चीनसँगको सम्झौता ऐतिहासिक : एमाले

uml_officeकाठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमण क्रममा नेपाल चीनबीच भएका सम्झौता र समझदारी ऐतिहासिक भएको एमालेले निश्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार दिउँसो बसेको स्थायी समिति बैठकले २ देशबीच भएको सम्झौता र समझदारी नेपालको वैदेशिक सम्बन्धमा ऐतिहासिक फड्को रहेको निश्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा भएका दुईपक्षीय समझदारी र नेपालसँगको सम्बन्धलाई चीनले दिएको विशेष महत्वका वारेमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले चीनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेट औपचारिकतामा मात्रै सीमित नरहेर चीनियाँ कम्युनिस्ट पार्टी र एमाले पार्टीको अध्यक्षका हैसियतमा समेत गम्भीरतापूर्वक छलफल भएको बताएका थिए । प्रधानमन्त्री ओलीले चीन भ्रमण उपलब्धीपूर्ण रहेको वताउँदै भ्रमण क्रममा चीनले नेपाली टोलीलाई उच्च सम्मान र विशेष महत्व दिएको बैठकसमक्ष ब्रिफिङ गरेका थिए । ‘२ देशबीचको सम्बन्धलाई उचाइमा पु¥याउन भ्रमण उपलब्धीपूर्ण भएको छ’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘त्यसबीचमा भएका वार्ता र छलफलहरूमा चीनियाँपक्ष गम्भीरतापूर्वक प्रस्तुत भयो र नेपाललाई उच्च महत्व दिएको मैले महसुस गरेको छु ।’

चीन र नेपालबीच भएको पारवहन सम्झौता नेपालको कूटनीतिक र वैदेशिक सम्बन्धमा नयाँ फड्को रहेको बैठकको निश्कर्ष रहेको छ । ‘प्रधानमन्त्रीको चीन भ्रमण दीर्घकालीन महत्वको रहेको छ’ स्थायी समिति सदस्य शंकर पोखरेलले भने, ‘बैठकले चीनसँग भएका सम्झौता ऐतिहासिक रहेको समीक्षा गरेको छ ।’

बैठकमा नेताहरूले चीनसँग भएका सम्झौताले भूराजनीतिमा दीर्घकालीन रूपमा पार्ने प्रभाववारे प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । स्थायी समितिको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । बुधबारको बैठकमा पार्टीका विभाग र सल्लाहकार परिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया