तिलिचो ताल पुग्ने पदमार्गको अनुगमन

tilichoकाठमाडौं, ३० फागुन । विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित तिलिचो ताल पुग्ने पदमार्गको अनुगमन गरिएको छ । मुस्ताङ हुँदै तिलिचो ताल पुग्ने पर्यटकको संख्या बढ्दै जान थालेपछि पदमार्गको अवस्था र मोटरबाटोको पहुँचलगायत विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

टोलीमा भीमदल गणका गणपति अर्जुन बस्नेत, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिलबहादुर भट्ट, स्थानीयवासी गरी ६२ जनाको सहभागिता थियो ।

अनुगमनका क्रममा नेपाली सेनाको टोलीले जोमसोमदेखि ताङदुङसम्मको पदमार्ग सरसफाइ गरेको प्रजिअ अधिकारीले जानकारी दिए । डोल्पा जिल्लामा पर्ने तिलिचो ताल पुग्न जोमसोम, ठिनी गाउँ हुँदै जाँदा नजिक पर्ने बताइएको छ ।

जिल्ला विकास समिति मुस्ताङले तिलिचो ताल पुग्नका लागि सडक विस्तारको योजना ल्याए पनि बजेट अभावमा ‘ट्रयाक’ खोल्ने काम तीव्र गतिमा अघि बढ्न सकेको छैन । अनुगमनका क्रममा टोलीले पदमार्गअन्तर्गत विभिन्न स्थानमा पर्यटक पदचिन्ह, पानीको व्यवस्थापन र होटल तथा लजको अभाव भएको निष्कर्ष निकालेको थियो ।

‘यी कुराको अभावले पर्यटकले सास्ती खेप्न बाध्य भएका छन्, यस विषयमा हामीले जिल्ला विकास समिति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ध्यानाकर्षण गराएका छौँ’, उनले भने । पदमार्ग व्यवस्थित भएमा तिलिचो पुग्ने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

मुस्ताङ हुँदै पर्यटक त्यहाँ पुग्ने भएकाले पर्यटनसँग सम्बद्ध निकाय बढी क्रियाशील रहनुपर्ने टोलीको निष्कर्ष छ । व्यवस्थित पदमार्ग नहुनु, सडक मार्गको अभाव र स्थानीयवासीमा जागरण नहुँदा सुन्दर पर्यटकीयस्थल तिलिचोमा पर्यटकको संख्या बढ्न सकेको छैन ।

प्रतिक्रिया