संक्षेप

‘मिलेर अगाडि बढौँ’
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले सबैको अधिकार सुरक्षित हुनेगरी अहिलेकै संविधानमार्फत देश विकासमा लाग्नुपर्ने बताएका छन् । उनले मधेसी, पहाडी र हिमाली सबै आपसमा मिलेर अघि बढ्नुपर्ने सुझाए ।

मधेसवादीले आफ्नो अधिकार माग्दा उनीहरूलाई सरकारले दबाउन नहुने भन्दै उनले मागकर्ताले पनि शान्तिपूर्ण तरिका अपनाउनुपर्ने बताए । उनले मधेसवादीले सीमानाबाट ढुंगा प्रहार गर्नु र सरकारले पनि उनीहरूको कुरा सुन्नुको साटो दमन गर्नु दुवै गलत भएको बताए । (सौस)

फर्किए प्रधानसेनापति
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री जनवादी गणतन्त्र चीनको साताव्यापी औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । चिनियाँ जनमुक्ति सेनाका प्रधानसेनापति फाङ फेनघुईको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री सप्ताहव्यापी भ्रमणको लागि १४ चैतमा त्यसतर्फ प्रस्थान गरेका थिए । चीन भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले आफ्ना समकक्षीका अतिरिक्त अन्य चिनियाँ सुरक्षा अधिकारीसँग भेटवार्ता गरेका थिए । (सौस)

‘काम सन्तोषजनक छैन’
काठमाडौं । राप्रपा नेपालले जनतालाई राहत दिन सरकारको काम सन्तोषजनक नभएको ठहर गरेको छ । वीरगञ्जमा ३ दिनसम्म चलेको केन्द्रीय समिति बैठकको समापनमा अध्यक्ष कमल थापाले सरकारको काम सन्तोषजनक नभएको बताएका हुन् ।
बैठक समापनपछि उनले भनेका छन्, ‘सरकारको काम सन्तोषजनक छैन । जनतलाई राहत दिने प्रभावकारी कदम तत्काल चाल्न आग्रह गर्दछौँ ।’ उनले सरकारमा पार्टीको सजगतापूर्ण सहभागितालाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएका छन् ।
बैठकले हिन्दुत्वबारे जनचेतना बढाउन, संगठित धर्मपरिवर्तन निरुत्साहित गर्न र धार्मिक अन्धविश्वास हटाउन देशभर सभा गर्ने निर्णय पनि गरेको छ । थापाले राप्रपासँगको एकीकरणलाई उच्च प्राथमिकता दिइने पनि निर्णय गरेको उनले जानकारी दिए । (सौस)

प्रतिक्रिया