इटालीमा भ्रष्टाचारविरोधी अभियान

रोम । इटालीमा सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिँदै इटालीको प्रहरीले मंगलबार मात्र नौ जनालाई पक्राउ गरेको बताइएको छ । इटालीको दक्षिणी प्रान्त नापेल्सबाट मात्र ती ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ पर्नेमा इटालीको सान्ता मारिया क्यापुवा भेटरे नगरका पूर्वनगर प्रमुख पनि परेका छन् । त्यसैगरी अरु दुई जना उच्चपदस्थ सरकारी कर्मचारी पनि परेको पनि अर्काे एक समाचारमा जनाइएको छ । आर्थिक मुद्दामा मुछिएका उनीहरुको कारबाहीका लागि त्यहाँको आर्थिक प्रहरीले अभियान थालेको हो ।

पछिल्लो समयमा आर्थिक मन्दीमा फस्दै गएको इटालीमा यसको एक कारण भ्रष्टाचार पनि रहेकोले यसका विरुद्धमा कारबाहीको अभियान सरकारले थालेको हो । सरकारी पसल कबल भाडामा दिने क्रममा तथा सरकारी राजस्वको हिनामिना गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

इटालीमा भ्रष्टाचार बढेको गुनासो व्यापक मात्रामा बढेको छ । यसरी आलोचित बन्न थालेपछि सरकारले पनि यो अभियान थालेको समाचारमा जनाइएको छ । यसरी पक्राउ पर्नेमा उद्योगी एवं व्यापारी पनि परेका समाचारमा उल्लेख गरिएको छ । सरकारी सम्पत्तिको ठेक्कापट्टाका साथै घुस खुवाएर उनीहरुले सरकारी कर्मचारीबाट काम लिने गरेका तथ्यहरु खुलेका बताइएको छ । सरकारले भ्रष्टाचारमा मुछिएको आशंका गरेका र अकूत सम्पत्ति आर्जन गरेकाहरुलाई निगरानीमा राखेर कारबाही थालेको हो । कतिपयलाई थुनामा राखेर अनुसन्धान गरिएको छ भने कतिलाई घरैमा नजरबन्दमा राखेर अनुसन्धान गरिएको पनि बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया