सत्तामा जान हतार छैन : सभापति देउवा

sher deubaकाठमाडौंं, २ चैत । कांग्रेसलाई सत्तामा जान कुनै हतारो नभएको नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि बधाई ज्ञापन गर्न प्रेस युनियनले आयोजना गरेको कार्यक्रम उनले कांग्रेस सत्ता बाहिरै बसेर जनताको काममा लाग्ने बताएका हुन् । उनकै निवास बुढानीलकण्ठमा भएको उनले सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेसका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचनलगायतमा आपूmहरू प्रतिवद्वहुने बताएका छन् । उनले भने, ‘म पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्नेछु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा नेपाली पे्रसको सहयोग र योगदान अपरिहार्य रहने पनि बताएका छन् । उनले असली लोकतन्त्रको अनुभूत गराउन नेपाली प्रेसले अझ शसक्त भएर लाग्नुपर्ने बताए । अर्काे एक प्रसंगमा उनले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी पनि समेत गरेका छन् ।

बुधबार पदभार ग्रहण
कांग्रेसले १३औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार गराउने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रूपमा आआफ्नो पद सम्हाल्ने छन् । नयाँ नेतृत्वका लागि २३ फागुनमा भएको निर्वाचनका सबै पदको मतगणना सोमबार साँझ सकिएको थियो । कांग्रेसमा महाधिवेशनअन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको हो ।

बधाईको ओइरो
कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई देश विदेशबाट बधाईको ओइरो लागेको छ । उनलाई मंगलबार भारतका विदेश सचिव एस जयशंकर, संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुख मार्टिन हाफ र नेपालका लागि जर्मनी राजदूत माथिल मेयरले भेटेर बधाई दिएका छन् । बधाई दिने क्रममा उनीहरूले समसामयिक राजनीतिक परिस्थितिबारे पनि उनीहरूले चासो राखेका थिए । यस्तै सोमबार नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरीले पनि भेटेर बधाई दिइसकेका छन् ।

यस्तै उनलाई भर्खरै प्रतिस्पर्धामा उत्रेर पराजित भएका सभापतिका प्रत्यासी रामचन्द्र पौडेलले आफ्नै निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका छन् । पौडेलले आफ्नै निवासमा चियापान समारोह गरेर नवनिर्वाचित सभापति शेरबहादुर देउवा, पदाधिकारी, केन्द्रीय सदस्य सबैलाई बधाई र कार्यकालको शुभकामना दिएका हुन् । पौडेल निवास बोहोराटारमा मंगलबार साँझ आयोजना गरिएको चियापानमा नवनिर्वाचित सभापति शेरबहादुर देउवासहित नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

यसैगरी एमाले समर्थित युवा संघ नेपालले कांग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित भएकामा सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामनाका लागि कार्यक्रमकै आयोजना गरेको छ । बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा युवा संघका अध्यक्ष राजीव पहारीले नेपाली कांगे्रस मुलुकको सबैभन्दा ठूलो पार्टी भएकाले राष्ट्रियताको पक्षमा उभिन र समृद्धितिर अघि बढी युवाहरूलाई रोजगार सिर्जना गर्न आह्वानसमेत गरे । उनले कांग्रेस सभापति देउवालाई देशीविदेशीको हस्तक्षेप रोक्न कांग्रेस सरकारमा सामेल हुनुपर्ने धारणासमेत राखे ।

बधाई कार्यक्रमको आयोजना गरेको संघले कांग्रेसबाट विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै तिनै दल मिली एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्नुपर्ने जनाएको छ । संघले सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै उपहारस्वरूप नेपालको नक्सा प्रदान गरेको थियो । उपहार दिँदै युवा संघका नेतृत्वले संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा भूमिका खेल्न आग्रहसमेत गरेका थिए ।

प्रतिक्रिया