सुदूरपश्चिममा प्रहरी नै असुरक्षित !

बाजुरा, २६ चैत । प्रहरी कार्यालयका भवन जीर्ण हुँदा प्रहरी नै असुरक्षित बनेका छन् । सूदुरपश्चिम क्षेत्रका पहाडी जिल्ला प्रहरी कार्यालय बाजुरा, बैतडी, दार्चुल्ला, बझाङ र डोटी जिल्लाका जिल्ला प्रहरी कार्यालय पुराना र जीर्ण रहेकाले प्रहरी नै असुरक्षित बनेका हुन् ।

भवन पुरानो र जीर्ण भएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लाका जिल्ला प्रहरी कार्यालयका भवनमा बस्ने प्रहरी नै असुरक्षित रहेको सुदूपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआजी माधवप्रसाद नेपालले बताएका छन् । बाजुरा र बैतडी जिल्लाको जिल्ला प्रहरी कार्यालयको भवन त सामान्य भूकम्प आएमा क्षति हुन सक्ने बताएका छन् । त्योसँगै दार्चुल्ला, बझाङ, डोटीमा पुरानो भवन रहेकाले पनि समस्या रहेको डिआजी नेपालले बताए ।

बाजुरा र बैतडीका जिल्ला प्रहरी कार्यालयका भवन निकै विजोग रहेको उनले बताए । भवन जीर्ण हुँदा प्रहरी नै असुरक्षित छ, जनतालाई कसरी सेवा दिन सक्छन् भन्ने जनतामा सूचना जान्छ, अर्कोतिर भूकम्प आएको बेला अरूलाई सुरक्षा गर्नुपर्ने ठाउँमा उनीहरू आफैँ असुरक्षित रहेको डिआजी नेपालले जनाए । प्रहरी बस्ने र थुनुवा राख्नमा निकै समस्या रहेको उनले जानकारी दिए ।

पुरानो र जीर्ण भवन रहेकाले आफूहरू समेत असुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भवन अभावमा महिला थुनुवा कोठासमेत नहुँदा समस्या भएको बताइएको छ । महिला थुनुवा आएमा महिला प्रहरीसँग राख्नुपर्ने बाध्यता रहेको छ । पानी पर्दा सिधै भित्र आउने भएकाले कार्यालय व्यवस्थापन र सञ्चालनमा निकै समस्या रहेको छ । भवन अभावमा महिला सेल पनि अलगै ब्यबस्था हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय बैतडीको भवन पनि सारै जीर्ण रहेको बैतडी प्रहरी प्रमुख डिएसपी मोहन पोखरेले बताएका छन् । सामान्य पानी पर्दा पनि सिधै पानीभित्र आउने गरेको छ, प्रत्येकवर्ष प्लास्टिक छोपेर काम चलाएको उनले बताए । ५ रिक्टरको भूकम्प आए पनि भवनमा क्षति हुन सक्ने उनले बताए । उद्धारमा खटिने प्रहरी आफैँ असुरक्षित रहेको उनले बताए ।

उनीहरू जीर्ण भवनमा जोखिम रूपमा बस्ने गरेको डिएपी पोखरेलले बताए । आफूहरूको तहबाट पटकपटक भवन निर्माणका लागि पहल गरेको भए पनि निर्माण हुन नसकेको प्रहरी स्रोतले बतायो । जिल्ला प्रहरी कार्यलय बाजुरा, बैतडी, दार्चुला, बझाङ र डोटी जिल्लाका जिल्ला प्रहरी कार्यालय पुराना भवन निर्माणका लागि पटकपटक पहल भए पनि अहिलेसम्म निर्माण नभएको राजनीतिक अगुवाहरूले बताएका छन् ।

आफूहरूको तहबाट लेखेर पठाउँछौँ, अहिले पनि पठाएका छौँ, तर निर्माण हुने सम्भाबना कम हुने गरेको सुदूरपश्चिम प्रहरी प्रमुख माधवप्रसाद नेपालले बताए । प्रहरी केन्द्रीय कार्यालयबाट गृह मन्त्रालय हुँदै अर्थमन्त्रालयमा भवन निर्माणको लागि फाइल पुगे पनि अर्थ मन्त्रालयमै रोकिने नेपालले बताए ।

प्रत्येक वर्षमा अर्थमन्त्रालयबाट १० प्रतिशत मात्र बजेट बढाएर दिन्छ, यसरी बजेट निकासाले प्रहरी कार्यालय अहिलेका संरचना निर्माण गर्न १ सय १० वर्ष लाग्ने उनले बताएका छन् । रकम अभावले नै भवन निर्माण हुने नसकेको जनाए । बाजुरा र बैतडी जिल्ला प्रहरी कार्यलयको भवन निर्माणका लागि आफूले पहल गरिरहेको बताए ।

प्रतिक्रिया