मोर्चा अब ‘जनआन्दोलन’ गर्ने

Madhesi-morchaकाठमाडौं, ६ चैत । संयुक्त मधेसी मोर्चाले आइतबारबाट फेरि आन्दोलनको सुरुआत गरेको छ । आइतबार काठमाडौंमा प्रदर्शन गर्दै मोर्चाले अबको आन्दोलनलाई राष्ट्रिय आन्दोलनको स्वरुप दिँदै जनआन्दोलनमा परिणत गर्ने घोषणा गरेको छ ।

लगातार छ महिना आन्दोलन गरेर एक महिनादेखि विश्राममा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतबारबाट राष्ट्रिय आन्दोलनको घोषणा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जान लागेको पूर्वसन्ध्यामा मधेशी मोर्चासहित अन्य आदिवासी जनजातिका १५ दल आइतबारको विरोध प्रदर्शनमा सहभागी थिए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अगुवाईमा शान्तिवाटीकादेखि माइतीघर मन्डलासम्म विरोध प्रदर्शन गरिएको थियो ।

‘आजबाट राष्ट्रिय आन्दोलनको विगुल फुक्यौं, यो महिनाभरि विभिन्न अन्तरक्रिया तथा विचार गोष्ठी हुनेछ र बैशाखको पहिलो हप्तादेखि आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनेछौँ’ राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा विरोध प्रदर्शन गर्नुको दुईटा फाइदा छ । एक, राष्ट्रिय आन्दोलनको शुरुवात आजबाट भयो । दोस्रो, आज प्रदर्शन ग¥यो भने चीनको पनि ध्यानाकर्षण हुन्छ ।’

शान्तिपूर्ण आन्दोलन गर्दा दमनमा ओर्लिएको सरकार नाकाबन्दी भएपछि मात्र वार्ताका लागि तयार भएको र जहिले पनि भ्रममा राख्ने काम गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । कहिले वार्ता समिति त कहिले कार्यदल बनाएर आफूहरूलाई सिंहदरबारदेखि बालुवाटारसम्म घुमाएको तर अन्त्यमा हात लागि शून्य भएको मधेसी नेताहरू बताउँछन् । वार्ताको कथा सुनाउँदै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले भने, ‘सरकारले हामीलाई छक्काउनसम्म छक्कायो अब त हामीसँग आन्दोलनबाहेक अरु कुनै विकल्प छैन । अब हामी ब्रम्हास्त्र प्रयोग गर्छौँ ।’ तर, कस्तो ब्रहमस्त्र हो भन्ने चाहिँ उनले खुलाएनन् । उनले यति भने, ‘बैशाखको दोस्रो हाप्तादेखि हेर्नु होला ।’

संविधान संशोधनअघि प्रमुख तीन दलले ७ माघमा बालुवाटारमा मधेसी मोर्चालाई वार्ताका लागि बोलाएका थिए । तर, त्यहाँ मधेसी मोर्चासँग सहमति गर्नुको साटो एमाले र कांग्रेसमा संशोधन प्रस्ताव लिएर विवाद भएपछि वार्ता भाँडिएको थियो त्यसयता मधेसी मोर्चासँग कुनै औपचारिक वार्ता भएको छैन । नाकाबन्दी र आमहड्ताल फिर्ता लिएपछि सकारले वार्ताका लागि झन ढिला सुस्ती गरे । वार्ताका लागि एकपटक माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रयास गरेका थिए तर उनको प्रयास पनि विफल भयो ।

मधेसी मोर्चाले पनि वार्ताका लागि आन्तरिक रुपमा प्रयास गर्दै थियो । त्यही प्रयास स्वरुप एकपटक कार्यदलसँग २९ माघमा बालुवाटारमा वार्ता भयो । प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली भ्रमणमा जानुपर्ने भएकाले उनले सो वार्तालाई निकै सकारात्मक रुपमा लिएका थिए । उनले आफैँ दिल्ली जानुअघि मधेसी मोर्चासँगको सबै विवाद समाधान हुनुपर्छ भन्दै ५ र ६ फागुनमा दुई दिन लगातार बैठक बोलाए तर सहमति हुन सकेन ।

प्रधानमन्त्री ओलीले मधेसी दलसँग कुरा नमिलेपछि विनासहमति नै तीन महिनाभित्र सिमांकनको विवाद टुग्यांउने भनीे मन्त्रीपरिषद्बाट एक समिति बनाएर ७ फागुनमा दिल्ली उडे । दिल्लीबाट फर्केपछि वार्ता होला की भनेर बसेका मधेसी मोर्चालाई प्रधानमन्त्री ओलीले सोधपुछ गर्न नै छाडेको मधेसवादी दलका नेताको आरोप छ । मधेसी मोर्चाले २८ फागुनमा चैतमसान्तपछि आन्दोलन गर्ने अल्टिमेटम सहितको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझाएकै दिन प्रधानमन्त्री ओलीले मधेसी मोर्चासँग वार्ता गरे । वार्तामा उनले घाइतेको उपचार र आन्दोलनकारीलाई लागेको मुद्दाको किनारा लगाउने आश्वासन दिएको ८ दिन वित्दा पनि कुनै खोजखबर नभएको बताइन्छ । अब प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्केपछि मात्र वार्ता होला भनि अनुमान गरिएको नेताहरू बताउँछन् । तर, यसैबीचमा मधेसी मोर्चाले राष्ट्रिय आन्दोलनको घोषणा गरेको छ ।

प्रतिक्रिया