पाँचथर, ११ वैशाख । पाँचथरको इम्बुङ–७ कोल्बुङका अपांगता भएको तामाङ परिवारलाई सहयोगी हातहरूको संयोजनमा २ लाख ६४ हजार ३ सय २५ रूपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । तामाङ परिवारलाई अपांगतामैत्री घरसहित व्यवसाय सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरिएको हो ।
घरबनाउँदा २ लाख ४ हजार ९ सय १५ रूपैयाँ बराबर सहयोग गरिएको छ । भने उक्त परिवारलाई जीवीकोपार्जन गर्न सजिलो होस् भनेर ५९ हजार ४ सय १० रूपैयाँ बराबरको किराना सामान हस्तान्तरण गरिएको छ । जम्मा कुल २ लाख ६४ हजार ३ सय २५ रूपैयाँ बराबरको सहयोग गरिएको सहयोगी हातहरूका संयोजनकर्ता रामप्रकाश समथिङ गुरुङले बताए ।
शुक्रबार नेकपा एमालेका पूर्व सांसद तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार वसन्तकुमार नेम्बाङ, व्यवसायी तथा समाजसेवीहरू सोमकुमार थापा र युवासंघ नेपालका सदस्य कमल थपलियाले ३० हजार ५ सय २५ रूपैयाँ बराबरको किराना सामान सहयोग गरेका हुन् । नबिन फोटो स्टुडियोका प्रोपाइटर नविनकिशोर घिमिरेले अपांगता भएका खड्ग तामाङलाई मुढा बन्नका लागि आवश्यक धागोसहित कीला छेड्ने मेसिन गरी १० हजार ५ सय ८५ र अपांग सेवा संघ पाँचथरले १८ हजार मूल्य बराबरको ह्विलचियर गरी ५९ हजार ४ सय १० रूपैयाँको सहयोग गरिएको गुरुङले जानकारी दिए ।
किराना सामान हस्तान्तरणपछि राखिएको दोकानलाई राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय कोषाध्यक्ष तथा गायिका भूमिका नेम्बाङले रिबन काटेर उद्घाटन गरेकी हुन् । उनले सो क्रममा अपांगता भयो भनेर निराश नहुन आग्रह गर्दै केही गर्न सक्छु भनेर अघि बढ्न अपांगता भएका तामाङ परिवारलाई सुझाव दिएकी छन् । कार्यक्रममा सहभागी सहयोगी हातहरूमा संलग्न भवानी तावाले बारम्बार सहयोग गरिदिन असम्भव हुने भएकाले आम्दानीको श्रोतको रूपमा पसल स्थापना गरिदिएको बताए ।
उक्त परिवारमा धनमाया तामाङ तथा हर्कवीर तामाङका छोरा खड्गबहादुर, छोरीहरू शिरमाया र दिलमाया तामाङले दाताहरूको सहयोगले हर्षित भएको र जीविकोपार्जनको आधार नै पसल बनाउने बताए । हर्षित हुँदै उनीहरूले दाताहरूलाई धन्यवाद दिए । स्थानीय शिक्षासेवी दुर्गाप्रसाद चापागाईंले तामाङ परिवारलाई दाताहरूले गरेको महान सहयोगले आफू पनि हर्षित भएको बताए ।
दाताहरूको सहयोगभन्दा पहिले चापागाईंले आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारको विजोकले आफूलाई पनि दुखाएको र बेलाबेलामा सहयोग गर्दै आएको बताए । सहयोग वितरणमा सहयोगी हातहरूमा संलग्न समाजसेवीहरू नरेश आङबो, अधिकारकर्मी मंगल बेघा, सहयोगी आँखाका अध्यक्ष कमल थपलिया, समाजसेवी भवानी तावा, अर्पण मगरलगायत सहभागी बनेका थिए ।
प्रतिक्रिया