राजदूतहरूलाई गठबन्धनकोे ब्रिफिङ : राजदूतहरूलाई गठबन्धनकोे ब्रिफिङ

madhesi_leadersकाठमाडौं, ९ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले बिहीबार विभिन्न देशका राजदूतसँग भेटेर आफ्नो आन्दोलनबारे ब्रिफङ गरेका छन् । लाजिम्पाटस्थित ¥याडिसन होटलमा भएको भेटघाटमा गठबन्धनका नेताहरूले विगतमा भएको मधेस आन्दोलनमा राज्यबाट भएको दमनदेखि भूकम्पपीडितलाई राहत नदिएको गुनासो राजदूत समक्ष गरेका थिए ।

मधेसी मोर्चाले छ महिनासम्म मधेसमा आन्दोलन गर्दा सरकारले त्यसलाई दमन गरी ६० जनाभन्दा बढी आन्दोलनकारीको राज्यपक्षबाट हत्या गरेको कुरा राख्दै सरकारले नश्ल र जातिको आधारमा मधेसी जनतासँग व्यवहार गरेको र सोहीअनुसार दमन गरेको कुरा राखेको बैठकमा सहभागी तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए । ‘हामीले सरकारसँग ३६ पटकसम्म वार्ता ग¥यौँ तर, हाम्रो मागप्रति सरकारले कुनै वास्ता गरेन, सहमतिका लागि तयार भएन,’ अध्यक्ष यादवले भने, ‘हामीले वहाँँहरुलाई भन्यौँ कि सरकारको रवैयाको कारण आफूहरूले बाध्य भएर अर्को चारणको आन्दोलन गर्न लागेका हौँ र यसमा तपाईंहरूको सहयोगको अपेक्षा गरेका छौँ ।’

भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितले हालसम्म राहत नपाएको कुरा पनि छलफलमा आफूहरुले राखेको उनले बताए । ‘भूकम्पको नाममा देश विदेशबाट आएको राहत कहाँ गयो ? विभिन्न देशबाट आएको रकम र राहत सामाग्रीमा सरकारले आँखा गाडेका छन् त्यसमा पनि भ्रष्टाचार गरिरहेका छन्’ भन्दै गठबन्धनका नेताहरूले विगतको सरकारभन्दा यो सरकार बढी भ्रष्ट देखिएको पनि आरोप लगाए । मधेसी मोर्चाले आन्दोलन तथा नाकाबन्दी फिर्ता लिएको दुई महिनाभन्दा बढी भइसक्दा पनि अझै पेट्रोलियम पदार्थ तथा सामाग्रीको हाहाकार देखिएको उल्लेख गर्दै यसमा सरकारले नै कालोबजारी गरेको आरोप राजदूतहरु समक्ष राखेका थिए ।

जवाफमा राजदूतहरुले नेपालको राजनीतिक घटनाक्रमलाई आफूहरूले नजिकबाट नियाली रहेको र समाधानका लागि बेलाबेलामा सुझाव पनि दिएको धारणा राखेका थिए ।

विदेशी राजदूतसँग आन्दोलनका लागि सहयोगको याचना गरे पनि मोर्चा सम्मिलित गठबन्धनले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । सरकारलाई चैत अन्तिमसम्मको अल्टिमेटम बुझाएर वैशाखको पहिलो साताबाट आन्दोलन थाल्ने मोर्चाको निर्णय दोस्रो साताको मध्यसम्ममा पनि कार्यान्वयन भएको छैन । मधेसी मोर्चाभित्र नेतृत्वको विवादकै कारण लामो समयदेखि मोर्चाको बैठकै बस्न नसकेको बताइएको छ ।

प्रतिक्रिया