मेसेडोनियामा शरणार्थी र प्रहरीबीच झडप

आइडोमेनी, २८ चैत । विभिन्न भूमध्यसागरीय मुलुकबाट ग्रिस र मेसेडोनियाको सीमाक्षेत्रमा अस्थाई शिविर खडा गरी बस्दै आएका शरणार्थी र मेसेडोनियाली प्रहरीबीच आइतबार झडप भएको छ । मेसेडोनियाली अधिकारीले ग्रीस र मेसेडोनियाको सीमा क्षेत्रमा भेला भएका शरणार्थीले सीमा खुला हुने भनी आएको शनिबारको हल्लाबारे सोधेका र मेसेडोनियाली प्रहरीले यो झुटो प्रचार मात्र भएको बताएपछि युरोप छिर्न आतुर शरणार्थीले प्रदर्शन गरेका थिए ।

विरोधमा उत्रिएका शरणार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । जवाफमा शरणार्थीले ढुंगाद्वारा प्रतिवाद गरेका थिए । ग्रिक सञ्चारमाध्यमले शरणार्थीमाथि प्लास्टिकका गोलीसमेत चलाएको बताएका छन् । सीमामा सँगै रहेका ग्रीक प्रहरीले शरणार्थीमाथि कुनै हस्तक्षेप नगरेको बताइएको छ ।

सीमामा परिचालित चिकित्सक अचिलिस थेमसले शरणार्थीमाथि गरिएको अश्रुग्यास प्रहारपछि उनीहरूलाई श्वासप्रश्वाससम्बन्धी समस्या भएको बताएका छन् । करिब ५ सयजना शरणार्थी प्रदर्शनमा सहभागी भई आफ्नो बाँच्न पाउने अधिकारका लागि भन्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया