सञ्जय साह हिरासतभित्रै ९ दिनदेखि अनशनमा

sanjayकाठमाडौं, २९ चैत । सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा निलम्बित सांसद् सञ्जय साह आफूमाथि लागेको आरोपको न्यायिक छानबिनको माग गर्दै हिरासतभित्रै अनसन बसेका छन् । पछिल्लोपटक सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगमा उनलाई धनुषा प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

जनकपुरको रामानन्द चोकमा ६ जनाको हत्या हुने गरी भएको बम विस्फोटको घटनामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद् साहलाई गत २१ चैतमा सिंघानियाको हत्या आरोप लगाउँदै अनुसन्धानका लागि पुनः हिरासतमा राखेको हो । हिरासतमा राखेकै दिनदेखि उनी अनसनमा बसेको बताइएको छ ।

राजनीतिक प्रतिशोधका आधारमा प्रहरीलाई प्रभावमा पारेर आफूमाथि झूठा आरोप लगाइएको दाबी गर्दै उनले न्यायिक छानबिनको माग गरेका छन् । उनका भाइ डा. रामकुमार साहले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न राजनीतिक दलका नेताहरूको दबाबमा सुरक्षा निकायले विभिन्न घटनामा फसाएको दाबी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उहाँमाथि एकपछि अर्को गरी झुठा आरोपहरू लगाइँदै गएको छ, जबकी उहाँ हरेक आरोपमा निर्दोष रहेको सावित हुँदै गएको छ ।’

आपूm निर्दोष हुँदाहुँदै एकपछि अर्को गरी आरोप लगाउँदै गएकोले न्यायिक छानबिन हुनुपर्ने मुख्य माग राखी उनी अनसनमा बसेको विज्ञप्तिमा उल्लेख छ । जनकपुर बम काण्डमा पनि त्यसरी नै फसाइएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले उहाँविरुद्ध अहिलेसम्म प्रमाण जुटाउन सकेको छैन । जुन मोबाइल नम्बरका आधारमा उहाँलाई घटनामा मुछिएको छ, त्यो मोबाइल नम्बरको कल डिटेल प्रहरीले अहिलेसम्म अदालतलाई बुझाएको छैन ।’

जनकपुर बम काण्डमा निर्दोष ठहरिने देखिएपछि सम्पत्ति शुद्धिकरणमा फसाएको र छानबिनका लागि गठित संसदीय समितिले निर्दोष ठह¥याई सम्पत्ति फुकुवाको आदेश दिए पनि सरकारले हालसम्म फुकुवा नगरेको विज्ञप्तिमा जनाइएको छ ।

‘सम्पति सुद्धिकरणमा पनि उहाँ निर्दोष देखिएपछि अहिले सञ्चार उद्यमी सिंघानिया हत्या अभियोगमा फसाउने प्रयास हुँदै छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सञ्जय साहमाथि आधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धान गर्न आग्रह गर्दछौँ । साथै उहाँ एक जननिर्वाचित सांसद भएकोले न्यायिक छानबिनको माग गर्दछौँ ।’

केन्द्रस्तरबाटै नागरिक समाजका प्रतिनिधि र सांसदहरू सहभागी छानबिन समिति बनाएर अनुसन्धान गर्न आग्रह गर्दै साहका भाइ डा. रामकुमारले सिंघानियाको सन्दर्भमा पोलीग्राफ गरिएकामा त्यसको रिपोर्ट पनि अनुसन्धानमा सामेल गर्न माग गरेका छन् ।

एउटा निर्दोषलाई फसाएर दर्जनौँ दोषीहरू उम्काउन प्रपञ्च रचिएको आरोप लगाउँदै विज्ञप्तिमा दबाबरहीत ढंगले निष्पक्ष अनुसन्धान गरिनुपर्ने उल्लेख छ । दोषी पाइए सजाय र निर्दोष ठहरिए सफाई पाउनुपर्नेमा परिवारजनको जोड रहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रतिक्रिया