संसदीय दलमा पनि पौडेल र देउवा

काठमाडौं, ११ चैत । कांग्रेस संसदीय दलको नेतामा पनि रामचन्द्र पौडेल र शेरबहादुर देउवाको भिडन्त हुने भएको छ । पुरानो संस्थापनले दलको नेतामा पौडेललाई उम्मेदवार बनाएको र देउवा पक्षले पनि पुरानै परम्पराको हवाला दिँदै सो पद नछाड्ने भएपछि यी २ को भिडन्त हुने भएको हो ।

पौडेललाई नेता बनाएर पार्टीभित्र एकताको सन्देश प्रवाह गर्न र गुटको अन्त्य गर्न कांग्रेसका केही नेताले देउवालाई आग्रह गरेका छन् । यहीक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता रामशरण महतले बिहीबार देउवा निवास गएर भेटेका थिए । दलको नेताका लागि पार्टीको निर्वाचन समितिले निर्वाचन कार्यक्रम तय नगरे पनि दलको नेतामा पौडेलले आफूलाई बनाउन देउवालाई आग्रह गरेका थिए ।

भेटवार्ताका क्रममा सिंह र महतले सभापति देउवासमक्ष पौडेललाई पार्टी सभापतिको निर्वाचन पूर्व गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका थिए । उनीहरूले पार्टीमा भावनात्मक एकताको सन्देश प्रवाह गर्न सहमतिकै आधारमा नेता पौडेललाई दलको नेता बनाउन देउवासमक्ष प्रस्तावसमेत गरेका थिए ।

‘तपाईंका लागि सभापति निर्वाचितपछि पार्टीलाई एकताबद्ध बनाउँदै मिलाएर लैजाने वचनको व्यवहारमा कार्यान्वयन गर्ने यो नै पहिलो अवसर हो,’ नेताद्वयले देउवासँग राखेको भनाई उद्धृत गर्दै देउवा निकट एक नेताले भने, ‘सभापति तपाईं भएपछि दलको नेता पौडेललाई बनाउँदा बाहिर कार्यकर्तामाझ सकरात्मक सन्देश जान्छ ।’

अहिलेको अवस्थामा मुलुकमा विद्यमान राजनीतिक चुनौतिको सामना गर्न पनि पार्टीभित्र एकताको आवश्यकता रहेको उनीहरूले औँल्याएका थिए ।

जवाफमा देउवाले आफूले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने आश्वासन दिँदै दलको नेता चयनको विषयमा पार्टीभित्र सबै पक्षसँग छलफल र सल्लाह गरी उपयुक्त समयमा निर्णय गर्ने बताए ।

सभापति देउवालाई भेट्न जानुपूर्व पौडेलले महामन्त्री शशांक कोइरालालगायत सिंह र महतसँग छलफल गरी सहमतिका लागि देउवासँग प्रस्ताव अगाडि बढाउन आग्रह गरेका थिए । पूर्वसभापति सुशील कोइरालाको माघ २५ गते निधन भएपछि कांग्रेस संसदीय दलको नेताविहिन छ ।

फागुन २४ गते सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा पौडेललाई पराजित गर्दै सभापतिमा देउवा निर्वाचित भएका थिए । त्यसपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरेसहितको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

‘समिति गठन लगत्तै होली मनाउन सांसदहरू जिल्लामा रहेकोले दलको निर्वाचनको कार्यतालिका शनिबार वा आइतबारसम्ममा तय गरी चैत २३ वा २४ मा दलको नेता र संसदीय समितिको चयन यही महिना भित्र गरिसक्छौँ,’ निर्वाचन समिति संयोजक रिजालले भने ।

अधिवेशनको परिणामबाट उत्साहित देउवा पक्षले दलको नेतामा विगतकै परम्परा अनुसार गरेर पार्टीलाई संसदभित्र र बाहिर सशक्त बनाउनुपर्ने आफ्नो तयारी अगाडि बढाइरहेको बताइएको छ । सभापतिमा पराजित पौडेल भने पार्टीमा भागवण्डाको राजनीति अन्त्य गर्न दलको नेता आपैmँले पाउनुपर्ने धारणा बनाई आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरूलाई पार्टीभित्र वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् ।

दलको नेता बन्न पौडेलले देखाएको चाहना विपरीत कांग्रेस नेता शेखर कोइरालाले अहिलेको परिस्थितिमा दलको नेतामा पनि देउवाको स्थिति बलियो रहेको विश्लेषण गर्दै पौडेललाई पटकपटक पराजित हुने खेलमा नलाग्न सुझाएका थिए ।

अर्कोतर्फ आगामी दिनमा संसदीय दलभित्र पनि असन्तुष्ट पक्षको नेताको रूपमा स्थापित हुनसक्ने अवस्थालाई ध्यान दिँदै पूर्वमहामन्त्री सिंह र महत दुबैले आफू प्रतिस्पर्धाका लागि आन्तरिक तयारी गरिरहेका छन् । यसैक्रममा पौडेलले केही दिन अघि देउवा निकट पार्टी नेता विमलेन्द्र निधिसँग पार्टीभित्र एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न प्रस्ताव राखेका थिए । तर, निधिले पार्टी महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निवाचनमा जानुपूर्व सहमतिका लागि पौडेल तयार नबन्दा दलको नेतामा देउवाले छाड्न नसक्ने अवस्थाबारे अवगत गराएका थिए ।

पार्टीका साथीहरूसँग छलफल गरी अगाडि बढ्ने धारणा देउवाले पौडलसमक्ष राखे पनि अहिलेको अवस्थामा दलको नेता बन्न देउवाले आफ्नो आन्तरिक तयारीलाई तीव्रता दिइरहेका छन् । दोस्रो संविधानसभा निर्वाचन लगत्तै ०७० माघमा भएको दलको नेताको निर्वाचनमा तत्कालिन सभापति सुशील कोइरालासँग १६ मतले पराजित भए पनि पार्टी सभापति बनेपछि सुविधाजनक बहुमतको स्थितिमा रहेको देउवाको बुझाइ छ ।

पार्टीले कारबाही फुकुवा गरेपछि महासमिति सदस्य बनेका स्वतन्त्र सांसद अतहरकमाल मुसलमानसहित संसदमा कांग्रेसका २ सय ७ सदस्य रहेका छन् ।

प्रतिक्रिया