खाडीमा होइन, झाडीमा छ पैसा

hari gaireसामाजशास्त्रमा स्नातकोत्तर उत्र्तीण गरेका हरि गैरेले करिव ३ वर्ष पहिला रुपन्देहीको मानपकडीमा ३ बिघा क्षेत्रफलमा तरकारी खेती सुरु गरे । जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका गैरेको मनमा एकदिन अनौठो कुरा खेल्यो, नेपालमा भएका केही बहुमूल्य जडिबुटीको बारेमा सुन्दै, पढ्दै आएका उनले त्यतिबेला नै सोच बनाए, ‘अब, तरकारी खेती होइन, बहुमूल्य जडीबुटीको खेती गर्छु ।’

करिब ३ वर्षदेखि गर्दै आएको तरकारी खेती चटक्क छाडेर गैरेले ०७० सालमा अन्य ३ जना लगानीकर्ताको सहयोगमा बुटवल–१४ बेलबासमा ‘ग्रीन एन्जल एग्रो एन्ड रिसर्च सेन्टर’ नामको संस्था दर्ता गरे र सोहीबाट बहुमूल्य जडिबुटीका विरुवा उत्पादनतर्फ लागे । उनी भन्छन्, ‘विभिन्न तालिमहरूमा जाँदा नेपालमा रहेका बहुमूल्य जडीबुटीको खेती गर्न सकिन्छ भन्ने सोच पलायो अनि तरकारी खेती छोडेर यसतर्फ तानिएँ ।’

‘कुराको खेती होइन, खेतीका कुरा गरौँ’ भन्ने मूल नाराको साथ स्थापना भएको त्यही रिसर्च सेन्टरले अहिले वार्षिक ३० लाख रुपैयाँ बराबरको बहुमूल्य जडीबुटी(बनस्पती)का विरुवाहरू बिक्री गर्दैै आएको छ । ०७० साल फागुन महिनामा स्थापना भएको उनीहरूको संस्थाले अहिले बहुमूल्य वनस्पतीहरू बौद्ध धर्माबलम्बीहरूले मालाको रूपमा प्रयोग गर्ने बोधिचित्त, श्रीखण्ड, अगर उड, मेकाडामियानट(जापानिज कटुस), हिन्दूहरूले मालाको रूपमा प्रयोग गर्ने रुद्राक्षका विरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छ ।

यो रिसर्चन सेन्टरमा मीनप्रसाद आत्रेय, धतानन्द भुसाल, धनप्रसाद कँडेल, हरि गैरे गरी ४ जनाको लागानी रहेको छ । संस्थाको प्रवन्ध सञ्चालकको रूपमा रहेका हरि गैरेले भने, ‘करिब २० लाख रुपैयाँ बराबरको लागानी गरेका छौँ, जसबाट वार्षिक करिब ३० लाख बराबरको कारोबार हुँदै आएको छ ।’ अहिले खासै नाफा नभएको भए पनि उनले भविष्यमा पक्कै पनि राम्रो हुने आशा राखेका छन् । संस्थाले अहिले बहुमूल्य वनस्पतीको विरुवा, बिउ बिक्री मात्र नगरी किसानहरूलाई निःशुल्क रूपमा माटो परीक्षण र माटो उपचारको लागि तालिमसमेत प्रदान गर्दै आएको छ ।

सेन्टरको लागि चाहिने आवश्यक वनस्पतीको बिउ अधिकांश नेपाल र अन्य केही मात्रामा भारतबाट आयात गर्दैै आएका छन् । गैरेका अनुसार श्रीखण्ड, रुद्राक्ष, बोधिचितका बिउ नेपालमा पाइन्छ, अन्य भने भारतबाट ल्याउनुपर्दछ । लुम्बिनी अञ्चलका सबै जिल्लाबाट विरुवाको लागि डिमान्ड आउने गरेको भन्दै उनले दाङ, सल्यान, प्युठान, धादिङ, तनहुँ,  म्याग्दी र कास्कीको पोखरासम्म पुग्ने गरेको प्रबन्धक गैरेको भनाइ छ ।

विरुवा उत्पादनको लागि सेन्टरले गुल्मी जिल्लाको हर्दिनेटा–५ लुम्छाको छापमा १२ रोपनी क्षेत्रफलमा नर्सिरीसमेत स्थापना गरेको छ । अहिले बजारमा सबैभन्दा बढी ‘बोधिचित्त’ विरुवाको माग बढी छ । यो वर्ष करिब २० हजार विरुवा उत्पादन गरेको संस्थाले गतवर्ष करिब १५ हजार विरुवा उत्पादन गरेको थियो । जुन सबै बजारमा गएको हुनाले यसवर्ष थप ५ हजार गरी २० हजार विरुवा उत्पादन गरेको सेन्टरले जनाएको छ । बोधिचित्त विरुवाको बजार मूल्य अहिले प्रति विरुवा ५ सय रुपैयाँ पर्छ भने, रुद्राक्षको ३ सय, श्रीखण्ड, रक्तचन्दन, अगरउडको ५ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

बहुमूल्य वनस्पती बोधिचित्त सामुद्रिक सतहदेखि ४ सय मिटरदेखि २ हजार मिटर उचाइसम्म खेती सकिन्छ । भने रुद्राक्ष, श्रीखण्ड, अगरउड समुद्रिक सतहदेखि २ हजार मिटर उचाइसम्म खेती गर्न सकिन्छ । यस्तै जापानिज वनस्पती  मेकाडमेनट समुद्रीसतहदेखि १३ सय मिटरभन्दा उच्च क्षेत्रमा लगाउन सकिन्छ ।

मेकाडामेटनको फल नेपालमा १ किलोको ३ हजारभन्दा माथि मूल्य छ । भने बोधिचित्तको प्रतिगोटा ३ सय ५० पर्दछ । बोद्धिचित्तको नमुना पछिल्लो समयमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र मालेपाटन–५ पोखराले उत्पादन गर्दैै आएको छ । सेन्टरले आफ्नो नर्सरीबाट वर्षमा करिब ३ सयवटा विरुवा बोधिचित्त बिक्री गर्दै आएको छ ।

सेन्टरले बुटवलमा सानो नर्सरी स्थापना गरेको छ । भाडा मासिक ९ हजार तिरेर नयाँ जग्गा ढाई बिघा जग्गा लिजमा लिएको छ । बुटवल–१४ बेलबासमा कार्यालय रहेको संस्थाले कार्यालय नजिकै जग्गा लिजमा लिएर कन्ट्याक्ट नर्सरी स्थापना गरेको छ ।

एसएलसीदेखि व्यवस्थापनमा स्नाकोत्तरसम्म अध्यायन पूरा गरेका व्यक्तिहरूले लगानी गरेका छन् । यसको अलवा रिसर्च सेन्टरले माटो परीक्षण र माटो उपचारको लागि विभिन्न सहकारीहरूसँग मिलेर तालिमसमेत प्रदान गर्र्दै आएको अध्यक्ष मिनप्रसाद आत्रेयको भनाइ छ । उनले भने, ‘हामीले निःशुल्क तालिम दिइरहेका छौँ ।’ निःशुल्क रूपमा माटो परीक्षण शिविर सञ्चालन सहभागीहरूलाई निःशुल्क तालिम प्रदान गर्दै आएको उनले जानकारी दिए ।

२१ दिनको तालिम लिनुपर्दछ । त्यसपछि उनीहरूले आफैँ माटो परीक्षण गर्न सक्छन् । यस्तो तालिमका लागि न्यूनतम एसएलसी पास गरेको हुनुपर्ने प्रावधान रहेको आत्रेयले बताए । बहुमूल्य विरुवालाई प्रमोसन गर्ने यसलाई बढाएर अगाडि बढाउने प्रबन्ध निर्देशक हरि गैरे बताउँछन् । यो वर्ष कागती, सुन्तला र जुनार थप्ने योजना रहेको छ । उनी भन्छन्, ‘बजारको माग अनुसार अन्य विरुवा पनि थप्ने योजना छ, हामीले पाल्पामा जग्गा पायौँ भने वार्षिक १ लाख विरुवा उत्पादन गर्ने योजनामा अगाडी बढेका छौँ ।’

पाल्पाको हार्थोकमा दीर्घकालीन कृषि फर्मको रूपमा नमुना नर्सरीको रूपमा स्थापना गर्ने योजना अगाडि बढाएको उनको बताए । करिव ५ वर्षपछि ‘पिकनिक  स्पट’को रूपमा विकास गर्ने योजना रहेकोसमेत उनले जानकारी दिए । केही सिक्न चाहने व्यक्तिहरूका लागि खुला पाठशालाको रूपमा विकास गर्न खोजिएको उनको भनाइ छ । ‘बोटानिकल गार्डेनको रूपमा अगाडि बढाउने योजना छ’, उनले भने ।

अहिलेसम्म कुनै किसिमको अनुदान नपाएको उनले बताए । ‘कृषि क्षेत्रमा बढी अनुदान छ तर वन क्षेत्रमा छैन,’ उनी भन्छन्, ‘हरेक क्षेत्रमा चुनौति छ ।’ उनले थपे, ‘युवाहरूले भन्ने गरेका छन्– ‘झाडीमा होइन खाडीमा पैसा छ, तर म भन्छु खाडीमा होइन झाडीमा पैसा छ, त्यहाँ बहुमूल्य जडिबुटीहरू छन्, जसले गर्दा झाडीमा पैसा फलाउन सकिन्छ ।’

प्रतिक्रिया