सुरक्षा परिषदद्वारा लाहोर आक्रमणको निन्दा

जेनेभा । पूर्वी पाकिस्तानमा गएको आइतबार भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सोमबार कडा शब्दमा निन्दा गरेको छ । सुरक्षा परिषद्द्वारा जारी एक प्रेस विज्ञप्तिमा पाकिस्तानको लाहोरमा गरिएको सो आतंकवादी हमलामा परी ज्यान जाने व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरिएको छ ।

पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक सार्वजनिक पार्कमा भएको यस आत्मघाती आक्रमणमा परी ७२ जनाको मृत्यु भएको छ । साथै सो हमलामा परी अरू करिब ३ सय जना घाइते भएका छन् । परिषदद्वारा जारी विज्ञप्तिमा यस आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

आइतबार साँझ सार्वजनिक पार्कमा बिदा मनाउन गएका बालबालिका र निर्दोष नागरिक गरी ७२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सयभन्दा बढी घाइते भएको यस घटनाको जिम्मेवारी पाकिस्तानी तालिवानसँग सम्बन्धित १ आतंककारी समूह जमात उल अहरारले लिएको छ ।

सो आक्रमण आफूहरूले गराएको सो समूहले आइतबारै अबेर राती जानकारी दिएको थियो । त्यस समूहले पाकिस्तानमा रहेका अल्पसंख्यक क्रिश्चियन समुदायलाई लक्ष्य गरेर गरेको बताएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले त्यस आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् । उनले पाकिस्तानी जनताको सुरक्षाका लागि कुनै पनि हालतमा पाकिस्तानी भूमिमा हुने आतंकवादी क्रियाकलापको अन्त्य गरिने बताए । (एजेन्सी)

प्रतिक्रिया