३२ करोड बराबरको लागुऔषध बरामद

Drugs_Smugglingकाठमाडौं, १५ चैत । काठमाडौंका २ स्थानबाट ३२ करोड मूल्य बराबरको लागूऔषध बरामद गरेको प्रहरीले कारोबारमा संलग्न २ विदेशी महिलासहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध कोकिन र मेथाफेटामाइनसहित फरकफरक स्थानबाट ३ पुरुष र २ विदेशी महिलालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । प्रहरीले ५४ किलोग्राम मेथाफेटामाइन अस्ट्रेलिया पठाएको अभियोगमा ३ जनालाई ठमेलबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

लागुऔषध अस्ट्रेलिया पठाउने क्रममा पक्राउपर्नेहरूमा नीलोपुल काठमाडौंका मनिष श्रेष्ठ, धादिङ घर भई काठमाडौंकै ठमेलका पर्यटन व्यवसायी विक्रम लामिछाने र नुवाकोट दाङसिङका होमबहादुर तामाङ रहेका छन् । उनीहरूलाई अदालतबाट म्याद थप गरी प्रहरीले कारबाही अघि बढाएको छ । यसअघि चीनको व्वान्झाउबाट समुद्री मार्ग हुँदै गत जनवरीमा अस्ट्रेलियाको ब्रिसबेनमा घर सजावटका सामान भनी झुक्याएर पठाएका सामान लिन पुगेका अस्ट्रेलियन नागरिक रेमोन्ड जोन मार्सडेन र नेपाली नागरिक भूपेन्द्र तामाङलाई ५४ किलो मेथाफेटामाइनसहित प्रहरीले पक्राउ गरेको थियो । यो घटनाबारे नेपाल प्रहरीले अस्ट्रेलियन प्रहरीसँग मिलेर अनुसन्धान अघि बढाइरहेको छ ।

त्यसैगरी क्षेत्रपाटीबाट ५ करोड ४० लाख मूल्य बराबरको लागुऔषध कोकिनसहित २ विदेशी महिला पनि पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सोमबार बिहान ४ वटा स्याम्पुको बट्टाभित्र लुकाएको अवस्थामा २ लिटर ७ सय २२ मिलि लिटर कोकिन बरामद गरेको हो । पक्राउपर्नेमा दक्षिण अफ्रिकी नागरिक एम पाथोनी म्यास्ने र भारतीय नागरिक मर्सी रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दले उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिए । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरेर दुबैजनालाई लागुऔषधसहित सार्वजनिक गरेको छ । कोकिनलाई झोलमा परिणत गरी स्याम्पुको बट्टामा राखेर ओसारपसार गरिएको यो नेपालको पहिलो घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया