र बनाएका छौ । र, अन्त्यमा अबको समाज कस्तो हुनुपर्ने भनेर सन्देश चित्रमार्फत दिने आफूहरूको योजना रहेको रोशन बताउँछन् ।
१२ देखि १४ वैशाखसम्म बारपाक र १५ र १६ पाटनमा तथा अन्तमा काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरी सो चित्र प्रदर्शनी अभियानको समापन गर्ने उनीहरूको योजना छ ।
प्रतिक्रिया