काठमाडौं, ७ चैत । आगामी १७ वैशाखमा नेपाली कथानक चलचित्र ‘जंगे’को प्रदर्शन हुने भएको छ । नायिका ऋचा शर्मालाई हट अवतारमा देखाउँदै प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।
उत्कल थापाको निर्देशनमा तयार भएको यो चलचित्रको निर्माता सुसन प्रजापति रहेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार सुरज सिंह ठकुरी, ऋचा शर्मा, शिखा शाहीको उपस्थिति रहेको थियो । चलचित्रमा नरेश पौडेल, सुशीलराज पाण्डे, ज्योती कार्कीलगायत कलाकारलाई पनि देख्न सकिने निर्माण टोलीले जनाएको छ ।
काठमाडौंको बिग मुभिजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्ट्रेलियाबाट भिडियोमार्फत सम्बोधन गर्दै निर्देशक थापाले भने, ‘जंगबहादुर राणाको जीवनीलाई आधुनिकतामा उतार्ने प्रयास गरेका छौँ ।’ चलचित्रको शीर्ष भूमिकामा देखिएका कलाकार सुरज सिंह ठकुरीले ‘जंगे’लाई नौलो प्रयास भनेका छन् । चलचित्रले पैसा असुल्ने उनको भनाइ थियो ।
नायिका ऋचा शर्माले चलचित्र बनाउँदा दुःख गरेको भन्दै दर्शकले मन पराइदिने विश्वास व्यक्त गरिन् । चलचित्रका निर्माता तथा छायांकार सुसन प्रजापतिका अनुसार यो चलचित्र पूर्णरूपमा व्यावसायिक बनेको छ ।
प्रतिक्रिया