मिनी सार्क सुरु

पोखरा, १ चैत । मिनी सार्क भनिने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक सोमबारदेखि पोखरामा सुरु भएको छ । ४ दिने बैठकको पहिलो दिन सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक सुरु भयो । २ दिनसम्म चल्ने कार्यक्रम समितिको बैठकमा पहिलो दिन अघिल्लो कार्यक्रम समितिको बैठकका निर्णय कार्यन्वयनबारे समीक्षा भएको छ ।

‘पहिलो दिन अघिल्लो कार्यक्रम समितिले गरेका निर्णय कार्यान्वयन भए नभएको समीक्षा गर्नुको साथै कार्यान्वयन गर्न के गर्नुपर्ला भन्नेबारे छलफल भयो’ बैठकको अध्यक्षता गरिरहेका मणिप्रसाद भट्टराईले भने । त्यो सँगै अन्य ४ वटा विभिन्न एजेन्डामाथि छलफल गरिएको उनले बताए ।

‘सार्कको स्पेसलाइज बडीअन्तर्गत साउथ एसियन युनिभर्सिटी, सार्क डिभलपमेन्ट फन्ट, सार्क आर्बिटेसन काउन्सिल र साउथ एसियन रिजनल अर्गनाइजेसनबारे छलफल भएको छ’ पत्रकार सम्मेलनमा भट्टराईले भने । पहिलो चरणको छलफल सकिए पनि निष्कर्षमा भने नपुगेको उनले बताए ।

‘एक चरणको छलफल सकिए पनि सर्वसम्मत निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भने ‘भोलि रिपोर्टको डिस्कसन हुँदा लाइन बाइ लाइन÷प्याराग्राफ बाइ प्याराग्राफ छलफल हुन्छ, त्यसपछि निर्णयको प्रतिवेदन तयार हुनेछ ।’ ५२औँ कार्यक्रम समिति बैठक भोलि पनि चल्नेछ ।

५ तारे होटल पोखरा ग्रान्डमा सुरु भएको बैठकको तेस्रो दिन ४२औँ सचिवस्तरीय बैठक र चौथो तथा अन्तिम दिन ३७औँ विदेशमन्त्री स्तरीय बैठक हुनेछ । विदेशमन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेछन् । बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री ३ चैतमा काठमाडौं विमानस्थलबाट सिधै पोखरा आउनेछन् ।

बैठकमा ६ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुनेछन् भने अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् ।

प्रतिक्रिया