तीन कविलाई सम्मान

3 kabi copyपाँचथर, २६ चैत । यो वर्ष विभिन्न साहित्यिक प्रतियोगितामा पुरस्कृत तथा सम्मानित पाँचथरका ३ जना कविहरूलाई शुक्रबार पाँचथरे स्रष्टाहरूले संयुक्तरूपमा बधाई दिएका छन् । जनमत सम्मानद्वारा सम्मानित कवि भवानी तावा, दोस्रो विश्वव्यापी खुला कविता प्रतियोगिताका प्रथम कवि सन्देश सुब्बा र राष्ट्रिय कविता महोत्सव २०७२ मा द्वितीय स्थान हासिल गर्न सफल कवयत्री सरस्वती दुमी राईलाई पाँचथरे स्रष्टाहरूले बधाई दिएका हुन् ।

पाँचथर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा तीनैजना कविलाई खादा ओढाई फूलमाला र अबिरजात्रा गरेर सम्मान गरिएको थियो । सो अवसरमा कवि भवानी तावाले ‘मेरो लल्छि’, ‘आइलभ्यू भाइरस’ र ‘भ्यालेन्टाइन फूल’ शीर्षकका ३ वटा कविता सुनाए ।

त्यस्तै अर्का कवि सन्देश सुब्बाले ‘बुढो प्रेमी र पूर्व प्रेमिका’, ‘मिस्त्री’, ‘साथीलाई चिठ्ठी’ र ‘हजुरको नाममा’ शीर्षकका ४ वटा कविता सुनाएर कार्यक्रममा उपस्थित साहित्य प्रेमीहरूलाई मन्त्रमुग्ध पारेका थिए । कवि सरस्वती दुमी राईले पनि ‘आमा, जाँतो र जिन्दगी’ त्यस्तै ‘नारी तिमी सधैँ याद गर’ शीर्षकका २ वटा कविता सुनाएर मनोरञ्जन प्रदान गरिन् ।

कार्यक्रममा आकर्षक युवा स्रष्टा मधु आजित केरुङले तीनैजना कविहरूको काव्यिक व्यक्तित्वको चर्चा गरेका थिए । प्रमुख अतिथि डाक्टर देवी क्षेत्री दुलाल, पाँचथरे इतिहास बोकेका पूराना अग्रज साहित्यकार प्रेम ओझा, पुष्पहाङ लोवा, राम उपाध्याय, युवाकवि गिरिराज बाँस्कोटालगायतले सम्मानित कविहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा स्थानीय स्रष्टाहरू प्रदीप प्यासी, सपना नेम्बाङ, विवश माङ्मु, रमिला घिमिरे, गीता सिटौला, संगिता सुहाङ, पेरु रेग्मी, प्रतिमा रिजाल, रञ्जना गहतराज, धनपति ढुंगेल, सुमन अधिकारी र बिनोद चौहानले आ–आफ्ना रचना वाचन गरेका थिए ।

नौलो साहित्य बिहान प्रतिष्ठान पाँचथर, पाँचथर गजल मञ्च, साहित्य साधना पाँचथर बहुमुखी क्याम्पस र स्थानीय खबर पत्रिका पब्लिक टाइम्स साप्ताहिकले संयुक्तरूपमा कार्यक्रमको संयोजन गरेका हुन् ।

प्रतिक्रिया