त्रास आणविक आतंकवादको

international mainवासिंगटन, २० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार वासिंगटनमा आयोजित एक सम्मेलनमा भने, ‘आतंकवादीहरूले आणविक आतंकवादको प्रयास गरिरहेको भन्ने बुझिन्छ, त्यसको खतरातर्फ अबको विश्वले अत्यन्तै सम्वेदनशील रूपले सोच्नुपर्ने भएको छ ।’

वासिंगटनमा गएको बुधबारदेखि आणविक विश्वलाई सुरक्षित एवं शान्त विश्व बनाउनुपर्ने विषयमा गम्भीर बहस सुरु भएको छ । त्यस सम्मेलनमा विश्वका कम्तीमा पनि ५० देशका नेता सहभागी छन् र उनीहरूले आणविक शस्त्रास्त्रले उन्माद जन्माउन खोजेको जस्तो देखिएको पछिल्लो विश्व परिवेषलाई कसरी सुरक्षित बनाउने भन्नेबारे चिन्तन गरिरहेका छन् ।

त्यस सम्मेलनमा राष्ट्रपति ओबामाले यस्तो घातक कर्मको सम्भावना देखिरहँदा यता उत्तर कोरियाले फेरि अर्काे आणविक परीक्षण गरेको समाचार विश्वव्यापी प्रचारमा आइरहेको थियो । विश्वका सञ्चारमाध्यमहरूले राष्ट्रपति ओबामाको यस संशयपूर्ण अभिव्यक्तिसँगै उत्तर कोरियाले फेरि पनि अर्काे आणविक परीक्षण गरेको भन्ने समाचारलाई उत्तिकै प्राथमिकतामा प्रचार गरिरहेका थिए ।

राष्ट्रपति ओबामाको पछिल्लो अभिव्यक्तिको पृष्ठभूमि हालैका दिनमा युरोपमा बढिरहेको आतंकवादी हमला र उत्तर कोरियाले जारी राखेको एकपछि अर्काे आणविक परीक्षण नै हो । उत्तर कोरियाले गत ६ फेब्रुअरीमा लामो दुरीको र निकै शक्तिशाली रकेट परीक्षण ग¥यो । त्यस परीक्षणका कारण दक्षिण कोरिया र जापानमा भूकम्पको धक्का नै महसुस भएको थियो ।

त्यसपश्चात विश्व समुदायले नै उत्तरको यस कार्यको निन्दा गरे र संयुक्त राष्ट्रसंघको अगुवाईमा अमेरिका, दक्षिण कोरियालगायतका देशले उत्तर कोरियाविरुद्ध नाकाबन्दी पनि लगाए । नाकाबन्दीपछि उत्तर कोरियाले झनै आफूलाई शक्तिशाली रूपमा प्रस्तुत गरिरहेको देखाएको छ । त्यसपछि पनि उसले थप ३ पटकसम्म यस्तै परीक्षण गरेको छ । यसको अन्तिम शृंखला शुक्रबारै देखिएको छ ।

त्यसैगरी गतहप्ता मात्र बेल्जियमको राजधानी ब्रसेल्समा आतंकवादको अर्काे तथा पछिल्लो शृंखला प्रदर्शित भएको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको विमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेसनमा भएको आक्रमणमा परी ३५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट्स् (आइएस) नामक एक आतंककारी समूहले सो आक्रमण गराएको थियो । युरोपमा पनि यस समूहको आतंक फैलिएकोले पनि विश्व समूदायले नै चिन्ता व्यक्त गरेको छ । आइएस जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी नागरिकको ज्यान गएको घटना दुःखद त छँदै छ, त्योभन्दा पनि युरोपमा समेत प्रवेश पाएको यस आत्मघाती कृत्यले आजसम्मको समृद्ध एवं शान्त मानिने गरेको युरोपमै अध्यारो भविश्यको कालो बादल मडारिएकोप्रति चिन्ता छाएको हो ।

यस आतंककारी संगठन इस्लामिक स्टेट्सले सन् २०१५ को जनवरी ७ मा फ्रान्सको राजधानी पेरिसमा रहेकोे ‘चार्ली एब्दो’ नामक पत्रिकामा हमला गरी प्रधानसम्पादकसहित १४ जनाको हत्या गरेको थियो । मुस्लिम धर्मका प्रवर्तक प्रोफेट मोहमम्दको कार्टुन बनाएर उनको अपमान गरेको आरोप लागाउँदै बदलास्वरूप आइएसका लडाकूले यसरी सम्पादकहरूको ज्यान लिएका थिए ।

यस घटनापछि फ्रान्सप्रति ऐक्यबद्धता जनाउन त्यसहप्ता विश्वका ४५ देशका राष्ट्रपति एवं प्रधानमन्त्री त्यहाँ पुगे र लाखाँैलाखको सहभागितामा पेरिसमा भएको शान्ति¥यालीमा भाग लिए । अमेरिकाले आतंकवादविरुद्धको हाल संसारमा जारी रहेको युद्धमा नयाँ अध्याय सुरु भएको घोषणा ग¥यो । त्यसको नेतृत्व उसले ग¥यो र पश्चिमा राष्ट्रहरूले यसलाई पछाए । तर पुनः गत नोभेम्बर १३ मा पनि आइएसको अर्को आक्रमणको सिकार बन्यो पेरिस । त्यसदिन पेरिसका विभिन्न सात ठाउँमा आइएसले हमला गरे र १ सय ३७ जनाको ज्यान लियो भने त्यसमा गोली लागेर ३ सय ५८ जना व्यक्ति नराम्ररी घाइते भए ।

युरोपकै ट्युनिसियामा सन् २०१५ मा नै राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतंककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटक र एकजना ट्युनिसियाली प्रहरीको मृत्यु भएको लगभग डेढ महिनापछि जुन २६ मा ट्युनिसियाकै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु भयो । युरोपमा त्यसयता यस्तो त्रासदीपूर्ण आक्रमण कायमै छ ।

चिन्ताको विषय त के हो भने दुई पटकको पेरिस हमलापछि त्यसको तयारी बेल्जियममा गरिएको भनेर बेल्जियममा नै लुकिछिपी बसिरहेका भनिएका आतंकवादीहरूको खोजीका लागि निकै कडा सुरक्षा व्यवस्थाको प्रचार गरिएको थियो । लाग्छ कि सारा युरोपको सुरक्षा नै ब्रसेल्समा केन्द्रित थियो । ब्रसेल्समा हालै भएको आक्रमणको २ दिन मात्र अघि पेरिस हमलाको १ जना मुख्य योजनाकारलाई पक्राउ पनि गरिएको थियो ।

त्यति कडा सुरक्षा हुँदाहुँदै पनि ब्रसेल्समा नै यसरी हमला हुनुलाई आइएसको दरिलो उपस्थितिका रूपमा विश्लेषकहरूले लिएका छन् । विश्लेषकहरूले युरोपका अरू देशहरूमा पनि आइएसको आक्रमण हुनसक्छ र अहिलेको जस्तो सुरक्षा प्रबन्धले पुग्दैन भनिरहेका छन् । उनीहरूले आतंकवादले यसरी बर्सेनि नै युरोपेली देशहरूमा जालो फिजाउनुले युरोपको भविष्यमाथि प्रश्नचिन्ह लगाइदिएको छ भनेका छन् ।

अल कायदा नामको एक आतंकवादी सञ्जालका नाइके ओसामा विन लादेन केही वर्षपहिले पाकिस्तानमा मारिए । उनको यो अन्त्यसँगै विश्वमा आतंकवादी क्रियाकलापमा कमी आउने अपेक्षा सर्वत्र गरिएको थियो । तर, परिस्थिति त्यस्तो रहेन । त्यसपछिका वर्षहरूमा पनि विश्वका विभिन्न क्षेत्रमा यो त्रासले छोडेको छैन । सन् २०१५ को आगमनसँगै विश्वमा आइएस नामको एक आतंकवादी संगठनको सन्त्रास सुरु भएको थियो । र, अहिलेसम्म नै सो त्रासले युरोपलाई सताइरहेको देखिन्छ ।

यतिखेर अमेरिकी राष्ट्रपति ओबामा र करिब हप्तादिन मात्र अघि संयुक्त राष्ट्रसंघको निशस्त्रीकरणसम्बन्धी कार्यक्रमका प्रमुखले व्यक्त गरेको आणविक आतंकवादको अर्थ यिनै आतंकवादीहरूले आणविक आक्रमण गर्ने त होइनन् भन्ने नै हो । त्यसो त अमेरिकाले यसअघिदेखि नै उत्तर कोरियालाई आतंकवादको सूचीमा राख्दै आएको छ । उत्तर कोरियाले हालै गरेको हाइड्रोजन बमको परीक्षणपछिको एक प्रतिक्रियामा उत्तर कोरियाले नै अमेरिकाको न्युयोर्कमा नै आक्रमण गर्नेसम्मको एक अत्यन्तै आवेगपूर्ण अभिव्यक्ति दिएको थियो । सायद यसैलाई उनले यस्तो आणविक आक्रमणको संज्ञा दिएको पनि हुनसक्छ ।

विश्वका सञ्चारमाध्यमका यतिखेरका समाचारका शीर्षकहरू यस्तै आतंकवादी हमला र त्यसबाट मानिस मारिएका तथा उत्तर कोरियाले गर्ने गरेका आणविक परीक्षणहरू धेरै मात्रामा बन्ने गरेका छन् । त्यसैले एकातर्फ आतंकवादी हमला गरी कैयौँ नागरिकको हत्या गर्ने र अर्कातर्फ आणविक हमलालाई उत्तर कोरियाले निरन्तरता दिइरहनाले विश्वमा एकै पटक यो चासो र चिन्ता बढाएको छ ।

यस्तो अवस्थामा यसरी आणविक परीक्षणजस्तो कार्य हल्का भइदिँदा अहिलेसम्म हतियारले मानवहत्या गरिरहेका आतंकवादीहरूले नरसंहारका लागि परमाणुको प्रयोग गरिदिए भने के होला ? यसले निम्त्याउन सक्ने अनिष्टलाई अहिले नै आँकलन गरेर अघि बढ्दा राम्रो होला भन्ने आसयका अभिव्यक्तिहरू विश्वव्यापी नै आइरहेका छन् । त्यसैले यदि यो सम्भव छ भने पनि असम्भव तुल्याउने पक्षमा विश्वका शान्तिप्रेमी नागरिक र देशहरू लाग्नु र जाग्नु आवश्यक छ । हतियारकै आतंकले सताइरहेको यो विश्वलाई अब अर्काे कुनै पनि आणविक नामको ज्यादतिले छुन नपाओस् ।

प्रतिक्रिया