विश्वको नजरमा उत्तर कोरियालीको ‘हठ’

एजेन्सी

वासिंटनडिसी, २७ चैत । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरूले ‘हठ’को संज्ञा दिएका छन् । यो हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता बढाएको धारणा उनीहरूको छ । दई हप्तामात्र अघि संयुक्त राज्य अमेरिकामा भएको आणविक विषयको सम्मेलनमा यस्तै प्रतिक्रिया विश्वका नेताहरूले व्यक्त गरे ।

त्यस सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका नेताको सहभागिता थियो । उनीहरूको चिन्ता पनि उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणमा केन्द्रित थियो । उनीहरूले उत्तर कोरियाको यस कार्यलाई हठको संज्ञा दिएका छन् । विश्वले नै बारम्बार आग्रह गर्दा पनि उसले आणविक परीक्षणको काम नरोक्नुलाई हठबाहेक अरू केही भन्न नसकिने उनीहरूको भनाइ छ । तर उत्तर कोेरिया भने उनीहरूका विरुद्ध खनिन छोडेको छैन । उसले गतहप्ता एक उत्तेजक भिडियो बनायो– वासिंटनमा बम हानेको । त्यस्तै दुई दिनअघि पनि दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयमा हानेको अर्काे त्यस्तै प्रचारक भिडियो बनाएको थियो । जसलाई संसारले नै निन्दा पनि गरेको छ ।

शुक्रबार उत्तर कोरियाका एकजना उच्च अधिकारीले निकै नै आपत्तिजनक शब्दमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाईलाई गालीगलौज गरे । जुन शब्द यति आपत्तिजनक छ कि त्यसले हाईको मानहानी गरेको स्पष्ट देखिन्छ । तर, यसप्रति दक्षिणले भने त्यस्तो कुनै आक्रामक प्रतिक्रिया दिने गरेको छैन ।

विश्वका प्रायः देशसँग राम्रो सम्बन्ध नभएको देश उत्तर कोरियाले पछिल्लो समयमा किन यस्तो उत्तेजक कार्य र प्रचार गर्ने गरेको हो भन्ने उत्सुकताको विषय हो । बारम्बार आणविक परीक्षण गर्दै विश्वसामू आफ्नो शक्ति प्रदर्शन गर्ने देश उत्तर कोरिया गएको केही समययता त निरन्तर रूपमा नै आणविक परीक्षण गरेको छ ।

आणविक परीक्षणको कारण नै उत्तर कोरियालाई पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएका छन् । तर, उसले भने सो नाकाबन्दीको

विरोधगर्दै पुनः परीक्षणको तयारीसमेत गरेको छ । बारम्बाारको यस परीक्षणले भाषा, संस्कृति र रगतको नातासमेत रहेको दुई कोरियाबीचको सम्बन्ध पनि झनै बिग्रिदो अवस्थामा रहेको छ । उत्तर कोरियाको कुनैपनि परीक्षणका विरुद्धमा आपूmहरू तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले दाबी गर्ने गरेको छ । उत्तर कोरियाले गत फेब्रुअरी ६ मा गरेको लामो दूरीको रकेट परीक्षणपछि निरन्तर रूपमा व्यालेस्टिक क्षेप्यास्त्रसमेत परीक्षण गरेको थियो ।

सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि देशसँगै आफन्तहरू पनि छुट्टिएका छन् । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुने गरेको पाइन्छ । बाबु छोरा, दिदीबहिनी, भाईभाईको नाता रहेको यी दुईदेशलाई आणविक परीक्षणले आपसमा झन् शत्रुता थपिरहेको छ । यसले आपसमा झन् बेमेलको स्थिति पैदा गर्ने गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेका छन् । लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । गत फेब्रुअरी ६ बाट उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरूले उत्तर कोरियाविरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका हुन् ।

उत्तर कोरियाको बेलाबेलाको धम्कीले अर्थात पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्न सक्ने संकेतले गर्दा दक्षिण काोरियालाई टाउको दुखाइको विषय बन्दै गएको छ । उत्तर कोरियाले आणविक परीक्षणको संकेत दिनेबित्तिकै दक्षिण कोरियाले सेनालाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुपर्ने हुन्छ । हालै उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणपछि दक्षिणी कोरियाली राष्ट्रपति पार्क गेउन हाइले देशव्यापी रूपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापलाई बढाउन आग्रह गरेका थिए ।

उत्तर कोरियाको निहुँ खोज्ने तरीका यही परीक्षणमा नै झल्केको देखिन्छ । त्यस्तै बेलाबेलामा छिमेकी एवं अमेरिकालाई तर्साउने, दक्षिण कोरियाका आधिकारिक फोनहरू ह्याक गर्ने गर्दछ । केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा हानेको भिडियो सार्वजनिक गरेको थियो भने सरकारी वेभसाइटमा यो भिडियो गत मंगलबार मात्र राखिएको थियो । यस भिडियोमा उत्तर कोरियाका तर्फबाट पटकपटक दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा रकेट हमला गरेर ध्वस्त बनाएको देखाइएको छ । यसअघि पनि उत्तर कोरियाले वासिंटनमा यसैगरी रकेट हानेको भिडियो सो वेभसाइटमा राखेको थियो । उत्तरले पछिल्लो समयमा गरेका यी क्रियाकलापहरूलाई उत्तेजनात्मक भनी विश्वव्यापी रूपमा विरोध भइरहेको छ ।

उत्तर कोरियाको वैदेशिक सम्बन्ध पनि कम्युनिष्ट राष्ट्रसँग मात्र राम्रो रहेको पाइएको छ । सन् १९६० देखि १९७० सम्म उत्तर कोरियाले स्वतन्त्र विदेश नीति अवलम्बन गरेको थियो । सन् २०१२ सम्ममा उत्तर कोरियाको १ सय ६२ राष्ट्रसँग कूटनीतिक सम्बन्ध रहेको र त्यसमा युरोपियन युनियनसँग समेत रहेको थियो । त्यसैगरी ४२ वटा राष्ट्रसँग उत्तर कोरियाली राजदूतावास रहेको छ ।

प्रतिक्रिया