क्यान्भासमा प्रकृति र संस्कृति

Kf|s[lt / ;+:s[lt ptfb{} snfsf/ lrtjg d+unk'/sf] 1fg]Zj/l:yt gf/fo0fL gbL lsgf/df lrq sf]b{} snfsf/ .  tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/, lrtjg, /f;;

सौराहा आएका विदेशी पर्यटकलाई नेपाली संस्कृति उनिएका चित्रहरूमा लोभ्याउँदै आएका डी (दामोदर) बराल योपटक फरक क्षेत्र नारायणी नदी किनार पुगे । छेउका विपन्न परिवारका घरहरूमा उनको मन टक्क अडियो । विपन्न परिवारको गाउँलाई क्यान्भासमा दुरुस्तै पारे उनले । सोमबार एक्रेलिक रङमा ब्रस चोपेर तराईका सुन्दर घरका आकृतिलाई क्यान्भास ढाले । खरले छाएको घर, नजिकै परालको टौवा, घरमाथिको छानोमा चढेका तरकारीका लहराले सुन्दर गाउँको आकृतिलाई चित्रमा उतारे । ‘जे देख्यो, जस्तो आकृतिसँग रमायो त्यस्तै कला बन्छ,’ बरालले ब्रस क्यान्भासमा लगाउँदै भने, ‘यहाँ आउँदा विपन्नका घरहरू देखेँ । त्यसैलाई कल्पना गरेर कोरेँ ।’

छेवैमा थिए अर्का कलाकार योगेश खनाल । कलकल बगेको वास्तविक नारायणी नदी क्यान्भासमा उतार्दै थिए भने सँगै रहेका लालकाजी लामा फक्रिएको वसन्त ऋतुलाई पछ्याउँदै थिए । पश्चिम चितवनको मंगलपुरस्थित ज्ञानेश्वर वन क्षेत्र आफैँमा सुन्दर र प्राकृतिक छटाले भिरएको पर्यटकीय क्षेत्र हो । दैनिक सयौँ आन्तरिक पर्यटक रमाउन पुग्छन् यहाँ । लहरै क्यान्भासमा चित्र कोर्न कलाकार व्यस्त हुँदा वरिपरि नारायणी किनारमा युवायुवती प्रकृतिसँग रमाउँदै थिए ।

केही वनभोजमा शुभकामना साट्दै थिए भने केही सांगीतिक कार्यक्रममा झुम्दै । तर १६ जना कलाकार एकाग्र भएर यहाँका प्रकृति र संस्कृति उतार्दै थिए । चितवनको रामपुर घर भएका लालकाजी लामा त्रिभुवन विश्वविद्यालयमा पढाउने कलाकार हुन् । वसन्तको पालुवाले भिरएको क्यान्भास हेर्दै लोभलाग्दो थियो । ‘यतिखेर सबै रुख रमाइलो हुन्छ, कुनैको पात झर्दै त कुनैमा पलाउँदै, त्यही स्थानीय वातावरणबाट प्रभावित भएँ’, चित्रबारे लालकाजीले भने ।

यो समयमा रुखका पात झर्ने र पलाउने प्रक्रियालाई देखाउन खोजेको उनले बताए । ललितकलामै स्नातकोत्तर गरेर प्राध्यापक भएका लामाको सानैदेखिको सोख चित्रकला हो । मूर्तिमा उनले स्नातक गरेका छन् । पूर्व इटहरीमा मूर्ति कार्यशालामा ढुंगाले थिचेको हात राम्ररी निको भएको छैन । औँला देखाउँदै उनले भने, ‘चोटले रोक्दैन ।’

बिम्ब कविका नामले परिचित छन् चित्रकार रमेश श्रेष्ठ । उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागका प्रमुख हुन् । उनकै नेतृत्वमा मध्यक्षेत्रका १६ जना कलाकार कला कार्यशालाका लागि सोमबार नारायणी नदी आइपुगेका थिए । प्रशव पीडालाई आधुनिक चित्रमा उतार्दै उनले भने, ‘यसरी मोफसलमा कार्यशाला गर्दा एकापसका कलाले खारिने मौका पाउँछ । सँगै बसेर काम गर्दा रमाइलो पनि हुन्छ ।’ कला खारिने र स्थानीय संस्कृति एवं प्रकृतिलाई चिनाउन सहयोग गर्ने भएकाले जिल्ला जिल्लामा कार्यशाला गर्ने गरिएको श्रेष्ठ उल्लेख गर्छन् ।

छेउमै छिन् गुल्मीकी सुमित्रा राना । कञ्चन पानीमा माछा खेल्दै गरेको अर्धमूर्त आकृतिमा रमाउँदै छिन् । माछा जसरी रंगीचंगी हुन्छन्, एकापसमा सद्भाव बाँड्छन् र स्वतन्त्र छन्, त्यस्तै अब संविधान बनेपछि नेपाल पनि शान्ति र स्वतन्त्र हुनुपर्छ भन्ने सन्देश दिन खोजेको सुमित्राले बताइन् । सधैँ बालुवामा चित्र कोर्ने प्रकाश थापा (प्रथा) यसपालि नजिकै रहेको सिसौको बोट र छेउछाउका प्रकृतिमा मन डुलाए । उनले त्यही उतारे ।

कला कोर्दै कपाल फुलाएका नवलपरासीका मन गोल्डीले नारायणीमा डुम्दै गरेको घाम दुरुस्त पारे । भैरहवाका शैलेन्द्र गुरुङ, बुटवलका विक्रम तरामुले पनि संस्कृति र प्रकृतिमा रमाउँदै चित्र कोरे । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागको आयोजनामा सोमबार यहाँ भएको कला कार्यशालामा मध्यक्षेत्रका १६ जना कलाकार भेला भएर स्थानीय प्रकृतिसँग रमाउँदै चित्र उतारे ।

चित्रकला विभागका प्रमुख रमेश श्रेष्ठ कलाकारका लागि मोफसल कला विद्यालय हो भन्छन् । उनी भन्छन्, ‘कलाको अभिव्यक्त प्रतिस्पर्धा हुन्छ, एउटाले गरेको काम अर्काेले हेर्दा सिक्ने र सिकाउने काम हुन्छ ।’

त्यसले खारिने र कला माझिने, नेपाली संस्कृतिलाई उत्कृष्ट रूपमा पस्कन सकिने हुँदा ठाउँठाउँमा कार्यशाला गर्दै आएको श्रेष्ठ बताउँछन् । यो वर्ष देशव्यापी रूपमा ९ वटा कार्यशालाको तयारी गरिएको छ । चितवनमा यो दोस्रो हो । यसअघि कास्कीमा पहिलो सम्पन्न भइसक्यो । आगामी वैशाखमा पूर्वी नेपालमा कार्यशाला गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया