हस्तकलाको निर्यात घट्यो

main copyकाठमाडौं, ८ चैत । भूकम्प र नाकाबन्दीका कारण नेपाली हस्तकलाको निर्यात घटेको छ । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार आव ०७०÷७१ मा ५ अर्ब ३ करोड ५९ लाख रुपैयाँको सामान विदेश निर्यात भएकोमा आव ०७१÷७२ मा ४ अर्ब ७८ करोड ५४ लाख ७६ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । महासंघका अध्यक्ष धर्मराज शाक्यले भूकम्प गएपछि महिनौँसम्म काम ठप्प रहेका कारण व्यापारमा घाटा बेहोर्नुपरेको बताए ।

यो आवको सुरुको ४ महिनामा १ अर्ब ६२ करोड ३० लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ । महासंघले रेसाजन्य र रेसाजन्यबाहेकका २५ प्रकारका हस्तकलाका वस्तु विदेशमा निर्यात गर्दै आएको छ । पस्मिना, उनी, रेसम, गाजा, अल्लो, ढाका, चाँदीका गरगहना, धातुकला, हातेकागज, काष्ठकला, सेरामिक, छालाजन्य, धूप, प्लास्टिक, पोतेजन्य, प्रस्तरकला, बाँसका वस्तु निर्यात गरिँदै आएको छ ।

स्थापनाकालमा नेपाल हस्तकला उद्योग संघमा दर्ता भएको सो संस्था ०६३ सालपछि नेपाल हस्तकला महासंघमा परिणत भएको हो । उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा हुने गर्छ । यस्तै उपत्यका बाहिर बागलुङ, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा र तनहुँमा हुने गरेको बताइएको छ ।

महासंघअन्तर्गत जिल्ला हस्तकला संघ र वस्तुकला उत्पादक संघ रहेका छन् । वस्तुकलामा उनी, काष्ठकला, पश्मिना, छालाजुत्तालगायत छन् । महासंघका महानिर्देशक डा. गोविन्दप्रसाद रेग्मी भूकम्पले हस्तकला उत्पादन गर्ने स्थान भत्काएका कारण उत्पादनमा कमी आएको बताउँछन् । ‘मधेस आन्दोलन र नाकाबन्दीका कारण सहजरुपमा सामान पाउन नसक्दा उत्पादन गर्न सकिएन’, उनले भने । महासंघले हाल भारत, चीन, अमेरिका र युरोपका ७० भन्दाबढी मुलुकमा नेपाली हस्तकला निर्यात गर्दै आएको छ ।

महासंघले आगामी वैशाख १३ देखि २७ गतेसम्म वाणिज्य मन्त्रालयको सहयोगमा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ हस्तकला प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनीमा २ सय भन्दाबढी स्टल राखिने महासंघले जनाएको छ ।

प्रदर्शनीमा बंगलादेश, भुटान, पाकिस्तान, भारत, श्रीलंकाका २५ प्रतिशत तथा नेपालबाट ७५ प्रतिशत हस्तकला सामग्री बिक्रीवितरणका लागि राखिनेछन् ।

प्रतिक्रिया