बालबालिकामा भूकम्पको त्रास कायमै

काठमाडौं, १२ वैशाख । गएको वर्ष १२ वैशाखमा गएको भूकम्पका कारण बालबालिकामा अझै मानसिक आघात परिरहेको र यसले उनीहरूमा दीर्घकालीन विकासमा असर पु¥याउनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बालअधिकारको क्षेत्रमा कार्यरत ५ संस्था प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, तेरे दे जोम, युनिसेफ र वल्र्ड भिजनले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा भूकम्प प्रभावित ५ जिल्लाका बालबालिकामा गरेको अध्ययन सार्वजनिक गर्दै उक्त चासो व्यक्त गरिएको हो ।

अध्ययनमा ६ सय ८० भन्दा बढी बालबालिकासँग गरिएको परामर्शअनुसार अस्थायी आवासको कारणले चोरी र जंगली जनावर घरमा आउने डर, घर बाहिर सुत्नुपर्ने, बेचबिखनमा पर्न सक्ने वा बाल श्रमिक हुन बाध्य हुने सम्भावनाले गर्दा त्रास हुने गरेको बालबालिकाले बताएका थिए । ५० प्रतिशत बालबालिकाले भूकम्प गएको १ वर्षपछि पनि चर्को आवाज आयो भने पनि अनौठो प्रतिक्रिया दिन्छन् भने, २३ प्रतिशतले तुलनात्मक रूपमा भूकम्पअघिको समयभन्दा अहिले राम्रोसँग सुत्न सकिँदैन भन्ने जवाफ दिएको अध्ययनमा उल्लेख छ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले आपत्कालीन अवस्थामा बालबालिका स्वतः संवेदनशील हुन्छन् भन्दै भूकम्पका कारण पठनपाठनसमेत ठप्प भएकाले त्यतिबेला उनीहरूको समग्र विकास नै जोखिममा रहेको स्मरण गराएकी छन् । युनिसेफका प्रतिनिधि तोमो होजुमीको शनिबारबाहेक अन्य दिन भूकम्प गएको भए त्यसले निम्त्याउने क्षति अझ भयावह हुने तथा नेपालमा भूकम्प प्रतिरोधात्मक विद्यालय बनाइनुपर्नेमा जोड दिइनुपर्ने धारणा थियो ।

प्लान इन्टरनेसनल नेपालका देशीय निर्देशक माटिएस ब्राइनसनले अबको पुनःनिर्माण र पुनःस्थापनाको प्रक्रियामा बालबालिकामा पर्न गएको असरलाई समेत ध्यानमा राखिनुपर्ने बताए । भूकम्पलगत्तै ३ हजार ५ सय ६७ अस्थायी शैक्षिक केन्द्रले बालबालिकालाई विद्यालय फर्काउन सहयोग गरे तापनि अहिलेसम्म पनि ३० प्रतिशत बालबालिका अझै असुरक्षित विद्यालयमा पढिरहेको छु भन्ने भयबाट मुक्त हुन नसकेको देखिएको छ ।

प्रतिक्रिया