गल्दै आन्दोलकारी म्यानपावर व्यवसायी

काठमाडौं, १७ चैत । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम आंशिक रूपमा फिर्ता लिएको छ । व्यवसायीकोे आन्दोलमा व्यवसायीहरू नै २ धारमा विभाजन आएपछि बाध्य भएर आन्दोलन फिर्ता लिइएको बताइएको छ । २ सातादेखि प्रहरीले छापा मारेको भन्दै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

एक धारका व्यवसायीले कानुन मिचेर कारबाही गर्ने व्यवसायीको पक्षमा आफूहरू लाग्न नसक्ने भन्दै संघको विरुद्ध श्रमग्राम ताहाचलबाट अन्तिम श्रम स्वीकृति लिएका थिए । श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले पनि नियम संगत सम्बन्धित निकायलाई दिएको कानुनमा रहेर म्यानपावरमा छापा मार्न पाउने भन्दै प्रहरीले गरेको उक्त कार्यलाई समर्थन गरेका थिए ।

वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्याको विषयमा श्रम तथा रोजगार मन्त्रालयले संघलाई छलफलमा बोलाएको थियो । आन्दोलन कमजोर भइसकेको समयमा मन्त्रालयबाट वार्ता समिति गठन गर्न पत्र आएको भन्दै व्यवसायी आन्दोलबाट पछाडि हटेका छन् ।

डेड दर्जन म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेको विरोधमा संघको आह्वानमा गत फागुन २२ गतेदेखि म्यानपावर कम्पनीहरूले कामदारहरूको पूर्व तथा अन्तिम श्रम स्वीकृति लिने काम बन्द गरेका थिए ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वार्तामार्फत समस्याको समाधान गर्ने श्रम तथा रोजगार मन्त्रालयको पत्रलाई सकारात्मक रूपमा लिई अन्तिम श्रम स्वीकृति लिने काम खुला गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

संघका अध्यक्ष विमल ढकालले श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाइ वार्ता समिति नै गठन गरेकाले आफूहरूले केही दिनका लागि अन्तिम श्रम स्वीकृति लिने कार्य खुला गर्ने निर्णय गरेको बताए ।

संघले अन्तिम श्रम स्वीकृत नलिन व्यवसायीलाई दिएको निर्देशनको विरुद्धमा रहेका केही व्यवसायीले आन्दोलकै समयमा पनि अन्तिम श्रम स्वीकृत लिएका छन् । संघको यो निर्णयसँगै भिसा प्राप्त गरेर विदेश जानबाट रोकिएका करिब १५ हजार कामदारलाई रोजगारीका लागि विदेश जाने बाटो खुलेको छ । संघले पूर्व स्वीकृति लिने काम बन्द गर्ने निर्णय भने फिर्ता लिएको छैन । अध्यक्ष ढकालले सरकारी वार्ता टोलीसँग हुने वार्ताका आधारमा पूर्व स्वीकृतिका बारेमा निर्णय लिइने बताए ।

प्रतिक्रिया