रुसेफ राष्ट्रसंघीय समारोहमा सहभागी हुने

ब्रार्सिलिया, ९ वैशाख । संयुक्त राष्ट्रसंघद्वारा आयोजित विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी समारोहमा भाग लिन ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ शुक्रबार न्युयोर्क जाने कुरा ब्राजिलका राष्ट्रपति कार्यालयले खुलासा गरेको छ । यसअघि विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी ठूलो सम्मेलनको आयोजना भएको थियो । सो सम्मेलनले यसवर्ष ‘युएन पेरिस एग्रिमेन्ट’मा हस्ताक्षर गर्ने गराउने निधो गरेको थियो ।

राष्ट्र संघको अग्रसरतामा गतवर्ष आयोजित तेस्रो शिखर सम्मेलनमा विश्वका सबैजसो राष्ट्रहरूले सहभागिता जनाएका थिए । यसैक्रममा ब्राजिलका राष्ट्रपति पनि जान लागेकी हुन् । राष्ट्रपति दिल्माको अनुपस्थितिमा उपराष्ट्रपति मिसेल टेमरले पदभार सम्हाल्नु हुनेसमेत जनाइएको छ ।

‘ब्राजिलका राजनीतिज्ञहरूको विचारमा युएन एग्रिमेन्ट’ को मञ्चमा राष्ट्रपति दिल्मालाई आफूलाई लागेको महाअभियोगविरुद्ध सफाइ दिने वा तितो पोख्ने राम्रो अवसर उपलब्ध हुनेछ । सोही मञ्चबाट उनले महाअभियोगलाई ‘सैनिक कु’ को संज्ञा दिने पनि अनुमान गरिएको छ । उक्त समारोहमा प्रत्येक राष्ट्र प्रमुखलाई ५ मिनेटसम्म सम्बोधन गर्ने समय मिल्नेछ ।

उनले यस समयमा विश्वव्यापी जलवायु परिवर्तनबाट परेको असर कम गराउन ब्राजिलले दिएको योगदानको चर्चा गर्नुका साथै यसै सन्दर्भमा जोडेर आफूउपर लगाइएको महाअभियोग विरुद्धको अन्तर्राष्ट्रिय समुदायलाई सफाइ पेस गर्ने मौकासमेत पाउनु हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया