विभागद्वारा होटलको स्तरीकरण

काठमाडौं, २ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म खाद्य गुणस्तरका आधारमा मुलुकभरका ६ सय ६८ होटल तथा रेस्टुराँको स्तरीकरण गरेको छ । विभागले प्रमुख राजमार्गका मलेखु, मुग्लिन, रामनगर, मनहरी, गैँडाकोट, कोहलपुर, चन्द्रपुर, इटहरी, विराटनगर, चिसापानी, अत्तरीयालगायत स्थानमा अनुगमन गरी सो वर्गीकरण गरेको हो ।

विभागको आव ०७२÷७३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा आव ०७३÷७४ को योजना तर्जुमा गोष्ठीमा सो जानकारी दिइएको हो । उक्त वर्गीकरणअन्तर्गत उत्तमस्तरका ८६, मध्यमस्तरका ४ सय १४ र न्यूनस्तरका १ सय ६८ होटल तथा रेस्टुराँ रहेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।
विभागका यी क्रियाकलापबाट उपभोक्ता वर्गमा खाद्य स्वच्छता र पोषणको ज्ञान विस्तार भएको तथा होटल स्टिकर वितरणमार्फत होटलको स्वच्छतामा अपेक्षित सुधार भएको महानिर्देशक कर्णले बताए । विभागले क्षेत्रीय कार्यालय, क्वारेन्टाइन प्रयोगशाला र स्याउ प्रशोधन केन्द्र, जुम्लासमेत ११ कार्यालयबाट यस अवधिमा भएका क्रियाकलापको प्रगति विवरणका बारेमा जानकारी गराएको हो ।

यस अवधिमा खाद्य तथा दाना उद्योग, होटल रेस्टुराँ तथा राजमार्गका होटलमा ८ सय ३५ पटक अनुगमन गर्ने लक्ष्य रहेकोमा १ हजार ३७५ पटक अनुगमन निरीक्षण गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जनाएका छन् ।

त्यस्तै, विभागले यस अवधिमा ३ हजार ६ सय ३५ नमुना जाँच विश्लेषण गर्ने लक्ष्य रहेकोमा जम्मा ७ हजार ९ सय ३८ नमुना जाँच विश्लेषण गर्नुका साथै मुलुकभर १ सय ९३ नयाँ खाद्य उद्योगलाई अनुज्ञापत्र, ४२५ उद्योगको अनुज्ञापत्र नवीकरण तथा २ सय ९५ खाद्य उद्योगलाई स्थापनाको लागि सिफारिस प्रदान गरेको छ । यस अवधिमा विभागले अनुगमनका क्रममा प्रशोधित पिउने पानी, प्रशोधित दूध तथा दुग्ध पदार्थ, तेल आदि खाद्यपदार्थअन्तर्गतका ५९ मुद्दा दायर गरेको छ ।

तीमध्ये विभागबाट ४, क्षेत्रीय कार्यालय हेटौँडाबाट ३१, धनगढीबाट १२, विराटनगरबाट ५, भैरहवाबाट ५ र नेपालगञ्जबाट २ वटा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया