‘मोबाइल एप्स’बाटै स्वास्थ्यसम्बन्धी जानकारी

काठमाडौं, ६ चैत । अब स्वास्थ्यसम्बन्धी जानकारी लिन ‘मोबाइल एप्स’ प्रयोग गर्नेका लागि सजिलो भएको छ । सरकारले स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डाक्टर डटकम अनलाइन र मोबाइल एप्स’को विकास गरेपछि सजिलो भएको हो । उत्कृष्ट मिडिया क्रियशनद्वारा शनिबारबाट सञ्चालनमा ल्याइएको उक्त अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सार्वजनिक गरेका छन् ।

सञ्चारमन्त्री राईले संविधान निर्माणपछि सूचनाको विकासलाई अधिकतम प्रयोग गरी आर्थिक विकास गर्नुपर्ने भन्दै पारदर्शिता, जवाफदेहिता र सुशासनको बारेमा सबैलाई ध्यानाकृष्ट भएको बेला यो अनलाइन र एप्स उपयोगी हुने बताएका छन् । उनले सूचनाको पहुँच आमनागरिकसमक्ष अझै पुग्न नसकेको स्वीकार्दै यसको गुणस्तरमा सुधार ल्याउन सञ्चार मन्त्रालय लागिपरेको बताए । राईले नेपालको अनलाइन मिडियामा ठूलो विकृति देखापरेको भन्दै मन्त्रालयले यस्ता विकृति रोक्न अनलाइन निर्देशिका बनाउन लागेकोसमेत जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोेहनीले महत्वपूर्ण समयमा यो एप्स सार्वजनिक भएको बताएका छन् । उनले विपद्को बेला यो एप्सले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल चिकित्सक संघका अध्यक्ष डा.अञ्जनीकुमार झाले नेपालको स्वास्थ्य क्षेत्रको विकासलाई अगाडि लैजान यो एप्सले ठूलो भूमिका खेल्ने धारणा राखेका छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भगवान अशोदत्त बज्राचार्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल, नेपाल औषधी उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठलगायतले अहिलेको नयाँ युगका लागि नयाँ थालनी भएको बताए । क्रियशनका महाप्रबन्धक मधुसुदन ढकालले यो एप्सबाट देशभरका सम्पूर्ण अस्पताल, डाक्टरको सूची, स्वास्थ्यसम्बन्धी अस्पतालको सेवा, डाक्टरको समय, फार्मेसीको जानकारी, एम्बुलेन्स, क्लिनिक, रक्तदान र रोगका विवरण थाहा पाउन सकिने जानकारी दिए ।

प्रतिक्रिया