प्रहरीमा भर्ना हुन ३५ हजार दरखास्त

काठमाडौं । नेपाल प्रहरीको जवान पदका लागि खाली पदभन्दा ७ गुणा बढी आवेदन परेको छ । नेपाल प्रहरीले पछिल्लोपटक ५ हजार ४ सय ४४ वटा जवान पदका लागि आवेदन आहृवान गरेको थियो । जसमा ३५ हजार २ सय ६४ जनाको आवेदन परेको छ ।

देशमा बढ्दो बेरोजगारीका कारण माग भन्दा ७ गुणा आवेदन परेको हो । क्षेत्रगत रुपमा सबैभन्दा बढी आवेदन मध्यपश्चिममा परेको छ । त्यहाँबाट १० हजार ४ सय ४५ युवाले आवेदन दिएका छन् । यसैगरी मध्यमाञ्चलमा ६ हजार ३ सय ६, पूर्वाञ्चलमा ५ हजार ७ सय, पश्चिमाञ्चलमा ५ हजार २ सय ५, सुदूरपश्चिमाञ्चलमा ३ हजार ९ सय ४९ जनाको आवेदन परेको छ । काठमाडौं उपत्यकाबाट भने ३ हजार ६ सय ९५ युवाले जवानका लागि आवदेन भरेका नेपाल प्रहरीले जनाएको छ । प्रहरीको मानवश्रोत विकास विभाग, भर्ना तथा छनोट शाखाका अनुसार प्रहरी जवानको खुल्लातर्फ २ हजार ९ सय ३४ जनाका लागि भर्ना खोलिएको छ ।

त्यसैगरी प्रहरीको अमर र अशक्त परिवारबाट १ सय ९ जना, समावेशी समूहअन्तर्गत आदिवासी जनजातिमा ७ सय ६८ जना, मधेसी ६ सय ७२ जना, महिला ४ सय ८० जना, दलित ३ सय ६० जना र पिछडिएको क्षेत्रबाट १ सय २१ गरी ५ हजार ४ सय ४४ जनाका लागि आवेदन खुलाइएको थियो ।

प्रतिक्रिया