भूकम्पमा एकै परिवारका चार सदस्य गुमाएका महत परिवारको विचल्ली

दोलखा, ११ वैशाख । दोलखाको दक्षिणी गाउँ जफे–४ का महत परिवार भूकम्प गएको १ वर्ष वितिसक्दा पनि बिचल्लीमा नै रहेको पाइएको छ । गत वर्ष १२ वैशाखमा गएको भूकम्पबाट आफ्ना परिवारका ४ सदस्य गुमाएका महत परिवारको २ टुहुरा बालबालिका र २ महिलाको अवस्था दयनीय रहेको छ ।

खेती किसान गरेर जीविकोपार्जन गरी बाँचेका महतका परिवारलाई आफ्ना कमाउने सदस्य नै गुमाएपछि अहिले बाँच्नै धौधौ भएको छ । बस्दै आएको पुरानो घर भत्किएर एकै ठाउँमा ४ जना पुरेको थियो । सो घटनापछि घर भएको स्थान छोडेर अहिले उनीहरू आफ्नो बेँसीमा जमिनमा टहरा निर्माण बनाएर बस्न थालेका छन् ।

परिवारमा भएका ८ सदस्यमध्ये भूकम्पबाट बाँचेका ४ सदस्य छौँ, घाइते आमा, ५ वर्षे दाइका छोरा, ३ वर्षीया छोरीको हेरचाह र पालनपोषणले पिरोल्छ म एक्लैले के गरेर यी सन्तानको हेरचाह र पालनपोषण गरौँ भन्छिन् २४ वर्षीया सुनिता महत ।

सुनिता महतले भूकम्पमा आफ्नो ६८ वर्षीय बुबा त गुमाउनु भयो नै बुबासँगै भर्खरका लक्का जवान ३० वर्षीय दाजु, २५ वर्षीय भाउजू र १३ महिनाकी १ भदेनी छोरी गुमाएको पीडाले घाउ चह¥याइरहेको र गतवर्ष गएको भूकम्प नसम्झाइदिन आग्रह गर्छन् । गहभरि आँसु पार्दै सुनिता भन्छन्, ‘घरमा बुबा र दाइले सबै घरखर्च हेर्नुभएको थियो, उहाँहरू बितेसँगै हाम्रो दैनिकी मैले कमाएको ३ हजारले चलेको छ ।

सुनिता गाउँ नजिकैको गोगनेडाँडा प्राविको निजी स्रोतमा ३ हजार तलब खाएर पढाउने शिक्षिका छन् । उनी भन्छिन्, ‘पुरानो घाउ नसम्झाइदिनुस् हामी पागलजस्तै हुन्छौँ ।’ हामी परिवारका सदस्य गुमाएर पटकपटक मरेर बाँचेका मान्छे भन्दै उनी धेरै बोल्न सकिनन् । गत वर्षको १२ वैशाखमा नै गएको भूकम्पले महत परिवारका ४ सदस्य एकैचोटी एकै ठाउँमा गुमाउँदाको पीडाले उनीहरूको मानसिक सन्तुलन गुमाएकाहरूको जस्तो झैँ भएको छ ।

सुनिताकी आमा नरमाया महत आफ्ना श्रीमान्, छोरा–बुहारी र नातिनी वितेकाहरूसँगै घाइते भई बाँचेर अहिलेसम्म संसार देखिरहेका छन् । नरमाया १२ गतेको भूकम्पले गम्भीर घाइते भएका हुन् । घरले थिचेर घाइते भएका कारण उनको उपचारका लागि काठमाडौं वीर अस्पतालमा उपचार गरी घर फर्काएको छोरी सुनिताको भनाइ रहेको छ । सुनिता भन्छिन्, ‘आमाको उपचार गर्दा दोलखाको अस्पतालमा राख्दा थुप्रै खर्च भयो त्यसपछि काठमाडौं लानु पर्छ रे भने लाँदा ल्याउँदा र बस्दा गरेर सरकारले दिएको सहयोग बुबा, दाइ–भाउजू र भदिनीको किरिया खर्चमा सिद्धियो ।’

घाइते नरमाया भन्छिन्, ‘मलाई घरभित्र पुरेको ठाउँबाट खनेर निकालेछन्, अरू त भागेर बाँचे होला भनेको मैले उल्टै पति, छोरा–बुहारी र नातिनीको काजकिरिया गर्नुप¥यो । भगवानले हामीलाई त ठगे नै तर यी मसिना बालबालिकाले कसको के बिगारेका थिए र ? टुहुरा बन्नुप¥यो’ भन्दै उनले दुःखेसो पोखिन् । सुनिता भन्छिन्, ‘विगत वर्षमा नै ५ वर्षीय छोराको भर्ना गरेका थियौँ, अहिले खर्च अभावमा भर्ना गर्न सकेका छैनौँ, कोही दयालु मान्छे वा संघसंस्थाले सहयोग गरे निजी स्कुलमा पढाउने थियौँ, भएन भने मैले पढाउने विद्यालयमा नै भर्ना गर्नुपर्ला । सबै दुःख भुलेर यिनै बाँचेकाको अनुहार हेरेर बसेका छौँ’, सरकारले २ लाख दिने सुनेका छौँ, सुनिताले भनिन् ।

भूकम्पमा सुनिता भागेर बाँचिन्, उनकी आमा नरमाया घरभित्रै पुरिँदा ढाडको ३ वटा हाड भाँच्चिएका कारण अझै सिधा हिँडडुल गर्न सक्ने अवस्थामा सुनिता सक्दिनन् । उनी भन्छिन्, ‘हाम्रो टहरो खेतमा छ, वर्षा सुरु भएपछि पानीले डुबान हुन्छ, मर्ने त मरेर गए बाँच्नेहरूको पनि मरे सरह जिउनुपरेको छ ।’ सो भूकम्पमा परी सुनिताको परिवारका बुबा अम्बरबहादुर, दाइ उत्तम, भाउजू दिव्या र भदैनी दीक्षा महतको मृत्यु भएको थियो ।

प्रतिक्रिया