‘भाग्यले बाँचेकाहरू’ लाई अर्को अवार्ड

bhajyale bachekaharuकाठमाडौं, १२ चैत । भूकम्पको कथालाई बटुलेर बनाइएको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ले भारतमा अर्को अवार्ड जित्न सफल भएको छ । विभिन्न देशका १ सय २५ वटा फिल्मको प्रतिस्पर्धामा यस वृत्तचित्रले उत्कृष्ट अवार्ड जितेको हो ।

भारतको मुम्बई नजिकै नाशिक सहरमा भएको आठौँ नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरू ‘नेपाल अर्थक्वेक : हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र अवार्ड जित्न सफल भएको हो । वृत्तचित्रका निर्देशक गणेश पाण्डेले नेपालबाट महोत्सवमा भाग लिएका थिए । भारतमा समेत लगातार अवार्ड जित्दा निकै खुसी मिलेको उनले बताए । उनका अनुसार, भाग्यले बाँचेकाहरूको यो पाँचौँ अन्तर्राष्ट्रिय अवार्ड हो । बितेको ३ महिनामा ३१ वटाभन्दा बढी चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरू’ प्रतिस्पर्धाका लागि छनोट भइसकेको छ ।

यसअघि काठमाडौंमा सम्पन्न काठमाडौं पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरू’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ २ वटा अवार्ड जितेको थियो भने भारतको राजधानी नयाँदिल्लीमा फेब्रुअरीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्ड जितेको थियो ।

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरूको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरू’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् । यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए ।

शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायांकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि वैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रूपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।

प्रतिक्रिया