खोइ राहत ?

bhojpur earthqueck1 copyभोजपुर । उत्तरी भोजपुरको खाटाम्मा–९ दुंमाका खगेन्द्र कुलुङले सरकारले भूकम्पपीडितलाई राहत दिएपछि बनाउने भनेर जीर्ण घर भत्काएको ६ महिना भएको छ । राहत पाउने आशामा जीर्ण घर भत्काएको ६ महिनादेखि नै उनको बास बाहिर छ ।

‘वर्षामास लाग्न लाग्यो न कुनै बन्दोवस्त गर्न सकियो न सरकारले नै राहत दियो आशैआशमा निस्तावास भइएला जस्तो भो’ उनले गुनासो पोखे । ‘हिउँदको चिसो यही छाप्रोमा पचाइयो अब वर्षाको पनि हालत उस्तै त हुने होला नी’ उनको चिन्ता बग्रेल्ती पोखियो ।

जिल्लामा सबैभन्दा बढी क्षति पु¥याएको दोभाने, खाटाम्मा गाविसका अधिकांश भूकम्पपीडितले राहतको आशामा जीर्ण घर मर्मतसम्भार नगरी सरकारद्वारा घोषित रकम पाएपछि नयाँ घर बनाउने सपना बोकेर घर भत्काए । घर भत्किएर छाप्रोमा बस्दै आएका अधिकांश पीडित सरकारी आश्वासनअनुसार आवास निर्माण राहतको पर्खाइमा छन् । तर भोजपुर जिल्लालाई सरकारले प्राथमिकतामा नराखेको र छाप्रा बनाउने प्रारम्भिक राहत १५ हजार रुपैयाँसमेत पाएका छैनन् । जिल्लाको सुदूरउत्तर दोभाने गाविसमा ७ सय ८० घर, खाटाम्मा गाविसमा एक सय २७ घर पूर्ण रुपमा क्षति भएकाले अधिकांश घर भत्काइसकेका छन् । तर आर्थिक अभावले भत्काइएका घर पुनःनिर्माण गर्न कठिन भएको खाटाम्मा गाविस–९ दुङ्माका भूकम्पपीडित खगेन्द्र कुलुङले बताए ।

भत्किएको घर पुनःनिर्माण गर्न नसकेपछि वर्षाद्मा पनि छाप्रोमै बस्नुपर्ने अवस्था आएको पीडित कुलुङले बताए । ‘वर्षायाम सुरु हुनै लाग्यो, अझै पनि घर पुनर्निर्माणको सुरसार छैन,’ पीडित कुलुङले सौर्य सित भने– ‘वर्षादमा पनि छाप्रोमै बस्नुपर्ने अवस्था आयो ।’ यतिबेलासम्म राहत पाउने नपाउने टुंगो नभएपछि अधिकांश गाविसका भूकम्पपीडितहरु अन्यौलमा छन् । सरकारले पूर्णरुपमा क्षतिग्रस्त घर पुनर्निर्माणको लागि दुई लाख रुपैयाँ अनुदान दिने नीति बनाएको र पुनर्निर्माण प्राधिकरण गठन गरी काम थालिसकेको सञ्चारमाध्यमबाट सुनेर आशावादी भूकम्पपीडितहरुमा निराशा छाएको छ । सरकारले अन्य जिल्लामा न्यानो लुगाको लागि दश हजार रुपैयाँका दरले राहत दिए पनि भोजपुरका भूकम्पपीडितलाई नदिएको गुनासो गरे ।

सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले गाविसमार्फत राहत वितरण गर्दा जीर्ण घर भत्काउनेलाई मात्र दुई लाख रुपैयाँ पाउने आश्वासन दिएको थियो । महाभूकम्पले भोजपुर नगरपालिका क्षेत्रमा ६ सय ४३ घर पूर्णरुपमा क्षति पु¥याएको थियो । जिल्लामा सबैभन्दा बढी घरहरु क्षति भएको भोजपुर सदरमुकाम, दोभाने, खाटाम्मालगायत विभिन्न गाविसका अधिकांश भूकम्पपीडितले जीर्ण घर भत्काइसकेका छन् । सरकारले भूकम्पपीडितलाई पूर्णरुपमा क्षतिग्रस्त घर पुनर्निर्माणको लागि दुई लाख रुपैयाँ अनुदान दिने, उपत्यकामा २५ लाख र पहाडी क्षेत्रमा १५ लाख रुपैयाँसम्म न्युन व्याज दरमा ऋण प्रवाह गर्ने घोषणा गरेको थियो । भोजपुर नगरपालिका क्षेत्रमा कतिपय भूकम्पपीडितले आप्mनो घर पूर्ण क्षतिको सूचीमा परे पनि राहत पाउने नपाउने टुंगो नभएपछि जीर्ण घर टालटुल गरेका छन् । चिम्टे माटोको कच्ची ईंट्टाले बनेका अधिकांश तीनतले घरहरु एक तला घटाएर दुईतले बनाएका छन् । भोजपुर बजारमा भूकम्पले काँक्रा चिरिएझैं फाटेका जीर्ण घरहरु टालटुल पारेर भाडामा लगाएका छन् । घर मालिकहरु भने त्यस्ता घरमा बसेका छैनन् ।

भोजपुरका भूकम्पपीडितलाई वितरण गर्न सरकारले हालसम्म ६ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसमध्ये आंशिक क्षति पुगेका घरपरिवारलाई एक करोड ६७ लाख ८५ हजार, पूर्ण क्षति पुगेकालाई तत्काल राहत स्वरुप एक करोड ८७ लाख ७० हजार, अस्थायी वासस्थानको लागि एक हजार ६ सय ४१ घरपरिवारलाई दुई करोड ४६ लाख १५ हजार रुपैंयाँ वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेले बताए । पूर्ण क्षतिग्रस्त तीन हजार ७ सय ५४ घरपरिवारमध्ये जीर्ण घर भत्काएपछि मात्रै दिने नीति भएकोले दुई हजार एक सय १३ घरपरिवारलाई अस्थायी बासस्थान निर्माणवापत उपलब्ध गराइने रकम अभैm उपलब्ध गराउन नसकेको जनाएको छ । भोजपुरमा ५ हजार ५ सय ९५ घर परिवार आंशिक र दश हजारभन्दा बढी घर सामान्य क्षति पुगेको थियो । भोजपुर जिल्ला प्रशासन कार्यालयका अनुसार महाभूकम्पले भोजपुरको ५८ गाविस, दुई नगरपालिकामा ६ हजार ३ सय १६ घर आंशिक र ३ हजार ७ सय १२ घर पूर्णरुपमा क्षति भएका थिए । यसमध्ये आंशिक क्षति पुगेकाले तीन हजार, पूर्ण रुपमा क्षति पुगेका अधिकांशले ५ हजार रुपैयाँका दरले राहत पाइसकेका छन् ।

भोजपुर नगरपालिका कार्यालयले आंशिक क्षति पुगेका एक हजार ७४ घरपरिवारमध्ये ७ सय ५८ घरपरिवार, पूर्णक्षति पुगेका ६ सय ४३ घरपरिवारमध्ये ४ सय ५२ घर परिवारले घर भत्काउने सर्तमा १५ हजार रुपैयाँ राहत पाएको जनाएको छ । जिल्ला प्रकृति प्रकोप समितिको निर्णयअनुसार पूर्णरुपमा क्षति पुगेका भूकम्पपीडितलाई अस्थायी टहरा बनाउने प्रयोजनका लागि प्रतिघरपरिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराइएको हो । भोजपुर नगरपालिकाले आंशिक क्षति पुगेका भूकम्पीडितलाई ३२ लाख २२ हजार, पूर्ण क्षति भएका घरपरिवारलाई ३२ लाख १५ हजार र अस्थायी बसोबासको लागि घर ६७ लाख ८० हजार रुपैयाँ वितरण गरेको जनाएको छ । महाभूकम्पले क्षतिग्रस्त घरहरु पुनर्निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक बनाउन भवन निर्माण आचारसंहिता पालना गर्नुपर्ने भोजपुर नगरपालिका कार्यालयले जनाएको छ । सबैभन्दा बढी क्षतिग्रस्त दोभाने गाविसका ७ सय ८० घरपरिवारलाई पूर्णक्षति भएवापत ५ हजारका दरले ३९ लाख रुपैयाँँ गाविसलाई निकासा दिइएको छ । तर अस्थायी टहरा निर्माणवापत दिइने १५ हजार रुपैयाँ घर भत्काएको महिनौ बितिसक्दा पनि ५ सय घरपरिवारलाई अस्थायी टहरा निर्माणवापत पाउने एक करोड १७ लाख रुपैयाँ घर भत्काइसके पनि रकम उपलब्ध नगराइएको भूकम्पपीडितहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया