ललितपुर, ११ वैशाख । गएको १२ वैशाखमा गएको विनाशकारी भूकम्पले भत्काएको बुङमती क्षेत्रको पुनर्निर्माण कार्य अलपत्र परेको छ । विनाशकारी भूकम्प गएको १ वर्ष पुग्दासमेत उक्त क्षेत्रको पुनर्निर्माण हुन नसकेको स्थानीयवासीले बताएका छन् । भूकम्पले भौतिक संरचनालाई ध्वस्त बनाएपछि पीडितहरू अहिलेसम्म जस्ताको टहरामा बस्न बाध्य भएका छन् ।
भूकम्पपीडित टहरामै बास बसेर आफ्नो गुजारा चलाइरहेको स्थानीयवासी विश्वराज तुलाधरले जानकारी दिएका छन् । जस्ता टहराको बासले खाना बनाउन, सुत्न, अन्नपात राख्न, पाहुना सत्कार गर्न, छोराछोरीलाई अध्ययन गराउन असहज परिस्थिति उत्पन्न भएको उनको गुनासो छ ।
समयमै राज्यले पीडितलाई उचित व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए । बुङमती पुनर्निर्माणका लागि ‘बुङमती फाउन्डेसन’ नामक संस्था क्रियाशील रहेको फाउन्डेसनका अध्यक्ष प्रेमभक्त महर्जनले बताए । ‘वास्तविक रूपमा अहिलेसम्म ध्वस्त संरचनाको तथ्यांक लिने काम मात्र भएको छ’ उनले भने ।
भूकम्प गएको एकवर्ष बित्दासमेत यहाँका मानिसको दिनचर्या दुःखदायी अवस्थामा रहेकाले उनले यस क्षेत्रको पुनर्निर्माण छिट्टै सुरु हुने उनको भनाइ रहेको छ । अब निर्माण हुने घर काष्ठकलाको शैलीबाट हुने उनले बताए । यसरी बन्ने घरको भुइँतलामा संग्रहालय, पहिलो तल्लामा क्याफे÷रेस्टुराँ, दोस्रो तल्लामा होम स्टे, तेस्रो तल्लामा परिवार बस्ने तथा माथिल्लो तल्ला दृश्यावलोकनका लागि रहने फाउन्डेसनले बताएको छ । यस क्षेत्रको पुनर्निर्माणका लागि ४ अर्ब रूपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।
यस कार्यमा पूर्णरूपमा युएन हाबिटेटले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । कार्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत रोहित पोखरेलले बुङमती क्षेत्र पुनर्निर्माणका लागि तथ्यांक संकलनको काम अन्तिमचरणमा पुगेको बताएका छन् । उनले यसै महिनाभित्र वास्तविक पीडितले घर बनाउनका लागि सरकारले प्रदान गरिने अनुदानको ५० हजार पहिलो किस्ता स्वरूप पाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुङमती क्षेत्रको पुनर्निर्माण महाअभियान सुरुआतको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गत २ माघमा गरेका हुन् । गतवर्षको विनाशकारी भूकम्पले यस क्षेत्रमा ८ सय ५३ घर ध्वस्त बनाएको थियो । यसैगरी ७ जनाको ज्यान गएको थियो भने ५० जना घाइते भएका थिए ।
प्रतिक्रिया